शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उद्योग वाणिज्य महासंघ भन्छ– मुलुकभर करिब ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित बने

‘मानवीय सेवामा अनवरत रुपमा लागेका छौं’

दैनिक नेपाल २०७८ जेठ १८ गते १४:१२

काठमाडौं, जेठ १८ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कोरोना भाइरसको महामारीबाट मुलुकभरका करिब ७० प्रतिशत उद्योग व्यवसाय प्रभावित भएको बताएको छ ।

जारी बन्दाबन्दी र निशेधाज्ञाको प्रभाव र असरबारे महासंघले गरेको सातै प्रदेशका आफ्ना सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँगको सम्वादपछि यस्तो निष्कर्ष निकालेको हो । महासंघका अनुसार मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रदेशगतरूपमा हेर्दा प्रदेश १ मा ८२.७%, गण्डकी प्रदेशमा ७५%, बागमती प्रदेशमा ६९%, प्रदेश २ मा ६९%, लुम्बिनी प्रदेशमा ६४.५%, सुदूरपश्चिम प्रदेशमा ५७.७% र कर्णाली प्रदेशमा ४५.५% उद्योग व्यवसायमा असर देखिएको महासंघले बताएको छ ।

निषेधाज्ञाका कारण खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू बिहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन् ।

उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावनाअनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेका छन् ।

यसरी आफू र आफ्ना उद्योगहरू प्रभावित बनिरहँदा पनि नेपाल उद्योग वाणिज्य महासंघसहित यसको सिंगो सञ्जाल यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको छ । कोभिडको दोस्रो लहरको महामारीका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको लकडाउन र निशेधाज्ञा अहिले केही जिल्लाबाहेक सबैमा जारी छ ।

विद्यमान अवस्थामा कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायीहरू स्वयम् बढी प्रभावित बनिरहेका छन् । कतिपय उद्योगी व्यवसायीको कोभिडकै कारण ज्यान समेत गइसकेको छ । संक्रमित हुनेको संख्या पनि निकै ठूलो छ । तर, आफ्नो ज्यानको समेत परवाह नगरी अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको छ ।

दोस्रो लहरको कोभिड संक्रमणको विस्तार भएसँगै महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आम सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउँदै आफ्नो सिंगो सञ्जाललाई आआफ्नो क्षेत्र र आआफ्नो तहबाट सहयोगमा उत्रन अपिल समेत गरेको छ । सोही अनुसार महासंघको सञ्जाल यतिखेर परिचालित भइरहेको छ ।

उद्यमी व्यवसायीहरू कोभिड समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न अहोरात्र खटिरहेका छन् । आइसोलेसन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटरलगायत अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन् ।

त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, विरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको छ ।

महासंघले यस बीचमा संघहरूसँग गरिएको सम्पर्कका आधारमा प्राप्त विवरणलाई अध्ययन गर्दा करिब १०० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू यतिबेला कुनै न कुनै रूपमा मानवीय सहायता जोडिएको महासंघको भनाइ छ ।

महासंघका अनुसार हाल झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, ताप्लेजुङ, पांचथर, इलाम, मेची, दमक, उर्लावारी, इनरूवा, त्रियुगा, उदयपुर, संखुवासभा, धनकुटा, पाँचथर, सुनसरी, खोटाङ, ओखलढुंगा, भोजपुर, वर्दिवास, वारा र वीरगञ्ज उद्योग वाणिज्य संघले कोरोना रोकथाम, न्यूनीकरण र राहतका काममा सक्रिय छन् ।

त्यसैगरी सर्लाही, जनकपुरधाम जलेश्वर, लहान, जीतपुर सिमरा, महोत्तरी, सिराहा, रामनगर मिर्चैया, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, भक्तपुर, ललितपुर, काभ्रे, नेउवा काठमाडौं, चितवन, मकवानपुर, खैरहनी, मलंगवा, गौशाला, रत्ननगर, थाहानगर, सिन्धुली, धुलिखेल, पोखरा,स्याग्जा, वालिङ, पर्वत, बाग्लुङ, म्याग्दी, गैंडाकोट, नवलपुर, देवचुली, मुस्ताङ कपिलबस्तु, चन्द्रौटा, बर्दिया, गुलरिया, हुम्ला, तौलिहवा, तिलोत्तमा, लेखनाथ, गोरखा, तनहुँ, वुटवल, सिद्धार्थनगर, देउखुरी, नेपालगञ्ज, गुल्मी, कपिलवस्तु, दाङ, तुलसीपुर, प्यूठान, तौलीहवा, रोल्पा, पाल्पा, कोहलपुर, सुर्खेत, सल्यान, कालीकोट, जाजरकोट, जुम्ला, मुगु, रूकुम, कैलाली, कञ्चनपुर, टीकापुर, अत्तरिया, अछाम, बझाङ, वैतडी उद्योग वाणिज्य संघहरूले आ–आफ्ना कार्य क्षेत्रमा प्रत्यक्ष रूपमा मानवीय सहायता कार्यमा जोडिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित