मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

यौन शोषणको धारभित्र लुकेको हुन सक्छ ‘गोल्ड डिगर’ कथा

विनोद ढकाल २०७९ जेठ २१ गते ११:३०

यौन शोषण, बलात्कार जस्ता विषयबस्तु असाध्यै संवेदनशील हुन्छन्। यो संवेदनाको कसीलाई ध्यानमा राखेर नेपथ्यमा हुन सक्ने, या भइसकेका विषयलाई पनि पाखा लगाउन नसकिने रहेछ।

यसर्थ, समाजले कमै मात्र चर्चा गरेको तर सहरभित्र ठूलो व्यथाका रुपमा सल्किरहेको विषयबस्तुमाथि चर्चा गर्नु अनिवार्य हुन्छ। कुनै एक पक्षका निम्ति होइन, सतहमा आएका परिघटनाका उदाहरणलाई राखेर नै विषयबस्तुमाथि बहस छेड्न सबैमा प्रस्ताव गर्दछु।

यस आलेखमा उदाहरणका रुपमा राखिएका पात्रहरू सबै मिडियामा आएका हुन्। यसर्थ कसैको पक्षपोषणका निम्ति नभई उठान गर्न खोजिएको विषयको सीमाभित्र बुझिदिन प्रस्ताव गर्दछु। किनभने यो विषय चर्चा गर्नैपर्ने हुन्छ।

जागिरलाई निरन्तरता नदिएको भनी एक जना महिलाले तत्कालिन सभामुख कृष्णबहादुर महराले यौन शोषण गरेको भनी मिडियामा बोलिन्। सर्वत्र भएपछि महरालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा उभ्यायो। उनलाई अदालतले पूर्पक्षका लागि थुनामा पनि पठायो। ति महिलाले फेरि बयान फेरिन। महरा कारागारमुक्त भएर राजनीतिमा सक्रिय त छन् तर उनको सामाजिक चरित्र जीवनको उत्तरार्धमा धुलिसात भयो।

हालै मात्र उच्च अदालतले अभिनेता पल शाहलाई एउटी गायिकासँग स्थापित गरेको सम्बन्धका कारण यौन शोषणको अभियोग लगाउँदै पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ। ति युवतीले दुई वटा जिल्ला अदालतमा बयान फेरिन्। उजुरी फिर्ता लिने पनि भनिन्। तर, कानुनले शाहलाई छाडेन। उनी थुनामा छन्।

यी दुई उदाहरण मात्र हुन्। यस्ता कयन घटना छन्। वास्तविक रुपमा महिलाको यौन शोषण भएको हुन सक्छ। सहमतिमा स्थापित सम्बन्धले पनि कानुनी दुलो खोज्दै अपराधको व्याख्यासम्म हुन्छ। तर यसको व्यवाहारिक पाटोका विषयमा कसैले पनि चर्चा र बहस चलाएको पाइन्न।

नेपालमा अपराधको नयाँ शैली ‘हनि ट्रयाप’को विषयमा त चर्चा हुने गरेको छ। तर, कुनै पनि पुरुषलाई आकर्षणमा पारी, खासगरी यौनाकर्षणमा पारी सम्पत्तिको डिमान्ड गर्नुको चर्चा हुन सकेको छैन।

सहरमा हनि ट्रयाप जस्तै एउटा भयानक नेपथ्यको परिघटना हो ‘गोल्ड डिगर’। कार्यालयभित्रको यौन शोषणको चर्चा हुन्छ तर त्यसअघि स्थापित सम्बन्धको मुनाफा के हो? ति युवती जसले अभियोग लगाइन्, उनको अभिप्राय के थियो भन्ने चर्चा र बहस हुँदैन। त्यो बहस नगरिएको कथाभित्र लुकेको हुन्छ– गोल्ड डिगर परिघटना।

पहिला त गोल्ड डिगरको अर्थ र उदाहरणको चर्चा गरौं।

गोल्ड डिगर भनेको खास महिला जो कुनै धनी पुरुषसँग अल्पकालिन सम्बन्ध कायम गर्छन्, पैसाका लागि। त्यहाँ प्रेमभन्दा पनि उसको सम्पत्ति जायजेथाप्रतिको लगाव धेरै हुन्छ।

८ बर्षअघि को परिघटनाको मुख्य कारण के थियो? यसको आशय युवतीको न्याय हरण गर्नु होइन, कानुनले त्यो विषयलाई चिरफार गर्ला। तर, नेपथ्यका अन्य सहायक कारण र तथ्यको खोजी यस्ता घटनामा हुनु पर्छ कि पर्दैन? यो प्रश्नमाथि बहस गर्ने कि नगर्ने?

अक्स्फोर्ड डिक्शनरीका अनुसार २०औं शताब्दिताका यौन सम्बन्ध स्थापित गरी धनाड्यको सम्पत्ति प्रतिको मोह राख्ने चलाख युवती अथवा यौनकर्मीले गरेका घटनाले ‘गोल्ड डिगर’ स्थापित र चल्तीको भाषा बन्यो। यो रेक्स बिचको सन् १९११ को पुस्तक ‘दी नीर डु वेल’ भन्ने पुस्तकबाट स्थापित भयो।

यो शव्द महिलाका लागि नै बनेको उल्लेख गरेको अक्स्फोर्ड डिक्शनरीले अगाडि ब्याख्या गरेको छ– ति महिलाहरू जो सामाजिक, सहरी जीवनको स्तरलाई कायम राख्न चहान्छन्। जसले धनी व्यक्तिसँग प्रेम गर्ने अथवा विहेसम्म गरेर डिभोर्स गर्ने प्रचलन पनि छ।

गोल्ड डिगरको एउटा गतिलो उदाहरण हुन् २०औं शताब्दिकै अमेरिकी मोडल, अभिनेत्री पेग्गी हप्किन्स जोएस।

पेग्गीले ६ वटा विवाह गरिन् भने ५० वटा इन्गेजमेन्ट गरेको दाबी गरिन्।

उनले पहिलो बिहे अर्बपति इभर्ट आर्कर जुनियरसँग सन् १९१० मा गरेकी थिइन्। आर्करले उनीसँगको वैवाहिक सम्बन्धचाहिँ नाबालिग भएका कारण छाड्न परेको थियो। पेगीको दोस्रो बिहे वकालत पेसामा रहेका शेरबर्न हप्किन्ससँग भयो। हप्किन्स अधिक धनाड्य वकिलका छोरा थिए। १९१३ मा गरेको बिहे चार बर्ष नपुगी पेग्गीले १९१७ मा त्याग गरिन्, करिअरको नाममा। त्यसबेला उनले अधिक सम्पत्ति हात पार्न सफल भइन्। मोडलिङ पेसामा रहेकी पेग्गीले सन् १९१९ मा सिकागोका धनाड्य जे स्टेनले भेटिन्।

पेग्गीले ति धनाड्यसँग ५० लाख डलर हात पारिन् र छाडिन्। त्यसपछि उनले पेरिसका प्लेब्लाई तथा बहुधनाड्य एउटा पत्रिकाका सञ्चालक हेनरी लेटेलाइरसँग सम्बन्ध स्थापित गरिन्।

त्यसपछि उनले बिहे नगरे पनि धेरै धनाड्य मानिससँग सम्बन्ध स्थापित गरिन्। एभरेल हेरिम्यान, ग्रिस र डेनमार्कका राजकुमार क्रिस्टोफरलगायत। उनको धेय नै सम्पत्ति आर्जन गर्नु अथवा सम्बन्ध स्थापित गरी पैसा लिनु थियो भन्ने विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमका अर्काइबमा उल्लेख छन्।

गोल्ड डिगरको उदाहरण पेग्गी मात्र होइनन्। धेरै नै छन्। यो एउटा शैली जस्तो स्थापित हुँदै पश्चिमा समाजबाट नेपाली समाजमा पनि प्रवेश गरेको त होइन? कतै यौन शोषणको अभियोग लगाउने, उजुरी गर्ने र सम्पत्ति साझेदारी वा निश्चित रकममा सम्झौता गरी फिर्ता लिने प्रकरणलाई के भन्ने?

यौन शोषण, हिंसा र गोल्ड डिगरबीचको भिन्नता बर्षौपछि पनि लगाइने अभियोग, हत्कण्डाको कसीमा सोचनिय बनाउने कि नबनाउने भन्ने प्रश्न खडा हुन्छ।

जब कानुनमा सहज प्वालहरू राखिन्छ त्यसले न्याय खोजीरहेकालाई सहयोग त गर्ला तर न्यायका नाममा आफ्ना स्वार्थका छिद्र खोज्नेहरूलाई कति सजिलो बनाइदियो भनेर सोच्ने कि नसोच्ने?

यसका लागि अरुको उदाहरण दिनु आवश्यक छैन, उपर्युक्त सन्दर्भमा पल शाह प्रकरणको अभियोगकर्ताको परिवार किन उजुरी फिर्ता लिन राजी भयो? महरा प्रकरणका ति महिला किन ब्याक हटिन्? गोल्ड डिगरको कसीमा यस्ता प्रकरणलाई व्याख्या गर्ने कि नगर्ने? बहस चलाउने कि नचलाउने?

मुलुकी संहिताको छिद्रले कतिपय सम्बन्धलाई यौन शोषणको कसीमा राखिदिएको छ। कानुनले स्थापित गरेको नजीरको विरुद्धमा वकालत गर्न मिल्दैन। तर, यहि कानुनी छिद्रले कतिपय ‘गोल्ड डिगर’लाई फाइदा गरेको छ। यसैको पासोमा कतिपयले जेलको रात काट्न पनि परेको हुन सक्छ। यो विषयबस्तुमाथि घोत्लिने कि नघोत्लिने?

हरेक क्षेत्रमा कतिपय यस्ता घटना गुमनाम राखिएका छन्। पात्र र प्रवित्तिको अन्तिम चरणमा कानुनी मार्गसम्म पुगेका छन्। ति नियतीले आएका हुन् या नियतले? पछिल्लो पटक एक मोडलिङ गर्ने युवती प्रकरणमा मनोज पाण्डे नामका व्यक्ति अहिले हिरासतमा छन्। ८ बर्षअघि को परिघटनाको मुख्य कारण के थियो? यसको आशय युवतीले न्याय हरण गर्नु होइन, कानुनले त्यो विषयलाई चिरफार गर्ला। तर, नेपथ्यका अन्य सहायक कारण र तथ्यको खोजी यस्ता घटनामा हुनु पर्छ कि पर्दैन? यो प्रश्नमाथि बहस गर्ने कि नगर्ने?

यौन शोषण, बलात्कारजस्ता जघन्य अपराधमा दोषीमाथि निर्मम कारबाही हुने कानुन बन्नुपर्छ। बलात्कारका परिघटना पीडितले व्यहोरेको अवस्थाले स्पष्ट नै पार्छ। यद्यपि, भड्किलो जीवनका लागि सतहमा आउने भिन्न भिन्न प्रकारका घटनाक्रमको सुक्ष्म अध्ययनपछि मात्र कुनै पनि मानिसमाथि टिप्पणी गर्नु उपयुक्त हुनेछ, भन्ने नै हो। सहर निर्मम छ, हामीले सुनेका पढेका पनि छौं कतिपय समयमा– सहमति भए सम्बन्ध, असहमति भए बलात्कार!

वास्तविक बलात्कारपीडितको न्याय खोसिनु हुन्न। तर, न्यायका नाममा भइरहेका अथवा भएका गोल्ड डिगर शैलीबारे पनि विचरण र विवेचना गर्नु न्यायीक समाजको दायित्व हुनैपर्छ।

प्रतिक्रिया
सम्बन्धित