शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

जहाँ बिरामीको परीक्षणै हुँदैन, निस्फिक्री घुम्छन् संक्रमित

दैनिक नेपाल २०७८ जेठ १ गते ७:२३

कञ्चनपुर, १ जेठ । भीमदत्त–१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एक/दुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए पनि सबैले भने परीक्षण गराएनन् । उनीहरूको सोधीखोजी पनि कसैले गरेन ।

जिल्लामा दैनिक डेढ/दुई सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै छन् । दैनिक मृत्यु हुने पनि ४/५ जनाकै हाराहारीमा छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् ।

‘कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्रण बाहिर जाँदै छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन कपिलदेव जोशीले भने । उनका अनुसार केन्द्रबाट टोली नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउन निर्देशन आए पनि यसतर्फ पालिकाहरूले चासो दिएका छैनन् ।

छिमेकी मुलुक भारतमा दिनहुँ ३/४ लाखको संख्यामा संक्रमित थपिँदै छन् । यस्तो अवस्थामा पनि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट (थ्री टी) को अवधारणा लागू गरेर रोकथामको प्रयास भइरहेको छ । कञ्चनपुरमै पनि गत वर्ष संक्रमण देखिँदा स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि सबै खटिएका थिए । संक्रमित देखिनेबित्तिकै ट्रेसिङ र परीक्षणमा विशेष चासो दिइएको थियो । तर अहिले न स्वास्थ्यकर्मी देखिन्छन् न त जनप्रतिनिधि । ‘गत वर्ष स्रोतसाधन थियो, टिम पनि राम्रो थियो,’ भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘अहिले परीक्षणका लागि एन्टिजेन किट र भीटीएम नै छैन ।’ कन्ट्याक्ट ट्रेसिङका लागि जनशक्ति पनि तयार नभएको उनले बताए । गत वर्ष भीमदत्त नगरपालिकाले २५ सय भीटीएम खरिद गरेर स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाएको थियो ।

‘अहिले एन्टिजेन किट पनि पाउन गाह्रो भयो,’ प्रमुख जोशीले भने, ‘नगरपालिकाले ५ सय किट खरिद गरेको छ तर आइपुगेको छैन ।’ उक्त किटहरू आइपुगेपछि कोरोनाबाट मृत्यु भएकाका आफन्तहरूको ट्रेसिङ र परीक्षण गरिने बताए । भीमदत्त नगरपालिकाले होम आइसोलेसनमा बसेकाहरूको निगरानीका लागि वडा स्तरमा टोली बनाएकाले अब छिटै अनुगमन गरेर उनीहरूको अवस्था बुझिने जोशीले दाबी गरे । तर नगरपालिकासँग यसपटक सक्रिय संक्रमितहरूको तथ्यांकसमेत छैन । कोरोना संक्रमण रोकथामका लागि कञ्चनपुरमा वैशाख १६ देखि जारी निषेधाज्ञाको समयावधि तेस्रो पटक थप गरेर जेठ ७ सम्म पुर्‍याइएको छ । संक्रमणको दर भने नघटेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड– १९ फोकल पर्सन जोशीले बताए । ‘दुई साता कडा लकडाउनसँगै पालिकाहरूले ट्रेसिङ र परीक्षण बढाउनुपर्छ,’ उनले भने । अहिलेकै अवस्थामा संक्रमण नघट्ने देखिएको उनको भनाइ छ ।

‘अब कडा लकडाउनसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड पनि कडाइका साथ पालना गराउनुपर्छ,’ महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘भारतबाट आउनेको उचित व्यवस्थापन हुन सकेन, होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्लातर्फ पठाउने काम हुन सकेन, जसले गर्दा अहिले अवस्था गम्भीर हुन पुग्यो ।’ संक्रमण समुदायमा फैलिनुअघि नै ट्रेसिङ र परीक्षणलाई जोड दिएको भए पनि अहिलेको जस्तो अवस्था नआउने उनको तर्क छ ।

कञ्चनपुरमा चैत अन्तिममा सक्रिय संक्रमितको संख्या ३३ मात्रै थियो । अहिले उक्त संख्या बढेर १ हजार ७ सय ३५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार पीसीआर परीक्षण गराएका १ हजार ३ सय २९ र एन्टिजेन परीक्षण गराएका ४ सय ६ जना सक्रिय संक्रमित छन् । तीमध्ये महाकाली अस्पतालमा ६० र स्वास्थ्य कार्यालयको आइसोलेसनमा ४२ जना संक्रमित छन् । यसैगरी पुनर्वास नगरपालिकाको आइसोलेसनमा ८ र बेलौरीको आइसोलेसनमा ६ जना छन् ।

१६ सय जनाभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । उनीहरूको अवस्थाको निगरानी कहींकतैबाट पनि हुन सकेको छैन । ‘होम आइसोलेसन भन्छन् गाउँमा डुलेका हुन्छन्, यसले झनै जोखिम बढाएको छ,’ पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले भने, ‘सबैलाई आइसोलेसनमा राख्ने ठाउँ पनि छैन ।’

गत वर्ष संक्रमण बढ्दा स्थानीय तहको स्वास्थ्य शाखाले होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेकाहरूको नियमित निगरानी गरिरहेको थियो । स्वास्थ्य कार्यालयले पनि यसलाई कडाइका साथ अनुगमन गरिरहेको थियो । तर यो वर्ष जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी सबै यसमा चुकेका छन् । ‘अब रोकथामको एउटै उपाय कडा लकडाउन नै हो,’ स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जोशीले भने, ‘पालिकाहरूले पनि जिम्मेवारी लिएर क्वारेन्टाइनदेखि होम आइसोलेनसको अनुगमन, ट्रेसिङ, परीक्षण र उपचारमा ध्यान दिनुपर्छ ।

कोरोना पोजिटिभ भएको रिपोर्ट उनले बिहीबार दिउँसो एसएमएसबाट पाएकी हुन् । अछामको मंगलसेन नगरपालिका–५ की २७ वर्षीया महिलाले त्यसपछि पनि हाटबजार जाने र धारामा सामूहिक रूपमा पानी लिन जाने आफ्ना नियमित काम गर्न छाडेकी छैनन् ।

केही दिन एक्लै बस्न छिमेकीले आग्रह गर्दा उनी तर्किन थालिन् । संक्रमित भएको बारे उनलाई एसएमएस आए पनि अन्यत्रबाट सोधीखोजी भएको छैन । ‘मलाई खासै लक्षण पनि केही छैन । कोरोना होइन कि जस्तो लाग्छ । कोरोना लागेको भए त कसैले खबर गर्थे होलान् नि,’ उनले भनिन्, ‘अब सबैले थाहा पाइसकेका छन् । केही दिन छुट्टै बस्नुपर्ला ।’ सरकारी र स्थानीय तह कतैबाट पनि सोधीखोजी नगर्दा उनलाई कोरोना संक्रमण नभएको बुझाइ छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित