सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘गुरिल्ला अपराध’ र प्रहरी नेतृत्वमाथि नागरिक अपेक्षा 

विनोद ढकाल २०७९ असार २३ गते १३:००

अंग्रेजीमा उक्ति छ– एउटा अपराधी सँधै अपराधस्थलमा फर्कन्छ। यस्तै अर्को भनाई छ, सबै अपराधीहरूले सजायसँगै प्रचारक बनाउँछन्।

हुन त हरेक इतिहासमा अपराधका आफ्ना सन्दर्भ छन् तर ति राजनीतिसँग अलग छैनन्। त्यसैले अमेरिकी नाटकककार डेबिट मामेटले भनेका होलान्– अपराध र सरकार भन्ने पक्ष हरेक इतिहासमा घुम्ने विषय हुन्। इतिहास मानिसको आन्दोलन हो।

समाजभित्र अनेक पक्ष र शैली छन्। नेपाली समाजभित्र अपराधका प्रकारान्तर छन्। हुन त अपराधको शिराबाट नै राजनीतिक चरित्र स्थापित भएका कारण त्यसका डोभ बाँकी नै छन्। तर, समाजभित्र अपराध फरक विशेषतामा पनि छन्।

शिर्षकमा उल्लिखित विषयको विशिष्टकरण गर्दै त्यस्तो अपराधको न्युनिकरणमा समाजको तल्लो इकाईसँग प्रत्यक्ष जोडिने राज्यको प्रतिनिधि नेपाल प्रहरीमाथि कस्तो अपेक्षा र विश्वास गर्न सकिएला? त्यसमाथि चर्चा जायज हुन्छ।

हनिट्रयाप लुकेर गुरिल्ला शैलीमा गरिने अपराध हो। अपराधमा चलनचल्तीको भाषा हनिट्रयाप लुकेर गरिने अपराधको श्रृङ्खला हो जसले नेपाली समाजभित्र नराम्रोसँग जालो फिँजाइसकेको स्पष्ट हुने आधार छन्। नेपाल प्रहरीले यस्ता अपराध उधिनेका कारणले नै समाजभित्रको यस्तो चित्र बाहिर आएका थिए।

केही उदाहरण यस्ता छन्–

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई ०७८ मा पक्राउ गरेको थियो। दोलखा घर भएका एक जना पुरुषको साढे ३ तोलाको सिक्री उनीहरूले लुट्नका लागि सामाजिक सञ्जालबाट प्रेमको नाटक नै रचेका थिए।

युनिसा मगरले ‘टिकटक बनाउँछु’ भनेर पुरुषको ३७ दशमलव ५ ग्रामको सुनको सिक्री मागेर भागेकी थिइन्। युनिशा भागेपछि सुनिता पनि उनलाई छाडेर हिँडिन्। फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा फसाउँछौं’ भनेर उनीहरूले ब्ल्याकमेल गरेका थिए।

प्रहरीले झापाको बिर्तामोड–४ का एक व्यापारीलाई ‘हनिट्रयाप’ मा पार्दै ४० लाख रकम फिरौती माग्ने एक युवतीसहित चार जनालाई नियन्त्रणमा लिएर कारबाही चलायो, दुई बर्षअघि। सामाजिक सञ्जालमार्फत् सम्पर्क गरेर प्रेम गर्ने बहाना गर्दै आफ्नो स्वार्थ पूरा गर्ने र फिरौती माग्ने बिर्तामोड–४ का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया ऋतु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दासलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

थाहा छैन मानिसलाई अपराधतिर उन्मुख गराउने कारण के हुन्छ। तर गरिबी प्रमुख कारण रहने विषयचाहिँ अफ्रिकी नेता ज्याकोब जुमाले उल्लेख गरेका थिए। तर, अपराधलाई जसरी व्याख्या गरे पनि समाजका लागि त्यो क्षम्य त हुन सक्तैन। त्यसैले एउटा सुरक्षित समाजमा बाँच्नका लागि आम मानिसले प्रहरी संगठनमाथि ठूलो अपेक्षा त राख्छ नै, सुरक्षाको। अनि, न्यायका निम्ति पनि

झापाका एक व्यापारीलाई फसाउनका लागि सुन्दर युवती ऋतु फियाकको प्रयोग आपराधिक समूहले गरेको थियो। ऋतुले ती व्यवसायीलाई जया खान बन्दै इमो र मोबाइलमा फोन गरिन्। प्रेमका मिठा कुरा मात्र गरिनन् शारिरीक सम्बन्धका लागि अपिलको संकेत दिइन्। व्यापारीलाई कोठामा बोलाइन् अनि यौनजन्य गतिविधिमा सक्रिय बनाउन थालिन्। अभियुक्तहरूले भिडियो रेकर्ड गरी कुटपिट गर्दै फिरौती माग गरे। उनीहरूको समूहले सुरुमा ती व्यापारीसँग ५० लाख माग गरेका थिए तर कुरो ४० लाखमा मिल्यो।

नियन्त्रणमा लिइएकी सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा दुई जना महिलालाई जवरजस्ती शरीर बेच्ने धन्दामा लगाएकोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका अभियुक्त समेत रहेको खुलेको थियो।

गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेतीले व्यवसायीसँग अन्तरङ्ग भिडियो बनाएर पैसा असुल्न खोजेको उनीहरूमाथि चार्ज थियो। ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई उनीहरूले ब्ल्याकमेलिङ गरेका थिए। इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन् ।

उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै ‘निशा अधिकारी’ बनेर पुगिन्। व्यापारी मख्ख परे। उनले आफ्नो वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन्।

दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या ‘हनिट्रयाप’कै एउटा उदाहरण मान्छन् प्रहरी अधिकारीहरू। घटनाका मुख्य अभियुक्तहरू तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको थियो। मिलोमतोमा नै यो घटना भएको थियो।

यी केही प्रतिनिधि घटनामात्र हुन्। तर, प्रविधिको विकाससँगै अपरिचितसँगको सहज सम्पर्कका सरल माध्यमले यस्ता अपराधलाई बढावा दिएको स्पष्ट चित्र देख्न सकिन्छ। यी नियोजित र गुरिल्ला शैलीमा गरिने अपराध हुन्।

थाहा छैन मानिसलाई अपराधतिर उन्मुख गराउने कारण के हुन्छ। तर गरिबी प्रमुख कारण रहने विषयचाहिँ अफ्रिकी नेता ज्याकोब जुमाले उल्लेख गरेका थिए। तर, अपराधलाई जसरी व्याख्या गरे पनि समाजका लागि त्यो क्षम्य त हुन सक्तैन। त्यसैले एउटा सुरक्षित समाजमा बाँच्नका लागि आम मानिसले प्रहरी संगठनमाथि ठूलो अपेक्षा त राख्छ नै, सुरक्षाको। अनि, न्यायका निम्ति पनि।

नेपाल प्रहरीमा आजको सन्दर्भमा यस्ता ‘गुरिल्ला अपराध’ अनुसन्धानमा अब्बल रहेका व्यक्ति नै संगठन प्रमुख बन्नुले पनि अपेक्षा त स्वभाविक हुन्छन्। प्रहरी महानिरिक्षक (आईजी) धीरजप्रताप सिंहले नै दाङको श्रेष्ठ प्रकरणको टुंगो लगाउनुभएको थियो। महानगरीय अपराध महाशाखाको नेतृत्व गर्दा यस्ता कयन घटनालाई निमिट्यान्न पार्न उहाँको नेतृत्व सफल पनि भएको थियो।

यसबाहेक अहिलेका अब्बल अन्य अधिकारीले पनि यस्ता घटनालाई छानबिन गरी कानुनी उपचार गराइसकेका केही उदाहरण त पेस नै भइसकेको छ। तर निमिट्यान्नचाहिँ छैन।

प्रहरीले के गर्न सक्छ?

प्रहरीले अपराध अनुसन्धान गर्ने मात्र होइन। यस्ता अपराध न्युनिकरणका लागि कस्ता उपाय अपनाउन सकिन्छ? कानुनका कस्ता व्यवस्था राज्यले गरेको खण्डमा प्रकारान्तरका घटनामा कमी आउन सक्छ भन्ने राय तय गर्न सक्छ।

समाजको तल्लो इकाईसँग प्रत्यक्ष जोडिने निकाय भएका कारणले पनि सुरक्षाका क्षेत्रमा चेतनाको एउटा माध्यमलाई प्रहरी संगठनले प्रभावकारी अस्त्रका रुपमा प्रयोग गर्न सक्छ। जसरी सामुदायिक प्रहरी साझेदारीका रुपमा एउटा अभियान चलेको थियो, अपराध न्युनिकरणमा त्यसप्रकारका अन्य कार्यक्रमलाई लागू गर्न सकिन्छ।

अहिलेको प्रहरी प्रविधिसँग नजिक, अध्ययनशील, विज्ञहरूको सहभागीतामूलक संगठनका रुपमा पनि विकास भइसकेको छ। प्रायः प्रहरीको नीतिगत तहमा रहेका अधिकारी विज्ञ छन्। अनुसन्धानमा खट्ने अधिकारी पनि अध्ययन र अनुभवले खारिएका छन्। अनुसन्धानबाट अदालतसम्म अभियुक्तलाई पठाउने मात्र होइन, अपराध नै हुन नदिनका लागि समाजभित्र, परिवार–परिवारभित्र सुरक्षा चेतनाको काममा पनि प्रहरी सक्रिय हुन सक्छ।

यसर्थ, यस्ता प्रकारका अपराध न्युनिकरणमा प्रकारान्तरका उपाय छन् जसलाई सम्बन्धित गृह मन्त्रालय हुँदै मन्त्रिपरिषदसम्म आफ्ना रायलाई प्रस्ताव गरी आवश्यक समाधानका बाटोमा अहिलेको संगठन सक्रिय हुन सक्छ। यतिबेला समातेको यो लयले अपराधका विविधतामाथि नै अध्ययन गरी समाजलाई अपराध गर्न हुन्न भन्ने संगठनको चेतनामूलक कार्यक्रमले फेरि–फेरि पनि निरन्तरता पाउनेक्रम बढ्छ।

प्रहरी नेतृत्वमाथि नागरिकले राख्ने यस्तै अपेक्षा त हुन्। बाँकी न्यायका सवाल त छँदै छन्।

प्रतिक्रिया
सम्बन्धित