सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

शेरबहादुरसँग गोपालमानको गुनासो

दैनिक नेपाल २०८० माघ ४ गते ७:३९

काठमाडौं, ४ माघ ।  नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके । पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । तर पार्टीभित्रका गुट–उपगुटलाई मिलाएर अघि बढ्नुपर्ने बाध्यतामा देउवाले श्रेष्ठलाई उम्मेदवार बनाउन सकेनन्, आजको नागरिक दैनिकमा खबर छ ।

संस्थापन (शेखर कोइराला पक्ष) लाई गण्डकीमा छाड्नुपर्ने भएपछि राष्ट्रियसभामार्फत सांसद बन्ने श्रेष्ठको चाहना अधुरो बन्न पुगेको छ । त्यससँगै श्रेष्ठ सभापति देउवासँग रुष्ट मात्र भएका छैनन्, निकटहरू भेट्न पुग्दा विगतमा आफूले गरेको सहयोग फेहरिस्त नै सुनाउने गरेका छन् ।

आफूले विगतमा लगाएको गुन देउवाले भुलेको भन्दै श्रेष्ठले गुनासो गर्दै आएका छन् । आफ्नालाई छाडेर अरूलाई खुसी बनाउन लागेको भन्दै श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा उपसभापति धनराज गुरुङका लागि आफूले नै स्याङ्जामा क्षेत्र छाड्नुपरेको बताउने गरेका छन् ।

प्रत्यक्षतर्फ उम्मेदवार बन्नबाट रोकिएका श्रेष्ठलाई कांग्रेसले जनजातितर्फबाट पहिलो नम्बरमा राखेको थियो । तर तीन जना मात्र पुरुष समानुपातिक कोटाबाट सांसद बन्ने अवस्था आयो ।

त्यसपछि नेताहरूले राष्ट्रपति बनाउने आश्वासन दिएको उनले निकटहरूलाई सुनाउने गरेका छन् । तर त्यहाँ पनि रामचन्द्र पौडेललाई अघि सार्दै राष्ट्रियसभा सदस्य बनाएर त्यसको अध्यक्ष बनाउने आश्वासन दिएको उनले दाबी गर्ने गरेका छन् ।

अहिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन आफूलाई उम्मेदवार हुनबाट नै वञ्चित गराइएको उनको गुनासो रहने गरेको छ । राष्ट्रियसभा सदस्य नै नभएपछि पार्टीमा सिटौलाको अर्को प्रतिस्पर्धी नै नहुने भएकाले संस्थापन र इतर दुवै पक्ष आफूलाई रोक्न लागिपरेको बताउने गरेका छन् ।

नेताहरूले उनलाई अहिले पनि पार्टी वरिष्ठ नेता बनाउनेलगायत अन्य विभिन्न आश्वासन दिएको बताइन्छ । तर उक्त आश्वासन कार्यान्वयन हुनेमा श्रेष्ठ आफैं आश्वस्त छैनन् । किनभने कांग्रेस विधानमा वरिष्ठ नेता भन्ने व्यवस्था नै छैन । यद्यपि पदाधिकारीपछिको पहिलो नम्बरमा श्रेष्ठको नाम भने अहिले पनि छ । सभापति देउवापछि उपसभापति कि सभापतिका निकटतम प्रतिस्पर्धी भन्ने कांग्रेसमा अहिले विवाद छ ।

त्यति मात्र होइन, नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीचको एकीकरणका बेला दुवै पार्टीबाट आफू वरिष्ठ उपसभापति रहेको श्रेष्ठले बताउँदै आएका छन् । तर पछि नेपाली कांग्रेसमा महामन्त्री रहेका रामचन्द्र पौडेललाई उपसभापतिमा बढुवा गरेर आफूभन्दा अघि राखिएको उनको गुनासो छ । श्रेष्ठ शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकमा थिए ।

त्यहीबेला उक्त पार्टीको महाधिवेशन भएको थियो । महाधिवेशनबाट सभापति बन्न आफूलाई पार्टीभित्रबाटै दबाब आए पनि राजालाई देखाउन पार्टीभित्र बृहत् एकता कायम गर्दै देउवालाई सर्वसम्मतिबाट सभापति बनाउन भूमिका खेलेको पनि श्रेष्ठले बताउने गरेका छन् ।

महाधिवेशनको सम्पूर्ण तयारी र खर्चको जोहोसमेत आफूले गरेको बताउँदै उनले सात राजनीतिक दलको आन्दोलनमा पार्टीका तर्फबाट आफूले नेतृत्व गरेको जनाउँदै आएका छन् ।

माओवादी र सात राजनीतिक दलबीच भएको सहमतिमा कांग्रेस प्रजातान्त्रिकबाट आफैंले हस्ताक्षर गरेको पनि बताउने श्रेष्ठले आफू नयाँ दिल्ली नगएकै कारण उक्त समझदारी नेपालमा भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित