आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जसपाबाट प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

दैनिक नेपाल २०८१ वैशाख २५ गते ११:४८

काठमाडौं, २५ वैशाख । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि बोलाएको छ ।

आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो ।

आयोगले जेठ १३ गतेभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथमा सनाखत गर्न भनेको हो । आयोगसमक्ष उपस्थित भएर उनीहरुले आफू जसपा नेपाल वा जसपामा रहेको स्पष्ट गर्नुपर्ने भएको छ ।

जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गर्नुभएको छ । आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो ।

राई नेतृत्वको जसपामा ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य सामेल रहेका छन् ।

आयोगका अनुसार जसपा नेपालबाट संघीय संसदमा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधि सभामा १२ जना र राष्ट्रिय सभामा तीनजना छन् ।

त्यस्तै, प्रदेश सभामा जसपा नेपालका २२ जना निर्वाचित छन् ।  स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित छन् ।

प्रतिक्रिया
सम्बन्धित