२९ आश्विन २०८३, बिहिबार

‘हाम्रो पुस्ताले देख्न पाएको गणेशमानजी उर्फ हिराकाजी र कृष्णबहादुर प्रधान’

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गणेशमान सिंहको नाम लिने बित्तिकै सबैको मनमा एउटा छवि आउँछ जुन छवि कसैसँग नदब्ने त्यो राजा होस् वा राणा, नेता होस् वा पहलमान ।

आफ्नो मर्यादालाई खुबै ख्याल गर्ने अनि अञ्जानैमा भए पनि कतै तल पो परिहालिन्छ कि भनेर सतर्क रहने गजबको बानी बोकेर चाक्सीबारीबाट जमलतिर लट्ठी टेकेर ओहोरदोहोर गरिरहनु हुने एउटा व्यक्तित्व ।

राजनीतिमा आउनु अगाडिसम्म दैनिक आफ्नो टोलका हुल्याहा जम्मा गरेर अर्को टोलका हुल्याहाहरूसँग झगडा र दादागिरी गर्नु उनको दैनिकी थियो । यस्तैमा एकदिन बटु र टेबहाल टोलका हुल्याहाहरूसँगको टोले ग्याङ फाइटमा फलामे डण्डीले टाउको फुटाईदिएपछि बसेको खत देखेर बुढापाकाहरूले ‘टाउको फुटेकाले भाग्य फुट्यो, नत्र ठूला मान्छे हुने हो’ भन्दा रहेछन् ।

यसरी युवाबयमै आफ्नो टोलमा ‘हिराकाजी’ दादाको चिनारी बनाएर दौंतरीहरूको नजरमा सबैको नेता भइरहेका गणेशमान सिंह एकदिन दिउँसो ओमबहाल हुँदै कतै जाँदै रहेछन् । बाटोमा देख्छन् त एकजना बलिष्ठ शरीरका व्यक्ति जिउमा टललल टल्किने तेल घसिरहेको देखेछन् । ‘एउटा जंगलमा २ वटा सिंह ?

यो त हुने सक्दैन ! आफ्नो बलिष्ठ शरीरलाइ प्रदर्शन गरेको गणेशमान सिंहलाइ पचेनछ, तब ती तेल घसिरहेका व्यक्तिको छेउमा गएर सोधेछन ‘ए दाइ, तपाई के पहलमानी गर्नुहुन्छ ?’ ती व्यक्तिले भनेछन् ‘हो अलि अलि गर्छु’, गणेशमान सिंहले ‘ए अलि अलि सिकेको ?’ भनेर आफूले सिकेको कला देखाउँदै मसल फुलाएर देखाएछन्, तब ती पहलमानले हल्का मसल फुलाउँदा नै आफ्नो भन्दा रहरलाग्दो मसल देखेर गणेशमान सिंह चकित खाएछन् ।

तर, त्यो पच्ने कुरै भएन । कसरतमा नसकिने देखेपछि उनले सोधेछन् ‘तपाइँलाई बक्सिङ आउँछ ?’, ती पहलमानले जवाफ दिएछन्, ‘अलि अलि ।’ गणेशमान सिंहले भनेछन् ‘लौ त्यसो भए भोलि बिजी छु, पर्सी खेलौंला ।’

पर्सीपल्ट तोकिएको समयमा बक्सिङ खेल्न थालेछन् । ती पहलमानले उनलाई नाकमा हानिरहे, गणेशमान सिंह मौकाको ताकमा थिए । तब ताकेर ती पहलमानको घोक्रामा दनक दिएछन । ती पहलमानलाई दुखेछ क्यारे ! रिसाएर गणेशमान सिंहको नाकमा जमाएर एक मुक्का हानेछन्, एकैपल्ट गणेशमान सिंह बुझिदा त उनी गुलाब जल छर्किरहेका रहेछन् ।

तब गणेशमान सिंहले ती पहलमानलाई गुरु थापेछन् । ती पहलमान थिए– कुनै समय बक्सिङ र बडी बिल्डिङमा बंगाल च्याम्पियन शहीद धर्मभक्त माथेमा ।

जीवनभर राजनीतिक सहयात्रा गर्नुभएका बीपी कोइरालासँगको गणेशमान सिंहको पहिलो भेट डीके शाहीमार्फत् एक बंगालीको घरमा भएको नेपालीहरूको भेलामा भएको थियो । सो दिन दार्जिलिङबाट बीपी कोईराला आउँदैछन् भन्ने समाचारले सबै भेला भएछन् । राणा शासनको जेलबाट भर्खर भागेर भारत पुगेका गणेशमान सिंह पनि त्यहाँ पुगे ।

एकछिनपछि बीपी आए, ‘बीपी आए’ भन्दै सबैजना जर्याकजुरुक उठेछन् । तर, ‘राणा जेल तोडेर भागेर आएको म जस्तो क्रान्तिकारीले कोईरालालाई किन अभिवादन गर्ने ? कोइरालाले मलाइ मान्नुपर्ने’ मनमनै यही कुरा सोचेर बसेका गणेशमान सिंह गजधम्म परेर सिटमै बसिरहे ।

पालैपालो सबैको परिचय हुँदै जाँदा डीके शाहीले ‘राणा सरकारको जेल तोडेर भाग्नुभएका गणेशमानजी उहाँ नै हुनुहुन्छ, उहाँ हामी सबैका प्रेरणा हुनुहुन्छ ।’ बीपी सरासर गणेशमानजी बस्नुभएको कुर्सीअगाडि आएर मुस्कुराउँदै हात जोड्नुभएछ । तर, पनि गणेशमानजी डेग नचली बसिरहनु भएछ भने बीपीचाहिँ अदबका साथ उभिइरहनु भएछ ।

यतिखेरसम्म पनि गणेशमानजीलाई बीपीलाई मैले किन मान्ने ? भन्ने मानसिकताले उहाँलाई उठ्न दिएनछ । जब बीपी मञ्चमा गएर बोल्न थाल्नुभयो, हो त्यसपछि नै गणेशमानजीको मनमा बीपीप्रति श्रद्धा अनि सम्मान उब्जिन थालेछ । गणेशमान सिंह ‘कृष्णबहादुर प्रधान’ (किनकी उहाँलाई गणेशमान सिंहको नामबाट वारेन्ट थियो) को नामबाट बीपीसँगै नेपाली कांग्रेसको संस्थापक हुँदै सहयात्रा शुरू भयो ।

बीपीप्रतिको त्यो श्रद्धा र सहयात्रा जीवन पर्यन्त रह्यो, बीपीले भन्ने गर्नुहुन्थ्यो रे ! ‘मैले राखेको कुनै पनि प्रस्तावमा पहिले राय बुझाउने तर अन्तिममा सबैभन्दा बढी साथ दिनुहुन्थ्यो गणेशमान जी ।’ त्यसैले काठमाडौंका बुज्रुकहरूले बेलाबखत गणेशमानजीलाई ‘बाहुनको पिसाबमा बगेको नेवार’ भनेर उडाउने गर्थे ।

गणेशमानजी जेलबाट भागेर कलकत्ता गइ नेपाली कांग्रेसको स्थापनापश्चात् काठमाडौं मिशन लिएर भेष बदलेर आउँदा पक्राउ खाएपछि सिंहदरबारमा राणा जर्नेल हरि शमशेर जबरा (राजा महेन्द्रका ससुरा) का अगाडि सुब्बा महेन्द्रबहादुर महतले गणेशमानजीको बयान लिने क्रममा सोधेको ‘पता (ठेगाना) ?’ भन्ने प्रश्नको जवाफमा ‘नेपाल’ भनेछन् ।

सुब्बाले नेपाल त नेपाल तर नेपाल ‘पता का ?’ फेरि जवाफ आएछ ‘नेपाल’ । तब अगाडि बसेका जर्नेल हरि शमशेरले ‘ए कैदी, सुब्बा सा’बले सोधेको प्रश्नको सिधा जवाफ दे ।’ तब गणेशमान सिंहले जर्नेलतिर हेर्दै ‘ए सुब्बा सा’ब यो मान्छे बीचमा किन कराउँछ हँ ? अन्त कराउने ठाउँ पाएन यसले ?’ राणा शासनको उत्कर्षमा राणा जर्नेललाइ तँ ? रिसले दाह्रा किट्दै ती जर्नेल कराउन थालेछन् ।

यसले हामी राणाजीलाई तँ भन्ने ? तब गणेशमानजीले ‘तैंले मलाइ तँ भनेपछि मैले पनि तँ भन्छु भन्ने तँलाई थाहा थिएन ? तलाई तँ भन्दा तेरो चित्त दुख्छ भने अरुलाई ‘तँ’ भन्दा पनि चित्त दुख्छ भन्ने सोचिनस ?’ तब राणा जर्नेलको आदेशमा गणेशमान सिंहमाथि बर्सिन थालेको कोर्रा उहाँ मुर्छा परेर बौरिंदा पनि बर्सिनै रहेको थियो ।

२००७ साल फागुन ७ गते राणा–कांग्रेस सरकारको सपथ ग्रहण चलिरहेको थियो । प्रधानमन्त्री मोहन शमशेर, बबर शमशेर, बीपी कोईराला, सुवर्ण शमशेर अनि चुडाराज शमशेरले सपथ लिए बीपीले टाउको निहुराएर राजा त्रिभुवनलाई नमस्ते गर्नुभएछ । बाँकीले आधा शरीर नै झुकाएर अभिवादन गरेछन् ।

२०४३ साल फागुनमा स्थानीय निकायको चुनाव थियो, आउट पोष्ट कब्जा गर्ने नीति अनुसार प्रतिबन्धित नेपाली कांग्रेसले पनि भाग लिएको थियो, बसन्तपुरको चुनावी सभामा उद्घोषण मार्शल जुलुम शाक्यले गणेशमानजीलाई मञ्चमा बोल्न बोलाउने क्रममा ‘लौह पुरुष’ भन्दै सम्बोधन गरे । तब गणेशमानजीले ‘म के को लौह पुरुष नि ! यी ३ वटा राजा (त्रिभुवन, महेन्द्र, वीरेन्द्र) ले घोट्दा–घोट्दा भष्म भएको भष्म पुरुष हुँ । लामो समय बजेको त्यो ताली अझै गुञ्जिए झैं लाग्छ ।

त्यसपछि गणेशमान सिंहको पालो आयो, उहाँलाई त्यो मन परिरहेको रहेनछ । तब उहाँले राजालाई दुईहात जोडेर नमस्ते गर्नुभएछ । ‘क्रान्ति गर्ने पार्टी नेपाली कांग्रेसको नेताको नाताले आफूले मन्त्री पद प्राप्त गरेको हुँदा सबै कुरा बिर्सेर राजाको अगाडि नझुक्ने कुरामा मात्रै ध्यान केन्द्रित गरेछन् । एउटै कुरामा सतर्क भएछन । कतै सपथमा उभिँदा राजाको अगाडि आफ्नो शीर झुक्ला कि ? तर, उनको यो व्यवहार उहाँका जेठा बाजे बडाकाजी रत्नमान सिंहलाइ चाहिँ मन परेको रहेनछ । कुनै प्रसंगमा बडाकाजीले आफ्नो असन्तुष्टि पोख्नुभएछ । तर, गणेशमानजीले बाजे बाजेकै लाइनमा, नाती नातीकै लाइनमा उभिएको कुरा राखेछन् ।

२०३३ सालमा बीपीसँगै गणेशमानजी नेपाल आउनु भएपछि बीपी र राजाको वार्ताले निरन्तरता पाइरहेको थियो, प्रतिबन्धित नेपाली कांग्रेसको पार्टी अफिस जमलमा थियो । बीपी राजासँग भेट्न दरबार जानुहुँदा गणेशमान सिंहजी लगायतका नेता उहाँ र राजाको बीच के–के कुरा भयो ? सुन्न कुरेर बसिरहेका हुन्थे । बीपी दरबारबाट फर्केर आउनुभएपछि बीपीलाई अरुले ‘राजासँग के–के कुरा भयो ?’ भनेर सोधनी हुँदा गणेशमानजीले सोध्नुहुँदो रहेछ– ‘बीपी, राजाले तपाइँलाई ‘तिमी’ कि ‘तपाई भन्यो ?’ बीपीले भन्नुहुँदोरहेछ– ‘गणेसमानजी, हामी सबै नेपालीलाई नै तपाईं भनाउन नै लडिरहेका छौं ।’

२०४३ साल फागुनमा स्थानीय निकायको चुनाव थियो, आउट पोष्ट कब्जा गर्ने नीति अनुसार प्रतिबन्धित नेपाली कांग्रेसले पनि भाग लिएको थियो, बसन्तपुरको चुनावी सभामा उद्घोषण मार्शल जुलुम शाक्यले गणेशमानजीलाई मञ्चमा बोल्न बोलाउने क्रममा ‘लौह पुरुष’ भन्दै सम्बोधन गरे । तब गणेशमानजीले ‘म के को लौह पुरुष नि ! यी ३ वटा राजा (त्रिभुवन, महेन्द्र, वीरेन्द्र) ले घोट्दा–घोट्दा भष्म भएको भष्म पुरुष हुँ । लामो समय बजेको त्यो ताली अझै गुञ्जिए झैं लाग्छ ।

२०४६ सालको आन्दोलन शुरू हुने ताका, नेपाली कांग्रेसको नेतृत्वमा जनआन्दोलनको तयारी हुँदै थियो । गणेशमानजी यसको लागि कम्युनिष्ट नेताहरूसँग पनि सहकार्यको प्रयासमा थिए । भर्खर मोहनचन्द्र अधिकारी १६ वर्ष जेल बसेर छुटेका थिए । उनको सम्मानमा त्रिचन्द्र कलेजमा कार्यक्रम राखिएको थियो । प्रमुख आकर्षणको पात्र हुनुहुन्थ्यो उही गणेशमानजी ।

उहाँको भाषण शुरू भयो– ‘तत्कालिन राजा वीरेन्द्रसँगको आफ्नो भेटको प्रसंग निकाल्दै नारायणी हिटी दरबारतिर देखाउँदै भन्नुभयो, ‘यसको बाजे (त्रिभुवन)ले तपाईं भन्थ्यो, यसको बाउ (महेन्द्र) ले पनि मलाई तपाईं नै भन्थ्यो, यसले तिमी भन्ने ?’ हामीले ताली त पिटयौं, तर हाम्रो आँखा अब कतिखेर पुलिसको लाठी वर्सिने हो भनेर पुलिसतिर ध्यान हुन्थ्यो । तर, गणेशमानजी दरबारतिर हेरेर निर्धक्क बोलिरहनु भएको सम्झन्छु, त्यतिखेरको दरबार ।

२०४६ सालको माघ ५ गतेदेखि ७ गतेसम्ममा गणेशमानजीको चाक्सीबारीमा प्रतिबन्धित नेपाली कांग्रेले सम्मेलन गरेर फागुन ७ गतेदेखि जन आन्दोलन घोषणा गर्यो । त्यतिखेरका कम्युनिष्ट पार्टीहरूका नेताहरू पनि नेपाली कांग्रेससँग मिलेर आन्दोलन गर्छौं भन्दै चाक्सीबारी पुगे, गणेशमानजीले ती नेताहरूलाई भन्नुभएछ– कुनचाहि कम्युनिष्ट पार्टीसँग हामीले सहकार्य गर्ने ? पहिले तपाईंहरू कम्युनिष्ट पार्टीहरूको सके एकता गरेर आउनुस् नभए पनि मोर्चा, हो त्यसपछि नै साहना प्रधानको नेतृत्वमा ७ वटा पार्टीको बाममोर्चा बनेर नेपाली कांग्रेससँग जन आन्दोलनमा सहभागी भएको थियो ।

जब मनमोहन अधिकारीले गणेशमानजीको दुवै खुट्टा समातेर ढोग्नु’भो, करिब ३० सेकेन्ड उहाँ ढोगेकै अवस्थामा भक्कानिएर रुनु भो । त्यतिखेर अझ महशुस भयो, गणेशमान सिंह को हुनुहुन्थ्यो ? अनि भन्न मन लाग्यो– गणेशमानजी जस्तो श्रद्धा र सम्मान अब कसैले पनि पाउन नसक्ला । जो न त सरकार प्रमुख नै भए, न त पार्टी प्रमुख नै ।

२०४६ साल चैतमा बहुदल आयो, उहाँलाई तत्कालिन राजाबाट प्रधानमन्त्री पदको प्रस्ताव आयो । तर, उहाँले स्वास्थ्यको कारण देखाएर कृष्णप्रसाद भट्टराइको नाम प्रस्ताव गर्नुभयो । सायद अहिलेको नेपाली राजनीतिक परिदृश्य देखेर वाक्क भएका नयाँ पुस्तालाई गणेशमान सिंह जस्ता त्यागी व्यक्तित्व पनि नेपाली राजनीतिमा थिए नि भन्ने कुरा पत्याउन मुश्किल होला ।

आजकै दिन २०५४ असोज २ गते उहाँको निधन भयो, त्यतिखेर सरकारमा राप्रपाका लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र तत्कालिन एमालेका बामदेव गौतम उपप्रधानमन्त्री थिए । सरकारले राष्ट्रिय शोक घोषणा गरेर उहाँलाई राष्ट्रिय सम्मान दिँदै सरकारी तवरले उहाँको शवयात्राको तयारी गर्यो । अझै पनि त्यो दृश्य सम्झन्छु, जब म वडा प्रहरी कार्यालय, महाराजगञ्जको इन्चार्ज थिएँ । प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई निवास बालुवाटारबाट गणेशमानजीको घर चाक्सीबारीमा स्कटिङ गरेर लैजाने दायित्व थियो ।

यति ठूलो जाम थियो कि, उहाँको घर कम्पाउण्डभित्र प्रधानमन्त्रीलाई छिराउन हामी प्रहरीलाई हम्मे–हम्मे परेको थियो, त्यो अथाह जनसागरलाई छिचोल्दै प्रधानमन्त्रीलाई लिएर हामी चाक्सीबारीमा गणेशमानजी को शव राखेको स्थानमा पुग्यौं, प्रधानमन्त्री चन्दभन्दा ठिक अगाडि लाइनमा उभिनुभएको थियो प्रथम कम्युनिष्ट प्रधानमन्त्री (पूर्व) मनमोहन अधिकारी ।

त्यो दृश्य कहिल्यै भुल्न सकिन्न जुन दृश्यले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो, जब मनमोहन अधिकारीले गणेशमानजीको दुवै खुट्टा समातेर ढोग्नु’भो, करिब ३० सेकेन्ड उहाँ ढोगेकै अवस्थामा भक्कानिएर रुनु भो । त्यतिखेर अझ महशुस भयो, गणेशमान सिंह को हुनुहुन्थ्यो ? अनि भन्न मन लाग्यो– गणेशमानजी जस्तो श्रद्धा र सम्मान अब कसैले पनि पाउन नसक्ला । जो न त सरकार प्रमुख नै भए, न त पार्टी प्रमुख नै ।

तर, पनि यत्रो जनसम्मान हासिल । हो, केही महिनाअगाडि पूर्वप्रधानमन्त्री (प्रथम जनताका छोरा प्रधानमन्त्री) मातृकाप्रसाद कोइरालाको निधनमा उहाँको शवयात्रा टिचिङ हस्पिटलबाट स्कटिङ गर्ने क्रममा दृश्य सम्झिए– सेनाको मानार्थ जनरल भएकाले पाएको सेनाको सम्मान गारतलाइ छाडेर अरु मलामी गन्न सकिन्थ्यो । दाँजेको थिएँ उनै व्यक्तिको प्रधानमन्त्रीत्वमा मन्त्री हुने व्यक्तिको निधन र शवयात्रा । सायद एउटा सन्देश थियो होला, पदले मानिसलाई ठूला त बनाउला तर, त्यागले मात्रै मानिसलाई अमर बनाउने रहेछ । हाम्रो पुस्ताले प्रत्यक्ष देख्न, सुन्न र सम्मान गर्न सौभाग्य पाएका इतिहास पुरुष गणेशमानको २३औं स्मृति दिवस ।

गणेशमानजीप्रति श्रद्धापूर्वक भावपूर्ण श्रद्धाञ्जली !