आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

दैनिक नेपाल २०८१ वैशाख २५ गते ८:०५

तम्घास, २५ वैशाख । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् ।

सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गर्नुभएको हो । उहाँहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आउनुभएको थियो ।

न्यायाधीशले आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ भने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उहाँलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताउनुभयो ।

हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेँसीकी मनसुवाबीच छ वर्षपहिले विवाह भएको थियो । श्रीमान-श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आउनुभएको थियो । उहाँहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित