शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कर्मचारीको मागप्रति माथिल्लो तामाकोशी हाइड्रोपावरको बेवास्ता, धर्ना जारी

सुनील तिमल्सिना २०८० जेठ २३ गते २०:२०

दोलखा, २३ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आफ्ना कर्मचारीहरूको माग सम्बोधन गर्न अस्वीकार गरेको छ ।

आयोजना निर्माणको सुरूवाती चरणदेखि नै ज्यालादारीमा काम गर्दै आएका प्रशासन र सवारीचालकतर्फका ३६ जना कर्मचारीले आफूहरूलाई करार नियुक्त गर्न आग्रह गरे पनि आयोजनाले अस्वीकार गर्दै आएको हो ।

आफूहरूलाई करारमा नियुक्ति गर्नुपर्ने भन्दै उनीहरूले १० दिनदेखि आयोजनाको गोंगरस्थि कार्यालयमा शान्तिपूर्ण धर्ना दिदै आएका छन् । तर, आयोजनाले कुनै पनि हालतमा करार नियुक्त गर्न नसकिने र आफूहरूसँग कोटा नै नभएको जवाफ दिदै आएको छ ।

आयोजना निर्माणको चरणमा आइपरेका प्राकृतिक प्रकोप, बाढीपहिरोलगायत विपद्को समयमा समेत दिनरात नभनी ज्यानको बाजी लगाएर अनेक दु:ख र कष्टका साथ विचलित नभइ निरन्तर काम गर्दै आएको हुनाले आफूहरूलाई करारमा नियुक्त गरिनुपर्ने मजदुरहरूको माग छ ।

‘हाम्रो लामो समयको दु:ख र कष्टसहितको योगदानका कारण आज तामाकोशी जलविद्युत् आयोजनाको काम सम्पन्न भएको छ र विद्युत् उत्पादन सुरू भएको छ । तर, आयोजनाले भने हामी माथि नै अन्यायको व्यवहार गरेको छ’ माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ज्यालादारी कर्मचारी संघर्ष समितिका संयोजक राजकुमार श्रेष्ठले भने, ‘यति धेरै दु:ख गर्दै आएका हामीलाई करार नियुक्त गर भन्दा आयोजनाले इन्कार गर्दै आएको छ ।’

आफूहरूको ऊर्जावान समय आयोजनाको विकास र निर्माणमा खर्च भइसकेको र अहिले आएर आ–आफ्नो परिवारको भविष्य समेत आयोजनाले दिने रोजगारीसँग जोडिएको संयोजक श्रेष्ठको भनाइ छ । आयोजनाले पटक–पटक कर्मचारी नियुक्त गर्दै आए पनि आफूहरूलाई कुनै वास्ता नगरेकोप्रति दु:ख व्यक्त गर्दै उनले भने, ‘२०७८ को पुसमा आयोजनाले तह १ देखि ७ सम्म विभिन्न कर्मचारीलाई बिनासूचना करार नियुक्त गर्‍यो । तर, हामीलाई भने विभिन्न प्रलोभन देखाई काममा खटाउँदै आयो । नियुक्ति दिइएन ।’

आयोजनामा कार्यरत बाँकी ३६ जना ज्यालादारी कर्मचारीलाई करार नियुक्त गर्न माग गर्दै आफूहरूले आयोजनासमक्ष पटक–पटक प्रस्ताव गरे पनि अस्वीकार गरिएको र अहिले धर्नामा बस्न बाध्य भएको संयोजक श्रेष्ठले बताए । यसअघि निवेदन दिदा तीन महिनापछि नियुक्त गर्छु भनेर आयोजनाले प्रतिबद्धता जनाउँदै आवश्यक कागजात संकलन गरे पनि अहिले धोका दिएको उनको भनाइ छ ।

मजदुरहरूसँग आयोजनाले आज मंगलबार पनि वार्ता गरेको तर कुनै निष्कर्ष निस्कन नसकेको जानकारी श्रेष्ठले दिएका छन् । मजदुरको आन्दोलनलाई बिगु गाउँपालिका–१ लामाबगर र गौरीशंकर गाउँपालिका–९ गौरीशंकरका जनप्रतिनिधिले विज्ञप्ति जारी गरेरै समर्थन गरेका छन् ।

यस्तै, स्थानीय राजनीतिक दलहरूले विज्ञप्ति निकालेरै समर्थन गरेका छन् । तर, गाउँ कार्यपालिकाबाट भने कुनै समन्वय नगरिएको भन्दै उनीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित