शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नाकमा सिगान बग्दैमा वा रुघा, खाेकी लाग्दैमा डराउनु पर्दैनः वरिष्ठ चिकित्सक डा. पुन

दैनिक नेपाल २०७६ चैत ७ गते १०:४४

काठमाडौं, ७ चैत । वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनले अहिलेसम्म उपचारमा आएका धेरै जसो व्यक्तिमा मनोवैज्ञानिक त्रास देखिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग शुक्रबार बिहान कुरा गर्दै डा.पुनले कोरोना भाइरसको संक्रमणको आशंकामा उपचार गराउन आएका व्यक्तिहरूलाई काउन्सिलिङ दिएपछि उपचारनै गर्नु नपर्ने अवस्था पनि आएको बताए । उनले अहिले नेपालमा यसको संक्रमण नदेखिए पनि अन्तिमसम्म सर्तक भएर बस्नुपर्ने बताए ।

डा. पुनले नाकमा सिगान बग्दैमा वा घाँटी खसखस गर्दैमा कोरोना भाइरसको संक्रमण नहुने बताए । ‘अहिले रुघा, खोकीको समय भएकाले सामान्य रुघाखोकी लाग्दैमा उपचारका लागि अस्पताल आउनुपर्दैन’, उनले भने ।

डा.पुनले सबै मिलेर कोरोना भाइरस संक्रमणको सामना गर्नुपर्ने बताए । ‘हामी सबै मिलेर यो भाइरसको सामना गर्नुपर्छ । सजगता अपनाउनुपर्छ’, उनले भने, ‘नेपाल अन्तिम संक्रमक राष्ट्र बन्न सक्ने खतरा पनि छ ।’

डा.पुनले बाहिरी सम्पर्कमा जाँदा एक मिटरको दुरी बनाउनेदेखि हातलाई पटक पटक धुने जस्ता कार्य गर्न सुझाव दिएका छन् । उनले सकेसम्म घर बाहिर नजाने गइहाले उच्च सर्तकता अपनाएर मात्रै जान आग्रह गरेका छन् ।

‘मनोविज्ञानले गर्दा मानिसलाई बढी प्रभाव पारेको छ । चिन्ता लिने र रातभरि नसुत्ने जस्ता काम भइरहेका छन्’, उनले भने, ‘यसले मानिसलाई थप बिरामी बनाउँछ । यो संक्रमण हुँदैमा मान्छे मर्दैन । यसका पनि स्टेपहरू हुन्छन् । कति स्टेपमा पुगेको बिरामीलाई कस्तो उपचार गर्ने भन्ने विधिहरू हुन्छन् ।’

‘सामान्य रुघा, खोकी, ज्वरो आउँदैमा आत्तिनुपर्दैन’, डा.पुनले भने, ‘रुघा, खोकी र ज्वरोले च्याप्दै गयो भने मात्रै उपचारका लागि जानुपर्छ ।’

उनले धेरैले ल्याव टेस्टप्रति शंका गर्ने गरेको बताए । ‘यो विश्वकै विशेष प्रविधि भएकाले ल्याव टेस्टको विषयमा शंका गर्न आवस्यक छैन’, डा.पुनले भनेका छन् ।

सबै प्रकारका रोग ल्याब टेस्टबाटै पत्तालाग्ने र यो विशेष प्रविधिलाई चलाउन नेपालमा पनि धेरै विशेषज्ञ भएको भन्दै डा.पुनले जोखिम भएपनि विदेशमा संक्रमण हुने तर, नेपालमा किन भएन भनेर सोच्नुपर्ने अवस्था नभएको बताए ।

डा. पुनले भने, ‘यो सामान्य प्रविधि हैन । त्यसकारण प्रविधिलाई विश्साव गरौँ । नेपालमा अहिलेसम्म संक्रमण छैन ।’

‘टेकु अस्पतालले कुनै पनि बिरामीलाई भेदभाव गरेको छैन् । अरु अस्पतालले खुलाएर पठाएका बिरामीको उपचार र काउन्सिलिङ राम्रोसंग भइरहेको छ’, उनले भने, ‘टेकुमा उपचार भएन भन्ने कुरा गलत हो । हामीले दिने परामर्श र उपचारमा आएजतिमा संक्रमण नभेटिएकै हो ।’

‘संक्रमण भटियो भनेपनि एक सयमा १५ प्रतिशत मात्रै अस्पतालमा भर्ना हुनुपर्छ’, उनले भने, ‘त्यसमा पनि ५ प्रतिशत मात्रै बेडमा जाने हो ।’

प्रतिक्रिया
सम्बन्धित