सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

जसपा विभाजनविरुद्ध उपेन्द्र यादव अदालत जाने, कार्यकारिणी समिति बैठक बस्दै

दैनिक नेपाल २०८१ वैशाख २६ गते ७:४७

काठमाडौं, २६ वैशाख । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जानुहुनेभएको छ । त्यसबारे छलफल र निर्णय गर्न आज बुधबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र त्यसपछि अदालत जाने तयारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरिएको छ । ‘आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ, बैठकपछि पत्रकार सम्मेलनमा राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले आफ्ना कुरा त्यहीबाट राख्छौँ । तर हामी अदालत जाने तयारीमा छौँ ।’

उहाँका अनुसार बिहान बैठक बस्ने र साढे ११ बजेपछि पत्रकार सम्मेलनबाट धारणा सार्वजनिक गर्ने कार्यक्रम छ ।

पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा सात जना सांसदहरुले नयाँ पार्टी स्थापना गरेका छन् । उनीहरुको निवेदनउपर कारबाही गर्दै निर्वाचन आयोगले सोमबार नै पार्टी दर्ताको निर्णय गरिसकेको छ । तर यादव पक्षले भने संसद्को वर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै विभाजन षड्यन्त्रपूर्ण तरिकाले गराइएको आरोप लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित