आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

गोयन्काले दौडाए ‘मुर्झाएको यार्सागुम्बा’

दैनिक नेपाल २०७७ साउन ३२ गते ९:२२

काठमाडौं, ३२ साउन । सुनसरीको दुहवी पुख्र्यौली घर भएका बिक्की (विसु) गोयन्काले मुर्झाएको एउटा प्रडक्टलाई दौडाउन थालेका छन् । मुम्बई र काठमाडौं बारम्बार आउने जाने क्रम उनको चलिरहन्छ । सोही क्रममा देखेको एउटा बोतलको आकार, प्रकार र ट्यागले उनको ध्यान तान्यो, फलतः मुर्झिन लागेको ‘यार्सागुम्बा बेभरेज’ले संजिवनी पायो अनि बजारमा स्थान ओगट्न थालेको छ ।

उनी भारतको मुम्बई जाँदै थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट । उनको आँखा एउटा पसलमा अडियो । रक्सीको बोतलमा ध्यान गयो । बोतल नै सुन्दर देखेका उनलाई नाम झनै प्रिय लाग्यो– यार्सागुम्बा !

‘यार्सागुम्बा विश्वमा नै नेपालमा मात्र पाइने एक अनौठो र उपयोगी जडिबुटी मानिन्छ । त्यसैको नामको ब्रान्ड देखेपछि मेरो मन तानियो’, उनी सुनाउँछन्,‘जडिबुटीमा अनुसन्धान गरिरहेका कारण यस बेभरेजप्रति मेरो लगाब बढ्यो । दुई बोतल किनें र भारततिरको यात्रामा निस्किएँ ।’

एक दुई पेग लगाएका उनलाई लाग्यो– यसको स्वाद यो भन्दा गज्जब बनाउन सकिन्छ । यति मात्र होइन, यसलाई त विश्वभरी नेपालको पहिचान र व्यापारिक मार्ग पनि बनाउन सकिन्छ ।

सन् १९९७ मा एभरेष्ट हर्बस् प्रोसेसिङमार्फत यार्सागुम्बा वेभरेज व्यवसायी लक्ष्मण श्रेष्ठले चलाएका थिए । यो उतिसाह्रो दौडिने अवस्थाको थिएन । बजारमा त्यति धेरै चर्चित पनि थिएन ।सन् २०१४ सम्म विभिन्न कठिनाईका साथ उत्पादन भए पनि कम्पनी बन्द हुने अवस्थामा पुगिसकेको थियो ।

उनका साथी रुपेश अधिकारीमार्फत यो उत्पादन गर्ने कम्पनी र व्यक्तिको विषयमा गोयन्काले खोजीनीति गरे । ‘५ बोतल साथी रुपेशमार्फत झिकाएँ र यसका उत्पादक श्रेष्ठसँग पनि वार्तालापको वातावरण बन्यो’, गोयन्का भन्छन्,‘यसलाई अघि बढाउने शिलशिलामा कम्पनीमा मेरो साझेदारी भयो । साथमा गोविन्द अग्रवाल पनि जोडिनुभयो ।’

नेपाली बजार मात्र हैन, अन्तर्राष्ट्रिय बजारमा उत्पादनलाई लैजाने गोयन्काको सपना चानचुने थिएन । ९ बर्षदेखि बन्द कम्पनी र उत्पादनलाई पुनर्जागृत गराउने चुनौतिलाई उनले स्वीकार गरे । कम्पनीको लाइसेन्स खारेज नभएकाले नयाँ चरणको यात्रामा अध्यक्ष श्रेष्ठसहित उनी अघि बढे, अग्रवालको साथ ।

नयाँ र आकर्षक प्याकेजिङका साथ बजारमा उत्पादनलाई दौडाउन थालेका गोयन्का भन्छन्,‘यसलाई ओखतीका रुपमा वा रक्सीकै रुपमा पनि खाँदा औषधिकै काम हुन्छ । तर स्वाद लिने तरिकाचाहिँ निटबाटै सुरु गर्नुपर्छ ।’

यार्सागुम्बा पिउँदा पहिला आँखाले हेर्नु, नाकले गन्ध लिनु र सीप लिएर एक सटमा खाँदा मज्जार आनन्दको महशुस हुने गोयन्काको दाबी छ । ४० प्रतिशत अल्कोहल भए पनि पानी र आइसबिना नै यसको स्वादको चरम आनन्द थाहा हुन्छ ।

यार्सागुम्बा र विभिन्न जडिबुटीसहित हातले नै बनाएको वेभरेज भएको गोयन्काको दाबी छ । कोभिड–१९ र त्यसपछिको लकडाउनको बीचमा बजारमा आएको यार्सागुम्बालाई स्थापित बनाउन ६ महिनादेखि गोयन्काको मिहनेत बलियो छ ।

यस उत्पादनको ठूलो प्रयोग भइसकेको छैन । तर बजारको प्रतिक्रियाका निम्ति विविध व्यक्तित्व र रेष्टुरेन्टमा यार्सागुम्बालाई विस्तारै विस्तार गर्न थालिएको छ ।

नेपालमा विनोद चौधरी, उपेन्द्र महतो, गौरव अग्रवाललाई नेपालमा र भारतमा आदित्य पंचोली, अक्षयकुमार, सुुनिल सेठ्ठी र सलमान खानसम्मलाई यसको स्वाद चखाउने काम भइसकेको गोयन्का दाबी गर्छन् ।

‘यार्सागुम्बा जडिबुटीका रुपमा विख्यात छ । यसलाई मदिराका रुपमा मात्रै प्रयोग नगरेको राम्रो । यो त जडीबुटी नै हो’, उनको दाबी छ,‘नशा छ तर खराब नशा होइन, उपयोगको तरिकामा भर पर्छ ।’

२१ देखि ३० बर्षसम्मको ब्रान्डिङको विशेष फर्मूलामा गोयन्काले यो उत्पादनलाई विश्वव्यापी बनाउन लागि परेका छन् । त्यसैले पनि यसको नाम ‘यार्सागुम्बा वेभरेज’ भनिएको हो ।

बोतलमा रहेको लोगो कामासुत्र कन्सेप्टमा डिजाइन गरिएको छ । ‘यार्सागुम्बा’को झोलमात्र होइन बोतलसमेत डुप्लिकेट गर्न नसकिने गरि डिजाइन गरिएको छ ।

यसमा कलर, फ्लेवर, केमिकलको कुनै कम्बिनेशन नरहेको उनको दाबी छ । देवताहरुलाई मदमा पार्न सोमलताबाट निकालिने पेयपदार्थलाई सोमरस भनिन्थ्यो, ठ्याक्कै त्यहि अवधारणा यार्सागुम्बाका लागि प्रयोग गरिएको गोयन्काको दाबी छ ।

यार्सागुम्बा वेभरेज ७५० मिलिको दुई थरिमा बजारमा आउने गरेको छ । गोल्डेन साफिर ४० प्रतिशत अल्कोहलसहित र ब्लु साफिर २८.५ प्रतिशत अल्कोहलसहित छ । ब्लु साफिरको नेपाली बजार मूल्य ११ हजार र अन्तर्राष्ट्रिय बजार मुल्य २३९ अमेरिकी डलर तोकिएको छ । जापान, बेल्जियम, हङकङको कम्पनीहरुबाट पनि योग्यता मापन भइसकेको जानकारी दिएका उनी भन्छन्,‘जापान, कोरिया र रसियासम्म यार्सागुम्बा सानो स्केलमा पुगेको छ ।’

यार्सागुम्बा डोल्पा, मनाङ, रोल्पाबाट संकलन गरेर ल्याउने जानकारी दिएका उनी भन्छन्,‘७५० एमएलको बोतलमा ६ देखि ७ पिस यार्सागुम्बा मात्र जान्छ, अरु जडिबुटी पनि मिसाइन्छ ।’

यार्सागुम्बा जैविक गहुँको मदिरा हो, जुन यार्सागुम्बाको बेससँग मिसाइन्छ र विभिन्न अन्य जडिबुटिहरुका साथै ईएनए मिसाइन्छ जसले यसको भिन्नै चमक निकाल्ने उनले बताए ।

नुवाकोटको ककनीमा उद्योग रहेको यार्सागुम्बा अब बालाजु औद्योगिक क्षेत्रभित्र राखिनेछ । वर्षमा एक लाख बोतलमात्र उत्पादन गर्ने योजना रहेको छ । यसबाहेक, इनर्जी ड्रिंक, बियर, पानी, चियामा पनि यार्सागुम्बा ब्रान्डमा नै ल्याउने योजना बनाएको छ ।

यार्सागुम्बा परापूर्व कालमा पनि चिकित्सा अभ्यासहरुमा प्रयोग गरिन्थ्यो, तर पछिल्लो पटक यसलाई कामोत्तेजक गुणका लागि मात्र चर्चा गर्ने गरिन्छ । तर यो औषधिय गुणका लागि निक्कै उपयोगी रहेको विषयमा त्यति चर्चा छैन जसलाई गोयन्काले अन्तर्राष्ट्रिय बजारसम्म पुराउने लक्ष्यको बाटो समातिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित