शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

संसदीय निर्वाचनः एमाले र बाम एकताका सम्भावनाहरु

डा. केशव देवकोटा २०७९ साउन १७ गते ११:२५


-डा. केशव देवकोटा

आगामी मंसिरमा हुने भनिएको निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरुमा आआफ्नो संभावनाको जोडघटाउ भइरहेको छ ।

पाँच दलीय गठबन्धनका नेकां र माओवादी केन्द्र लगायतका घटकहरुले एक अर्काको साथ सहयोग बिना निर्वाचनमा जानै नसकिने भनिरहेका बेलामा एमालेले आफूलाई प्रतिस्पर्धामा एक्लै उभ्याउने जुन आँट गरेको छ त्यो समसामयिक सन्दर्भमा ज्यादै महत्वपूर्ण पक्ष हो ।

एमालेका अध्यक्ष केपी ओलीको चट्टानी अडानले पनि धेरैलाई आकर्षित गरेको देखिन्छ । भलै बिचारका हिसावले एमाले मालेमावादी होइन, पपुलिष्ट कम्युनिष्ट पार्टी हो ।

तरपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम एकता, एमालेसँगको एकता, समाजवादी केन्द्रको स्थापना, पूर्व माओवादीहरुबीचको एकता, तत्कालीन नेकपाको पुनःस्थापना लगायतका सबै प्रशंगलाई अगाडि सार्दै गिजोलेर छाडेपछि नेपालको राष्ट्रिय राजनीतिमा नयाँ संभावनाहरुको खोजी पनि भएको छ र कतिपय सम्भावनाहरु देखा पनि परेका छन् ।

ती सम्भावनाहरु देशभक्त र बामपन्थीहरुबीचको एकतामा केन्द्रित छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले सबैतिरका कथित च्याप्टरहरु बन्द भएको घोषणा गरेपनि एमालेले त्यस्तो घोषणा गरेको छैन । त्यसैले एमालेका लागि क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा लगायतका बाम पार्टीहरुसँग छलफल गर्ने संभावना कायमै रहेको छ ।

यतिबेला देशमा राष्ट्र र राष्ट्रिय अखण्डता संकटमा परेको कुरालाई सम्पूर्ण बामपन्थी र देशभक्त शक्तिहरुले मान्दछन् । वर्तमान सरकारको गठन नै इन्डो पश्चिमा शक्तिको जोडबलमा भएको भन्ने कुरा पनि क्रमशः खुल्दै गएको छ ।

त्यसैले आगामी निर्वाचन मुख्यत इन्डो पश्चिमा शक्ति र नेपालका देशभक्तहरुका बीचमा हुने निश्चित नै छ । तर इन्डो पश्चिमा शक्ति पाँच दलीय सत्ता गठबन्धनका नाममा संगठित रहेको छभने देशभक्त शक्तिहरुका बीचमा ठोस एकता हुन सकिरहेको छैन ।

तर संभावना भने प्रचुर मात्रामा कायमै रहेको छ । जसको नेतृत्व हालको अवस्थामा एमालेले गर्नसक्ने देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले गत वैशाख यता विभिन्न नाममा मच्चाएका रडाकोहरुले गर्दा एकातिर एमाले र एकीकृत समाजवादीलाई फेरी पार्टी एकताको संभावना तिर डोर्याएको देखिएको छ ।

एमालेले बस्तुगत ढंगले पहल गर्ने होभने आगामी निर्वाचन अगाबै दुई पार्टीका बीचमा पार्टी एकताको प्रचुर संभावना छ । माओवादी केन्द्रका अध्यक्षको साथ सहयोग र जोडबलमा एमालेबाट फुटेर एकीकृत समाजवादी बनाए पनि अध्यक्ष माधव नेपाल सो पार्टीसँग एकताका लागि अनिच्छुक रहँदै आउनु भएको छ ।

जसको मतलब उनी अझै एमाले पार्टीप्रति आकर्षित÷आशातित हुनुहुन्छ । नेतृत्वको अंक गणित मिल्ने होभने अध्यक्ष नेपालका लागि एमालेमै फर्कनु कुनै टाढाको विषय हुँदैन । अर्कातिर गत स्थानीय निर्वाचनपछि देखिनै सो पार्टीको झलनाथ खनाल समूह एमालेको नेतृत्वसँग सम्पर्कमै रहेको देखिएको छ । सो समूह कुनैपनि बेला फेरी एमालेमै फर्किएको खण्डमा आश्चर्य मान्ने ठाउँ छैन ।

एउटै बैचारिक धरातल र संगठनात्मक निकटता रहेका एमाले र एकीकृत समाजवादी केही नेताहरुको असमझ्दारीले मात्र अलग भएका हुन् । ढिलो चाँडो उनीहरुका बीचमा मिलन अनिवार्य छ । त्यसैगरी बामदेव गौतमहरु पनि घुमिफिरी रुम्जाटार नपुगि सुखै छैन ।

बामदेव समूहले धानका बाला चुनाव चिन्ह प्राप्त गरेपनि उहाँ सूर्य चिन्हप्रति लालायित हुनुहुन्छ भन्ने विभिन्न घटनाक्रमहरुले स्पष्ट गरेका छन् । त्यसैले यति बेलाको अवस्थामा खासगरी एमालेकोतर्फबाट कदम चाल्नासाथ एमाले र एकीकृत समाजवादी तत्काल एक हुनसक्ने अवस्था रहेको छ ।

एमालेको नेतृत्वले चुच्चे नक्सा र नेपालका बढ्दो इन्डो पश्चिमा शक्तिको असर तथा वर्तमान सरकारले अख्तियार गरेका जनविरोधी गतिविधिहरुका बारेमा संसदभित्र रहेका र नरहेका अन्य दलहरुसँग छलफल गर्न सकेको खण्डमा यसले एमालेलाई मात्र नभएर देश र जनताकै लागि सकारात्मक परिणाम दिनसक्ने अवस्था रहेको छ ।

हालको अवस्थामा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग चारवटा कम्युनिष्ट घटकहरु जोडिएका छन् । उनीहरु संसदीय निर्वाचनलाई प्रयोगगर्न तयार भएकै कारण चार दलीय गठबन्धन तयार भएको हो ।

उनीहरुले अगाडि सारेका नाराहरुको सार भनेको नेपालमा इन्डो पश्चिमा शक्तिको बिस्तारलाई रोक्नु अथवा राष्ट्रिय अखण्डताको रक्षा गर्नु हो । त्यसैगरी क्रान्तिकारी माओवादीसँग पनि छवटा बाम पार्टीहरु जोडिएका छन् । उनीहरुको चिन्ता र चासो पनि राष्ट्र र राष्ट्रिय अखण्डतासँग जोडिएको छ ।

जो मूलरुपमा माओवादी केन्द्रका अध्यक्ष दाहालका विचारहरुसँग बिमति राख्दछन् । उनीहरु दुवैथरी दीर्घकालीन रुपमा नेपालमा जनगणतन्त्रको स्थापना गर्न÷गराउन चाहन्छन् भने तत्कालीन रुपमा उनीहरुका लागि पनि राष्ट्रिय अखण्डताको रक्षा गर्नु पहिलो शर्त बनेको छ ।

लिम्पियाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्साको पक्षमा पनि एमाले, क्रान्तिकारी माओवादीसहितका छ बाम पार्टी र चन्द नेतृत्वको नेकपा सहितका चारबाम पार्टी अघोषिरुपमा भएपनि जोडिएका छन् ।

त्यसैले एमालेको नेतृत्वले अन्य कुराहरुलाई छाडेर तत्कालका लागि देशभक्त शक्तिहरुलाई निश्चित एजेण्डाका आधारमा समेट्ने प्रयास गर्ने हो भने उद्देश्यमूलक एकता संभव रहेको छ । क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कारको जुन कार्यनीति लिएको छ, त्यसलाई सधै र निरन्तर अपनाउनु पर्छ भन्ने छैन ।

कहिलेकाहीँ निश्चित उद्देश्यका लागि त्यसलाई परिवर्तन गर्न पनि सकिन्छ । एमालेले आगामी निर्वाचनमा क्रान्तिकारी माओवादी र नेकपाले उठाएका राष्ट्र र राष्ट्रिय अखण्डताका मुद्धालाई साथदिने प्रतिबद्धता जनाउने हो भने त्यसतर्फको सहयोग र समर्थन जुटाउन सक्ने संभावना छ ।

कम से कम एमालेका अध्यक्ष ओलीले उपरोक्त पार्टी र शक्तिहरुसँग अघोषितरुपमै भएपनि एकचरण छलफल गरेको खण्डमा धेरै कुराहरुको नयाँ खुलाशा हुनसक्ने देखिएको छ ।

त्यसैगरी माओवादी केन्द्रमा पनि बैचारिकरुपमा अध्यक्ष दाहालसँग असहमत हुनेहरुको संख्या उल्लेख्य रहेको छ । जुन शक्ति राष्ट्रियताको मामिलामा बढी संवेदनशील छ ।

सो शक्तिलाई नेकांसँगको सहकार्यबाट अलग हुन साथ सहयोगको आवश्यकता छ । यसबाहेक अन्य देशभक्त शक्तिसँग पनि एमालेका छलफल र आगामी निर्वाचनका लागि एकता वा सहकार्य हुनसक्ने संभावनाहरु रहेका छन् । खासरुपमा एमालेले आगामी निर्वाचनमा उठाउने पनि राष्ट्र र राष्ट्रियता सम्बन्धी विषय नै हो ।

त्यसैले पनि एमालेको नेतृत्वले चुच्चे नक्सा र नेपालका बढ्दो इन्डो पश्चिमा शक्तिको असर तथा वर्तमान सरकारले अख्तियार गरेका जनविरोधी गतिविधिहरुका बारेमा संसदभित्र रहेका र नरहेका अन्य दलहरुसँग छलफल गर्न सकेको खण्डमा यसले एमालेलाई मात्र नभएर देश र जनताकै लागि सकारात्मक परिणाम दिनसक्ने अवस्था रहेको छ । जुन आजका सन्दर्भमा आफैमा एक बेजोड विचारणीय पक्ष हो ।

प्रतिक्रिया
सम्बन्धित