मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

केराउ, छोहडा, मरिचको ओसारपसार र ढुवानीमा प्रतिबन्ध

दैनिक नेपाल २०७७ भदौ ९ गते ७:२९

मोहन पौडेल

परासी, ९ भदौ । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा केराउ,छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा पूर्ण प्रतिबन्ध लगाईएको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा पनि जिल्लामा वैद्य/अवैद्य रुपमा हरियो/सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकताभन्दा बढी भण्डार र अवैद्य रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाईरस सङ्क्रमणको जोखिम बढ्दै गएकोले आजदेखि उक्त वस्तुहरूको ओसारपसार तथा ढुवानीमा प्रतिवन्ध लगाईएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

अब अर्काे आदेश नभएसम्मका लागि केराउ, छोहडा, मरिच लगायत वस्तुको ओसारपसार र ढुवानी गर्न पाईने छैन् । निषेधाज्ञा तथा सीमा पूर्ण रुपमा बन्द हुँदा पनि नेपाल–भारत सीमा क्षेत्रमा अवैद्य चोरी तस्करीमा कमी आउन सकेको छैन् । अवैद्य रुपमा चोरी निकासी भईरहेको अवस्थामा नेपाल प्रहरीले जिल्लाका विभिन्न सीमा नाकाबाट दिनहुँजसो लाखौँको हरियो मटर बरामद गर्दै आएको छ ।

देशका विभिन्न नाकाबाट भन्सार गराएर यस्ता वस्तुहरु जिल्लाका विभिन्न स्थानमा रहेका गोदामघरमा आवश्यकता भन्दा अधिक मात्रामा भण्डारण गरी राख्ने तथा रातको समयमा लुकिछिपी भारततर्फ निकासी गराउने कार्य गर्दा शान्ति सुरक्षामा खलल पुग्नुका साथै कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलिन गई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको प्रजिअ पाठकले बताए ।

स्थानीय प्रशासन ऐनमा गरिएको व्यवस्था अनुसार अर्काे आदेश नभएसम्मका लागि त्यस्ता वस्तुहरूको ओसारपसार र ढुवानीमा पूर्ण रोक लगाइएको उनले बताए । उक्त आदेशको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले तत्काल पक्राउ गरी सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच, रातको नौ बजेपछि जिल्लामा हिँडडुल गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार अब रातिको नौ बजेपछि अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएका व्यक्तिहरूलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ । त्यसरी बस्न अटेरी गर्ने व्यक्तिहरुलाई निगरानी गरी कारवाही गरीने कार्यालयले जनाएको छ ।

स्वाव सङ्कलन गरिएका व्यक्तिहरू जथाभावि हिँडडुल गर्दा समुदायमा कोरोना सङ्क्रमण फैलिनुका साथै कन्ट्याक्ट ट्रेसिङ्मा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए । स्वास्थ्य कार्यालय वा स्थानीय तहबाट स्वाव सङ्कलन गरिएका व्यक्तिहरुको विवरण प्रकाशन हुनेछ ।

जिल्लामा पछिल्लो समय कोभिड १९ को सङ्क्रमण समुदाय स्तरमै फैलिएको छ । गाउँपालिका अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न निकायका कर्मचारी तथा सर्वसाधारण गरी जिल्लामा १८२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड १९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पश्चिम नवलपरासीमा साउन ३१ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित