बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

विश्रामको बाटोमा ‘माओवाद’

दैनिक नेपाल २०८० माघ १३ गते ७:५४

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रको ‘माओवादी’ नाम औपचारिक विश्रामतर्फ उन्मुख भएको छ । फागुन १ देखि ३ गते काठमाडौंमा हुने पहिलो विधान महाअधिवेशनमा माओवादी केन्द्रले पहिलो पटक औपचारिक रूपमा बहस गर्ने र सकेसम्म नाम परिवर्तन गर्ने भएपछि ‘माओवादी’ नाम नै औपचारिक विश्रामतर्फ उन्मुख भएको हो, आजको नागरिक दैनिकमा खबर छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नाम परिवर्तन गर्ने गरी यसअघि नै तल्लो तहसम्म छलफलका लागि प्रस्ताव गरिसकेका छन् । जसका कारण पार्टीभित्र ‘माओवादी’ नाममा बहस चलिरहेको छ । माओवादी नाम परिवर्तन र पार्टीले अपनाउन लागेको नयाँ व्यवस्थाले ‘माओवाद’ नै विश्रामको मार्गमा उन्मुख भएको भन्दै पार्टी वृत्तमा चिन्ता प्रकट हुन थालेको छ ।

माओवादीले विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावित विधान मस्यौदामा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव गरेर पार्टीको नाम परिवर्तन गर्ने उल्लेख गरेका छन् । माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेको भन्दै पार्टीको नाम फेर्ने विषयमा समेत छलफल अघि बढाएका हो ।

पुस अन्तिम साता बसेको माओवादी स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टीको नाम फेरेर ‘नेकपा समाजवादी’ राख्न प्रस्ताव गरेका थिए । शर्माले सो प्रस्ताव गरेपछि अहिले पार्टीभित्र समर्थन र विरोधमा दुई धार देखिएका छन् । उनले माओवादी पार्टीको नाम परिवर्तनको विषय मात्र उठाएका छैनन्, पार्टीलाई लोकतान्त्रीकरण गर्ने विषय पनि अघि सारेका छन् ।

सबै तहका पदाधिकारी प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने, सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नुपर्ने, पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने, जनवर्गीय संगठनसम्बन्धी नीति तथा पार्टीको मार्गदर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढीकरण र परिचालन गर्ने, पेसागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने, जनवर्गीय संगठन प्रमुखको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषणको व्यवस्था गर्ने, सरकार सञ्चालन गर्न आवश्यक नीति बनाउन समन्वय समिति बनाउनेजस्ता विषय उठाइएपछि ‘माओवाद’ ओझेल पर्दै जाने आकलन भइरहेको छ ।

पार्टीका नेता एवं सचिव देवेन्द्र पौडेलले कुनै पनि दल माओवादीमा एकता गर्ने हुँदा नाम फेर्ने विषयमा आपत्ति नभएको बताए । उनले माओवादीमा अन्य दलहरूले एकता गर्ने भएको खण्डमा नाममा आपत्ति जनाइएको अवस्थामा मात्र त्यसलाई फेर्न सकिने बताएका हुन् ।

विधान मस्यौदापछि माओवादीले नेतृत्व चयनका लागि अर्को महाधिवेशन गर्दैछ । अर्को महाधिवेशनले पार्टीको नीतिनियम तथा कार्यदिशा निर्धारण गर्नेछ । त्यतिबेलासम्म अहिलेकै नाम कायम हुने पौडेलको भनाइ छ । ‘विधान महाधिवेशनमा नामबारे छलफल हुन्छ तर अर्को महाधिवेशनसम्म नाम परिवर्तनको सम्भावना देखिन्न,’ उनले भने । २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा पनि माओवादीले ‘माओवादी’ नाम त्याग गरेको थियो। पछि सर्वोच्च अदालतले पार्टी एकीकरण बदर गरेपछि नेकपा माओवादी केन्द्र नाम पुनः ब्युँतिएको थियो ।

अहिले छलफलका लागि प्रस्ताव गरिएको विधान मस्यौदामा पार्टीका आठवटा केन्द्रीय निकाय रहनेछन् । जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन् ।

प्रतिक्रिया
सम्बन्धित