शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यसकारण नीति तथा अनुसन्धान प्रतिष्ठान

ईश्वर पोखरेल २०७९ साउन ७ गते १२:०२

-ईश्वर पोखरेल

नेकपा (एमाले)ले आफ्नो राष्ट्रिय महाधिवेशनमार्फत एउटा ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको उद्देश्य– समाज विज्ञानका विभिन्न विधामा अध्ययन अनुसन्धानका लागि पार्टीभित्रको शक्तिका साथै त्यससित सम्बन्धित पार्टी बाहिर रहनुभएका विज्ञ तथा विशेषज्ञहरूसित योजनावद्ध सहकार्य गर्ने र त्यसबाट पार्टी र मुलुकलाई नै सही तरिकाले अगाडि बढाउन आवश्यक निष्कर्ष निकाल्दै अगाडि बढ्ने रहेको छ ।

नेपाली समाजको बदलिँदो आर्थिक–सामाजिक अवस्थाको विश्लेषण र वर्ग–विश्लेषण गर्ने उद्देश्य यसले राखेको छ । नेपालमा क्रियाशील राजनीतिक पार्टीहरूको वर्गचरित्र; उनीहरूका सैद्धान्तिक, कार्यक्रमिक र नीतिगत अडानहरू र तिनमा रहेका भिन्नताहरूलाई सही सही तरिकाले विश्लेषण गर्नेुपर्ने आवश्यकतालाई यसले औंल्याएको छ ।

जनताको बहुदलीय जनवादको कार्यान्वयन र यसैबाट निर्देशित हुँदै समाजवादको आधार निर्माण गर्ने कुरा नेकपा (एमाले)ले गरेको छ । यसका लागि आवश्यक अध्ययन, विश्लेषण र निष्कर्षहरू समेत यसले प्रस्तुत गर्नेछ ।

नेपालको कम्युनिष्ट आन्दोलन– नेपाली समाज परिवर्तनका लागि लागेकाहरूका लागि– बुझ्न चाहनेहरूका लागि एउटा महत्वपूर्ण पाठशाला पनि हो । विकसित हुँदै गरेको उन्नत चेतनाले यसको अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।

प्रतिष्ठानले पार्टी तथा राज्यका विभिन्न क्षेत्रका नीतिहरूको विश्लेषण गर्नेछ । राष्ट्रका सामु देखापरेका समस्याहरू– आर्थिक क्षेत्रमा देखा परेका विद्यमान चुनौतीहरू, परराष्ट्र नीतिका क्षेत्रमा देखापर्ने गरेका भड्काव तथा राष्ट्रियहित विपरितका गतिविधिहरू, सुरक्षासित गाँसिएका संवेदनशील प्रश्नहरू, सामाजिक अव्यवस्था उत्पन्न हुनु पछाडिका कारणहरूबारे पनि यसले अध्ययन र अनुसन्धान गर्नेछ र निष्कर्षहरू सार्वजनिक गर्नेछ ।

यसरी, मार्क्सवादी दृष्टिकोणबाट नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाको विश्लेषण गर्ने काम यसले गर्नेछ । नेपालका राजनीतिक पार्टीहरूको वर्गचरित्र, उनीहरूका सैद्धान्तिक/कार्यक्रमिक र नीतिगत भिन्नताहरूलाई सार्वजनिक गर्नेछ ।

समाजवादको आधार निर्माण गर्ने सम्बन्धमा अध्ययन, अनुसन्धान, विश्लेषण गर्दै नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्दा गरेका काम र चालेका कदमहरूको समीक्षा प्रस्तुत गर्नेछ । यसका साथै, राज्यका आर्थिक, सामाजिक–सांस्कृतिक, सुरक्षा, परराष्ट्र सम्बन्ध लगायतका नीतिहरूको विश्लेषण गर्नेछ । विश्व समाजवादी आन्दोलनले सामना गर्नु परिरहेका चुनौतीहरूको अध्ययन तथा त्यसबाट लिनुपर्ने शिक्षाका बारेमा विश्लेषणात्मक निष्कर्षहरू निकाल्नेछ । स्वभाविक छ, यी काम गर्दै पार्टीले भविष्यमा लिनुपर्ने दिशाका बारेमा महत्वपूर्ण सुझावहरू दिनेछ । सरकारका नीति तथा कामहरूको विश्लेषण गर्नेछ । यसका साथै ज्वलन्त बनेका विभिन्न समसामयिक बिषयहरूमा बहस र छलफल पनि आयोजना गर्नेछ ।

हो, यिनै उद्देश्यका साथ नीति तथा अध्ययन प्रतिष्ठान गठन गरिएको हो । यसले आफ्नो कार्यविधि निर्माण गरिसकेको छ र आज पार्टीका आदरणीय अध्यक्ष केपी शर्मा ओलीबाट औपचारिक रूपमा प्रतिष्ठानको उद्घाटन हु्ँदैछ । हामीले यही औपचारिक उद्घाटनका दिनमा अहिले मुलुकले झेलिरहेको एउटा ज्वलन्त समस्या – नेपालको विद्यमान आर्थिक चुनौतीका विषयमा छलफल कार्यक्रम आयोजना गरेका छौं । पूर्वअर्थमन्त्री तथा यसै प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडाबाट कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना टिप्पणीहरू प्रस्तुत गर्नुहुनेछ ।

हामीले प्रारम्भ गर्न लागेको यस महत्वपूर्ण कार्यक्रममा उपस्थित हुनुहुने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, टिप्पणीकर्ता विज्ञ–विशेषज्ञज्यूहरू, सञ्चारकर्मीहरु लगायत उपस्थित सबैमा हार्दिक स्वागत गर्न चाहन्छु । यो कार्यक्रमा सबैको सक्रिय सहभागिताका लागि अनुरोध गर्दै अध्यक्षता गर्दछु ।

(२०७९ साउन ६ गते नेकपा (एमाले)को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा पार्टीका नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलको स्वागत मन्तव्य)

प्रतिक्रिया
सम्बन्धित