बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

नेपाल प्रहरीका आईजी ज्ञवालीको कार्यकाल ‘अमिलो’ हुनुको कारण

दैनिक नेपाल २०७७ जेठ २४ गते ९:१६

काठमाडौं, २४ जेठ । सरकारले नेपाल प्रहरीका प्रमुखका लागि विशेष निर्णय नगरेको खण्डमा ठ्याक्क एक महिनापछि हालका महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीले नयाँ आईजीलाई स्वागत गर्दै जिम्मेवारीबाट विदा लिनेछन् ।

गएको फागुनदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका ज्ञवालीले सानो समयमा प्रभावकारी काम गर्ने लक्ष्य राखेका थिए । तर चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारी नेपालमा यसरी छिर्छ भन्ने परिकल्पना गरिएको थिएन । उनले जिम्मेवारी लिँदा महामारी युरोप र अमेरिकामा मात्र प्रवेश गरेको थियो ।

‘पाँच महिनाको कार्यकालमा कति स्मरण योग्य काम गर्ने भन्ने विषयमा आईजीले केही रणनीति बनाउनुभएको थियो तर त्यो रणनीतिलाई कार्यान्वयनको अवस्थामा लैजानका लागि अनुकुल समय बन्न सकेन’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो,‘प्रतिकूलताका समयमा नै आईजीले कोभिड–१९ नियन्त्रणका लागि जनशक्ति खटाउँदै, प्रहरीमा थाँती रहेका प्रशासनिक काममा जोड दिनुपर्ने भयो ।’

त्यसो त, कोभिड–१९ को प्रभाव नेपालमा पनि व्याप्त हुन थालेपछि पुरै सरकार नै त्यसको नियन्त्रण र रोकथाममा लागेपछि ठूलो प्रहरी जनशक्तिलाई केन्द्रित गराउनुपर्ने बाध्यतामा आईजी ज्ञवाली परेकै हुन् । फलतः उनले चाहेका, सोचेका र उद्देश्यमा राखेका कतिपय काममा प्रभावकारी प्रहरी जनशक्तिको परिचालन गर्न पाएनन् । यसले पनि कार्यकालको अवधि सकिने बेलासम्म आईजीको जिम्मेवारी सम्हालेका समयमा गरिएको लक्षित काममा केन्द्रित हुने मौका पाएनन् ।

नेपाल प्रहरीले नयाँ नेतृत्व पाउँदा उनको काँधमा थाँती रहेको निर्मला पन्त बलात्कार र हत्या प्रकरणको सफल छानबिनलगायतका चर्चित काम थिए । त्यसमा सक्रिय हुने उनले घोषणा समेत गरेका थिए ।

‘यी सबै काममा केन्द्रित हुने र एउटा परिणाम दिने लयमा नै आईजी अगाडि बढ्नु भएको थियो तर देशै कोरोना भाइरसको रोकथाम, लक डाउनको कार्यान्वयनमा लाग्नुपर्ने भएपछि अन्य विषय गौण भए’, उच्च स्रोतले भन्यो,‘सरकारको सबै शक्ति र निर्देशनअनुसार प्रहरी कर्मचारीलाई पनि सोही लयमा परिचालन गर्नुपर्ने भयो ।’

तैपनि संगठनमा चलायमान हुनुपर्ने काममा भने उनको सक्रियतामा कुनै ‘ब्रेक’ लागेन । कोरोना र लक डाउनका बीचमा नै रिक्त रहेका प्रहरी अतिरिक्त महानिरिक्षकको बढुवा र जिम्मेवारी, रोकिएको डिआईजी, एसएसपी, एसपी, डिएसपी र इन्स्पेक्टर बढुवाका कामलाई आईजी ज्ञवालीले अगाडि बढाए ।

‘संगठनमा रहेका रिक्त पदमा बढुवा र पदपूर्ती गर्नुपर्ने अनिवार्यता हुन्छ । कतिपय हुन नसकेका बढुवालाई निरन्तरता दिएर संगठनलाई गतिमा लैजाने काममा आईजीको सक्रियता रह्यो’, स्रोतले भन्यो ।

७५ हजार जनशक्ति रहेको संगठनलाई नै अन्य गतिविधि र थाँती रहेका अपराध अनुसन्धानका काममा लगाउन नपाउँदा सोचेजस्तो काम गर्न नसक्नु कार्यकालको ‘अमिलो’ अनुभव आईजी ज्ञवालीसँग रहे पनि संगठनको गतिलाई नरोक्दा सन्तोष मान्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित