३० आश्विन २०८३, शुक्रबार

विश्वको बैचारिक नेतृत्व गर्नु पत्रकारहरूको कर्तब्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्ली अम्माई (अनाथ अंकल)

कलम भनेको एउटा त्यस्तो हतियार हो जसको सदुपयोग गर्न सकियो भने साना देखि ठुलाठुला न्यायपूर्ण लडाईहरु पनि जित्न सकिन्छ। कलमको प्रयोगको सम्बन्ध समय सापेक्ष , परिबेशजन्य,कानुनी, राजनैतिक परिदृश्य, कलागाम्भ्य,दार्शनिक बिचारहरुको उत्खनन तथा उपयुक्त अधिरचनाभित्रका उपयोगीताहरुसँग अभिन्न रुपले जोडिएर आउँछ।

कलम वर्ग सापेक्ष, सामाज वा समुदाय सापेक्ष,प्रचलित कानुन सापेक्ष, अन्तराष्ट्रिय प्रचलनका आधार/अधिरचना सापेक्ष र बहुमत सापेक्ष हुँदै आएको सर्बबिदितै छ। बर्तमान राज्याधारहरुले निर्माण गरेका मान्यताका बिरुद्ध गरिने पत्रकारिता, लेखन वा साहित्यिक धारलाई बिद्रोही वा कानुन विरोधीको निहुँमा संसारभरी दमन गरिदै आएको छ। आलोचनात्मक हुनु तर आधार र अधिरचनाको बिरुद्ध विकल्प खोज्न नपाउनुले लेखनमा चलिआएको प्रचलित मान्यता स्वतन्त्र,निष्पक्ष र भुइँ मान्छेहरुका सुचनाको न्यायपूर्ण प्रस्तुति भन्ने कुरासँग मेल खाँदैन । बिद्रोही लेखक वा पत्रकारहरुले सबै लादिएका आचारहरुलाई मान्नु पर्ने भन्ने कहीं कतै छैन। स्थापित आधारमा बनेका अधिरचनाहरु सापेक्ष मान्यता अर्को आधारमा बनेका मान्यतासंग मेल नखान सक्छन। त्यसैले लेखकीय धारमा जस्तै पत्रकारितामा पनि सर्बमान्य निरपेक्ष मान्यताहरु छैनन्। वा स्थापित मान्यताहरु लादिएका छन् भने तिनीहरुलाई समुदायको आवाज सापेक्षरापमा मात्र मान्न सकिन्छ।

हामीले अघिल्लो सामाजिक अधिरचनामा स्थापित भएका केहि कथित सर्बमान्य मान्यताबारे यसरि मनन गर्न सक्छौँ। दास युगको अघि पछि स्थापित सामान्ती ब्याबस्थाको आधारको अधिरचना र त्यससँग सम्बन्धित राजनैतिक कानुनी श्रेष्ठताको पृष्ठपोषण गर्ने हेतुले पनि कलम खुबै चले। भक्ति गाथामा लेखिएका थुप्रै पौराणिक ग्रन्थहरु त्यसका ज्वलन्त उदाहरणहरु हुन्। त्यो बेला केहि सार्बभौम मूल्यहरुको स्थापना गरिएको थियो। धार्मिक त्रासको आडमा शासकहरुद्वारा त्यो गराइएको थियो। हरेक कालका बिद्रोही चेत, प्रगतिशील गतिशीलताको चाहलाई रोक्न बनाइने यी सर्बोच्च मूल्यहरुको पुरानो नमुना मनुस्मृति पनि हो। अझै पनि न्यून रुपमा समयको प्रबाहलाई रोक्ने चाहनाले कहिलेकाँही केहि मसि खर्च भैरहेको देखिन्छ। अहिलेको बिस्व ब्याबस्थाको एक स्वरुप पुँजीबादले आफ्नो आधारको बचावमा बेग्लै अधिरचनाको निर्माण गरेको छ। साथै त्यसको आधारलाई दिर्घजीबी बनाउनको लागि विश्वमा धेरै लेखक, पत्रकार,दार्शनिक, विचारक र मनोबिश्लेशकहरुको ब्याबस्था गरेको छ। त्यस्तै अर्को आधारको ध्रुविकरणलाई रोक्न आधुनिक सामाजबादी आधारको अधिरचानालाई आन्तरिक रुपबाट सवाल बनाउदै साहित्य सृजना, दर्शनको व्याख्या र राजनैतिक संस्कृति निर्माणको लागि समेत धेरै लेखकहरुले मसि बगाएका छन्।

सामान्यतया भन्ने गरिन्छ कि साहित्य,भाषा, सुचना वा पत्रकारिता स्वतन्त्रताका बिम्ब भएकोले त्यसमा राजनीतिको लेश देखिनु हुँदैन। वा यी बिषयमा राजनैतिक तटस्थता अनिबार्य हुन्छ। तर यी तर्कहरु सामान्यतया अत्यान्त हाँस्यास्पद र अनुपयुक्त छन्।

भाषा, साहित्य र सुचना प्रोपागाण्डा(पत्रकारिता )अधिरचनाबाट आधारभुतरुपले भिन्न कुरा हुन् वा सहायक बिबाद छ । उदाहरणको लागि नेपालमा भएका विभिन्न क्रान्ति ,आन्दोलन र परिबर्तनपछिका अबस्थाहरुलाई लिन सकिन्छ। पुरानो सामान्ती राजतन्त्र समाप्त भएको छ र अर्को पुँजीबादी आधार सहितको नयाँ अधिरचना निर्माण हुँदै गैरहेको छ। अर्का हिसाबले भन्दा सामान्ती अधिरचनाको ध्वस्त र रुपमा मिश्रित तर सारमा कार्पोरेटिक दलाल पुँजीबादका नयाँ मान्यताहरुको निर्माण हुँदै गैरहेको छ। फलस्वरूप पुरानो राजतन्त्रात्मनक ब्याबस्थाले स्थापित गरेका आधारहरुको स्थानलाई गणतन्त्रात्मक मान्यताहरुले बिस्थापित गरिसकेको छ। यति हुँदाहुँदै पनि हाम्रो भाषा र पत्रकारिताका सैद्धान्तिक पक्षहरुले गुणात्मकरुपले नयाँ अधिरचनाको सेवामा समर्पित हुन सकिरहेको छैन। यसो हुनुको एउटा कारण भाषाको रुपान्तरण हुने चरित्र दीर्घकालिक हुनु र राजनैतिक संक्रमण चरणमा रहिरहेको अबस्थाले पनि हो ।

अब कुरो आउँछ कि शासकीय अधिरचनासंगै कानुनि मूल्य मान्यताहरु फेरीइ सकेपछि हाम्रा भाषागत र लेखनका आधारहरु किन अकस्मात फेरिन सकेका छैनन् ? यहि परिप्रेक्षमा भन्नु पर्दा के भन्न सकिन्छ भने हरेक मात्राहरु गुणमा परिवर्तन हुन निकै समय लाग्छ। भाषा, लेखन वा अधिरचानाका अन्य क्षेत्रहरुको हरेक परिवर्तनले मात्रात्मक प्रभाव पार्दै सुधारकै प्रतिनिधित्व गरेको हुन्छ। तर तत्काल महसुस गर्न सकिन्न। भाषा, साहित्य वा पत्रकारिताको क्षेत्र अधिरचना (Superstructure)का आधारभित्र मूल्य मान्यताको नाममा निकै लामो समयसम्म अल्झिरहेको हुन्छ। यी देखिने गरि अकस्मात परिबर्तन हुने बिषय पनि हैनन्।

गत ०६२/६३ सालको दोश्रो जनाअन्दोलनले राजतन्त्र मिल्क्याए पछि नेपाली शब्दकोषमा केहि नयाँ शब्दहरुले प्रवेश पाए। जस्तोकि ‘नयाँ नेपाल,मिश्रित अर्थतंत्र,स्वतन्त्र पत्रकारिता, वाक स्वतन्त्रता, दलाल, नोकरशाही तथा सुधारवादी पुँजीबाद, ग्लोबल समाज, गैह्र आबासिय नेपाली , नेपाली डायस्पोरा, संघिय गणतन्त्र, समाबेशी लोकतन्त्र,उत्पीडन,वर्ग घृणा,जातिय स्वायत्तता,आत्मनिर्णयको अधिकार, जनयुद्ध, जनविद्रोह ,गुरिल्ला,जन सरकार सांस्कृतिक रुपान्तरण आदि। यी भाषाका अधिरचनाभित्रबाट हालसालै प्रयोगमा आएका केहि उदाहरण हुन्। हाम्रो भाषाको अधिरचनाभित्र यी शब्दहरुको थपौतिको आधार परिबर्तित नयाँ राजनैतिक परिदृश्य नै हो।

हरेक देशको परिवर्तनलाई संस्थागत गर्ने आधार भनेको मुख्यरुपले त्यो देशको राज्य प्रणाली नै हो। नयाँ राजनैतिक प्रणालीका हरेक अबयवहरुलाई अग्रगामी दिशा दिन,समय र गतिका बिबिध दिशाहरुलाई विषयान्तर नगरीकन क्रमश र अविछिन्नरुपमा सम्बन्ध स्थापित गर्दै भाषा ,साहित्य, पत्रकारिता वा सांस्कृतिक कर्मिहरुको कर्मले मिहिन रुपले हेर्योभने आधारको नै सेवा गरिरहेको छर्लंग देखिन्छ । र पत्रकारिता पनि चलिरहेको राज्य प्रणालीले स्थापित गर्दै लगेका मान्यताहरुभित्र स्वनियमन गर्दै आँफुलाई गतिशील बनाउँछ। त्यसैले पत्रकारितालाई तात्कालिक अधिरचनाको एक भाग नै मान्नु पर्दछ।

स्वतन्त्र पत्रकारिता , भाषा, साहित्य वा कानुन, आधारसँग यी कहिल्यै निरपेक्ष हुन सक्दैनन्। राज्यको कानुन र पत्रकारिता त झन् तटस्थ हुनै सक्दैन। पत्रकारिता अधिरचना र आधारको एक अंग हो। यो कदापि आँफैमा सम्पूर्ण हैन। यसले कसैको सेवा गरिरहेको हुन्छ। त्यो मालिकको नाम हो अधिरचनाको आधार अर्थात राज्य प्रणाली र त्यसले स्थापना गरेका मूल्य मान्यता। ति सवालमा अधिकार मौन हुन्छ र स्वनियमन हाबी हुन्छ। दुबैको सन्तुलन बिग्रे पत्रकार, लेखक वा कर्मीको दुर्घटना हुन सक्छ। स्वतन्त्र पत्रकारिता,सामाजिक मूल्य मान्यता भन्दा तल बस्दछन। पत्रकारिताले कुनै बिशाल अधिरचनाको एक अंगको रुपमा काम गरिरहेको हुन्छ वा गर्न बाध्य बनाइन्छ। त्यसमा राजनैतिक प्रणालीबारेको दार्शनिक प्रभाबले बाँचिरहेको मानब चेतना सुन्य बिन्दुमा बस्छ भन्नु महाँझुट हो।

लेखकीय विधाहरुमा स्वतन्त्र लेखकीय शैली र पत्रकारिताको गफ गर्नेहरुले बुझ्दा हुन्छकि प्रणाली सापेक्ष सुचनाको गतिलाई सम्मोहन गर्दै मुख्य रुपमा समुदायको राजनैतिक प्रणालीलाई दिशा निर्देश गर्ने कार्य सम्पादकको हो। पत्रकारिता समुच्च राजनैतिक आधारको सम्बाहन र सम्मोहन कर्म हो। तर त्यसको अर्थ यसले खालि आधारलाई मात्र प्रतिबिम्बित गर्दछ भन्ने चाहिँ हैन। पत्रकारिताले आधारको यात्रामा जनताको भाग्य र अधिकार प्रणालीको चरित्रप्रति सक्रिय,आलोचनात्मक र सम्बेगात्मक उत्खनन गरिरहन्छ। यो प्रणाली अन्तरगतको सक्रिय शक्ति पनि हो र त्यसले आधारलाई रुपान्तरण गर्न र सुदृढ पार्न सक्रिय सहयोग गर्छ। यसको साथै पुराना आधार तथा अबशेसहरु निर्मुल पार्न आधार(प्रणाली)लाई हरदम सहयोग पनि गर्दछ।

अहिलेसम्म पत्रकारिताको सुचना इमान्दारिता र समुदाय प्रतिको जिम्मेवारीलाई छोडेर अन्य कुरामा नत सम्पादकीय स्वतन्त्र हुन्छ अथवा लेख। राष्ट्रियतामा खलल, साम्प्रदायिकता, राज्य विप्लब वा सम्प्रभुताको कुरामा सुचना खुलाउन कुनैपनि आधारमा बनेका अधिरचानाले अनुमति दिदैंन। पत्रकारितामा सम्प्रभुता अविचलित मान्नु, राष्ट्रियता अविछिन्न मान्नु, राज्यको प्रणालीलाई दिर्घायु मान्नु र अधिकारका कुरामा संबिधानका बाधाहरुलाई स्वनियमनले किचिदिनु सापेक्ष पत्रकारिताका बाध्यता हुन्। त्यसैले पत्रकारिता कुनै अधिरचना भित्रको मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । तर यो कति ब्यसबसायिक हो त ? भन्ने कुरामा कानुन व्यवसायीले गर्ने वकालतजस्तो पत्रकारिता व्यवसाय होइन । उद्योगी व्यवसायीले गरेजस्तो उद्योग व्यवसाय पनि होइन । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता मात्र हो, भनिन्छ । तर केहि मुलभुत कुराहरुमा आचार संहिता र स्वनियमन गर्नु पर्ने बैधानिक कानुनि बाध्यता छ। साहित्यमा पनि अबस्था झण्डै उस्तै छ।

पत्रकारितालाई राजनैतिक आधार परिबर्तनको साधन मान्दा 

बिशेष अबस्थामा पत्रकारिताले एक कुनै अधिरचनाभित्रका आधारहरुलाई चुनौती दिन्छ। जनयुद्धकालमा कृष्ण शेन इच्छुकहरुले बिद्रोहकोलागी पत्रकारिता गरे। बिपरित आधार भत्काउनको लागि लेखे। त्रासले गर्दा पुरानो राज्यले उनलाई मारिदियो। यो अबस्था राष्ट्रिय स्वतन्त्रताको युद्ध, पुँजीबादी दासता वा सामान्तबादी दासताको बिरुद्धका तमाम क्रान्तिहरुमा देखियो।

‘म अझै विश्वस्त छु कि यदि तपाइँको चाहना संसार परिवर्तन गर्नेछ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो’ – भन्ने विश्वविख्यात बेलायती नाटककार टोम स्टोपार्डको भनाइले प्रष्ट पारेको छ। उपरोक्त भनाइले अन्यायको बिरुद्ध, सामाजिक कुरुतिका बिरुद्ध संसार बदल्ने हतियारको रुपमा पत्रकारिता र त्यसको कुशल सिपाहीको रुपमा हामी पत्रकारलाई अथ्र्याएको छ । त्यसैले पत्रकारितालाई सामाजिक कुरुतिहरुको व्याख्या गर्ने, घटना बताउने र बर्तमान सामाजिक तस्विर जस्ताको तस्तै देखाउने भन्दापनि त्यसलाई यथास्थितिबाट बदल्नने साधन बनाउनु आजको आबस्यकता हो।

स्वतन्त्र पत्रकारिताबारेको बुझाई 

पत्रकारिता निश्चय नै पेशा हो व्यवसाय होइन । पत्रकार महासंघले आबद्ध सदस्यहरुलाई आचार संहिताबारे निम्नानुशार ब्याबस्था गरेको छ। जस्तै,पत्रकारले सुचनाको हक सम्बन्धमा आचारसंहिताको परिधिमा आफूलाई अडिग र इमान्दार राख्न सक्नुपर्छ । आफ्नो राजनीतिक आस्था पत्रकारिता गर्दा लेखाइ, बोलाइ वा अन्य व्यवहारमार्फत छचल्किन वा प्रतिविम्बित हुनु भएन । राजनीतिक संगठनका आडमा पत्रकारिताका सीमाहरुलाई उल्लंघन गर्नु भएन । पत्रकारितालाई राजनीतिको भर्याङ चढ्ने साधनको रुपमा प्रयोग गर्नु भएन । हामीकहाँ धेरै सिद्धहस्त लेखक वा पत्रकारहरु छन, जसले समाचारमा समेत राजनीतिक राग ओकल्छन् । तर पत्रकारलाई कुनै राजनीतिक दलको मौन समर्थन गर्न र गोप्य मतदानमा भाग लिन मात्रै छुट हुन्छ । तर हामीकहा पत्रकारितालाई राजनीतिक आस्थासँग जोडेर स्वतन्त्र कित्तामा उभ्याउन खोजिएको छ ।

यस्तै पछिल्लो समयमा थुप्रै आचारसंहिता उलंघनका घटना सार्वजनिक भएका पनि छन्। सकृय राजनीतिमा रहेका संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का मुख्यसचिव शम्भु झाले पनि सप्तरी शाखाबाटै पत्रकारहरुको निर्वाचनमा मतदान गरेका छन् । झा यसअघि नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्ष र केन्द्रीय सदस्य थिए । यस्तै राजपा नेपालका केन्द्रीय सदस्य अमरनाथ मण्डलले पनि सप्तरी शाखाबाटै नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा मतदान गरेका छन् । एमाले नेता सुखराम यादवले पनि पत्रकारहरुको निर्वाचनमा मतदान गरेका छन् । यादव स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका लागि चुनाव लडी पराजित भएका थिए । मण्डल र यादव धेरै पहिलादेखि नै सप्तरी शाखाको सदस्य रही राजनीतिक पार्टीमा लागेर राजनीति पनि गर्दै आएका छन् । यस्ता उदाहरणहरु नेपालमा मात्र नभएर संसारमा बग्रेल्ती छन। निरपेक्ष स्वतन्त्र पत्रकारिताका पक्षधरहरुले भन्ने गरेको स्वतन्त्र सुचनाको हकलाई नोक्सान पुर्याउने हदमा उपरोक्त कुरा गलत होलान। तर अधिरचनाको सापेक्षताबाट हेर्ने हो भने नेपालको परिप्रेक्षमा त्यो प्रवृति पुरानै आधार सेवाको निरन्तरता हो ।

निष्पक्षता को कुरो के हो ?

निष्पक्षता भन्नु कुनै वा कसैको समर्थन वा विरोधमा नरहनु हो । पीडक वा पीडित कुनै पनि पक्षको वकालत नगर्नु हो । घटना जे जस्तो छ र जसरी भएको छ, त्यसलाई जस्ताको त्यस्तै सञ्चार माध्यमबाट प्रस्तुत गर्नु हो । उक्त घटनाबारे समाचार सामग्रीमै पत्रकार/सञ्चारकर्मीले आफ्ना मत वा धारणा नदिनु हो ।तर ब्याबहारत यसमा विरोधाभास देखिन्छ। त्यो पक्षबारे पत्रकारहरुको ध्यान खासै पुगेको देखिन्न। पत्रकार/सम्पादक/सञ्चारकर्मी आफैँमा अमूर्त र निर्विवेकी वस्तु होइन । ऊ यही समाजको अंग हो, उत्पादन हो । ऊसँग सामाजिक चेतना हुन्छ, मानवीय संवेदना हुन्छ, उसका व्यक्तिगत विचार र दर्शन हुन्छन् । सत्य र असत्य छुट्याउने/विश्लेषण गर्ने खुबी हुन्छ ।

यसर्थ एउटा सञ्चारकर्मी/सम्पादक/पत्रकार कहिल्यै पनि निष्पक्ष रहन सक्दैन । घटना वा विषयको पक्ष वा विपक्षमा घोषित/अघोषित रूपमा ऊ रहेकै हुन्छ । हरेकजसो मिडिया (विशेषगरी छापा र अनलाइन)मा पत्रकार/सम्पादकले कुनै तात्कालिक विषय वा सन्दर्भमा लेख वा सम्पादकीय मार्फत् आफ्ना विचार र दृष्टिकोण दिइरहेका हुन्छन्। समाज सुधार वा परिबर्तनको लागि लेखिएका लेख र सम्पादकीय सुचना समाचार भन्दा फरक कुरा हुन् ।

ती लेख र सम्पादकीय पत्रकार वा सम्पादकले नै लेख्ने हुन् । त्यसमा उनीहरूले समाचारमा जस्तो ‘निष्पक्षता’ देखाउन जरुरी छैन । बिचार परिबर्तनका लागि हुनु पर्छ भने समाचार सुचनाको लागि मात्र हुन् , बुझ्नु पर्ने कुरा यहि हो। तर अगाडी नै भनि सकियोकी सुचना समेत सापेक्ष(कुनै देखाउनु पर्ने र लुकाउनु पर्ने ) हुन्छन । बित्तिय पुँजीबादले अन्तराष्ट्रिय अधिरचनाको सेवाको लागि, आधारको रक्षाका लागि कर्पोरेटिक पत्रकारिताका सबै सीमाहरुको सम्मान गर्न जरुरि छैन। त्यसमा निर्णय लिने आँफैले हो।

अन्त्यमा पत्रकार,लेखक, साहित्यकार वा दार्शनिकले आँफुलाई ठोस रुपमा लिन र सुदृढ पार्न सक्रिय बन्नु,पुरानो आधिरचना सहित मरणोन्मुख आधारको उन्मुलनको निम्ति जोखिम मोल्दै कलमलाई सक्रिय बनाउनु असल कर्म हुन आउँछ। हामीले बुझ्नु पर्ने कुरा होकी आधारले आँफ्नो लागि अधिरचनाको सृजना गरेको हो । हामी आधार भन्दा कोशौं पछाडी रहने कोशिस गर्दछौं भने दुर्घटनामा पर्ने खतरा बढी रहन्छ। अगाडी छलाङ्ग मार्न पनि मात्रात्मक परिबर्तनको जोडलाई जाँचेर पारख गर्नुपर्ने हुन्छ। सहि लेखकीय सिप,सन्तुलन, विश्लेषणको कुरा यहींनेर आँउछ ।

यदी आधिरचानाका अंगहरुले आधारको सहायक भूमिका निभाउन छाडे भने,यदि अधिरचानाले आफ्नो आधारका प्रत्येक जोर्नीहरुलाई कस्न छोडे भने अधिरचनाको स्वरुपले अर्को प्रणालीको माग गरिरहेको हुन्छ वा अर्को प्रणालीगत विप्लबको। त्यतिबेला सहि सुचना र दिशा निर्देशको महत्वपुर्ण भूमिका हुन्छ। अग्रगामी परिबर्तनको लागि कलमले आघिल्लो आधारको सेवा छोड्छ र रुपान्तरणकोलागि जोखिमपूर्ण भूमिका खेल्छ।त्यतिबेला कलम,आस्थामा रुपान्तरित हुन्छ र समाजको नेतृत्व गर्न थाल्दछ। बर्गीय सत्ताको सुपर स्टक्चर भित्रको पुँजीबादी गणतन्त्र एक आधार हो। यसको अन्त पनि यसभित्रकै आन्तरिक कारणहरुले गर्दा हुन्छ। तिनै कारणहरुको समिष्टिलाई पहिचान गरि देश वा विश्वको बैचारिक नेतृत्व गर्नु पत्रकार,लेखक वा साहित्यकारहरुको कर्तब्य हो।