शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

दैनिक नेपाल २०८१ वैशाख २३ गते ७:२९

पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिँदैहुनुहुन्छ ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोमबारसम्म विश्वासको मत लिइसक्नुपर्छ ।

मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदको हस्ताक्षर बुझाएर अधिकारी मुख्यमन्त्री बन्नुभएको थियो । तर कांग्रेसले भने सभामुखबाट राजीनामा नदिई सभामुखले मुख्यमन्त्री नियुक्तिको पक्षमा हस्ताक्षर गर्न नमिल्ने भन्दै अदालत पुगेको थियो । सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीको पक्षमा बहुमत रहे, नरहेको बारेमा प्रदेश सभामा परीक्षण हुन दिनुपर्ने भन्दै कांग्रेसको रिट खारेज गरिदिएको थियो ।

आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा ३१ सांसदको समर्थन जुटाए विश्वासको मत प्राप्त गर्नुहुनेछ ।

हाल गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद् छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अधिकारीसँगै विना विभागीय मन्त्रीको शपथ लिनुभएको थियो । अहिले चुमान अर्थमन्त्री बन्नुभएको छ भने मनाङेले भौतिकको जिम्मेवारी पाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित