शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रहित विपरित छैन भने अमेरिकन सहयोग लिनुपर्छः रोमी गौचन (अन्तर्वार्ता)

रोमी गौचन थकाली, नेता, नेपाली कांग्रेस २०७६ माघ ५ गते ५:५८

पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रोमी गौचन थकाली पार्टीभित्र अध्ययनशील नेताका रुपमा चिनिन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिलाई नजिकबाट नियाल्दै आएका गौचनले नेपाली कांग्रेसभित्र देखिएको विवादबाट आफू दिक्क भएको बताउँछन् । उनले पार्टीलाई विधि र विधानबाट चलाउनुपर्ने आफ्नो धारणालाई जोडदार रुपमा उठाउँदै आएका छन् । यसै विषयमा हाम्रा सहकर्मी विमल याेगीले पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीसँग गरिएको कुराकानीको सम्पादित अंश –

नेपाली कांग्रेसमा विवाद छ । नेताहरू आ–आफ्नै तालमा छन् । यो विवाद कसरी समाधान होला ?

कांग्रेसको अहिले देखिएको विवाद समाधान गर्ने भनेको नेपाली कांग्रेसको विधानमा उल्लेखित भएका र व्यवस्था भएका नियम, उपनियम, धारा, उपधारालाई संस्थागत गर्दै लैजाने । नेपाली कांग्रेसको स्थापनाकालदेखि नै रहेको परम्परा, संस्कार, संस्कृति त्यसलाई अक्षुण राख्दै अहिलेको २१औँ शताब्दीमा व्यक्ति र पदलाई भन्दा पनि राजनीतिक मूल्य र मान्यता नेपाली कांग्रेसको संघर्षका गाथाहरूलाई स्मरण गर्दै नेपालमा अहिले विद्यमान भएको लोकतान्त्रिककरणको अभ्यासमा छौँ । बिगत केही महिनादेखि सत्तारुढ दलबाट संवैधानिक मूल्य र मान्यताहरूलाई एकपछि अर्को उल्लंघन गर्ने प्रयास भएको सन्दर्भलाई बुझेर बिधानलाई टेकेर, विधानमा उल्लेखित नभएका कुराहरू छन् भने व्यवहारमा उतार्नुपर्ने कुराहरू आमसहमति र विशेष गरेर नेतृत्ववर्गहरूको एकआपसको छलफल र समझदारीबाट एउटा निकास दिएर अगाडि बढ्नु नै अहिले देखिएका केही मतभेदहरू समाधान गर्ने उपायहरू हुन् ।

नेपाली कांग्रेसमा सैद्धान्तिकभन्दा पनि व्यक्तिवादी स्वार्थ हाबी भएका कारण समस्या भएको भन्ने आरोप छ । त्यस्तै होला र ?

केही हदसम्म पनि त्यसलाई मान्न सकिन्छ । सैद्धान्तिक मतभेद हो भने नेपाली कांग्रेसले अहिले अंगिकार गरेका र ०७२ को नेपालको संविधान जारी भइसकेपछि उल्लेखित भइसकेका कुराहरूमा संवैधानिक बहसहरू भएको पाइँदैन । यदाकदा, कहिँले काहिँ अनौपचारिक फोरममा र गत महासमिति बैठकमा एउटा धर्मसम्बन्धी विषयलाई लिएर चर्चा परिचर्चा भयो भन्ने सुने । त्यतिखेर म बिरामी थिएँ । यद्यपि, त्यो विषयमा चर्चा गर्न पाइने भएपनि नेपाली कांग्रेसले टुंग्याइसकेका विषयहरू हुन् ।

सैद्धान्तिक मतभेदहरू छन् भन्ने कुरामा स्वीकार गर्ने त मैले आजसम्म देख्दिन । त्यो कोणबाट हेर्ने हो भने अहिलेका जे जति घटनाहरू देख्छु व्यक्तिको महत्वकांक्षा, आडम्बर, घमण्ड, व्यक्तिगत स्वार्थमा पहिलो कुरा मुलुक कहाँ रहन्छ ? प्रजातन्त्रको अवस्था के रहन्छ ? नेपाली कांग्रेसले संविधान कार्यान्वयन गर्ने पक्षमा कांग्रेसको अहम् भूमिका रहन्छ भन्नुभन्दा पनि आगामी महाधिवेशनबाट आफ्नो पद कसरी जमाउने अथवा कसरी जोगाउने अथवा प्राप्त गर्ने भन्नेतिर बढी केन्द्रित भएको हो कि भनेर आम कार्यकर्ता र नेपालीले त्यसरी बुझेको छन् भन्ने लाग्छ । यो चिर्न चाहिँ नेतृत्व वर्गलाई जरुरी छ । यी कुराको छिनोफानो गरेर प्रष्ट्याउनुपर्ने नेतृत्व वर्गले नै हो ।

नयाँ संरचना र संविधानअनुसार पहिला नेपाली कांग्रेसको विधान थिएन । अहिलेसम्म संघीयतालाई कांग्रेसले आत्मसात गरेर किन जान सकेन ?

नेपाली कांग्रेस संघीयतामा गएको छैन भन्ने कुरामा म मान्दिन । यद्यपि ती प्रक्रियाहरू ढिला भएका हुन् । नेपालमा भरखर संघीयता लागू भएको छ । गणतन्त्रात्मक पुनःसंरचना भएर आउँदा, एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा छलाङ्गमार्दा त्यहाँ केही खाडलहरू रहन्छन् । तर, जसरी नेपाली कांग्रेसको नेतृत्वमा भएको सरकार । सुशील कोइरालाको नेतृत्वमा भएको सरकारको त्यसको प्रयासमा नेपाली कांग्रेसकै क्षमता र नेपाली कांग्रेसकै क्रियाशीलता र कुटनीतिक प्रभावका कारण सबै दलहरूलाई तत्कालीन संविधान सभा ०६४ ले संविधान बनाउन असफल भइसकेपछि ०७० मा गठन भएको संविधान सभाबाट प्राप्त संविधान हो ।

मैले बारम्बार भन्ने गरेको छु । सबै नेपालीको लागि यो संविधान प्रिय र अदरणीय हुनुपर्छ । त्यसमाथि पनि यो संविधान विभिन्न कालखण्डका कारणले अरु दलहरू घिस्रिएर आएको भए पनि यो संविधानको मूल दाता र मूल स्रोत भनेको नै नेपाली कांग्रेस संसदीय फाँटमा विश्वास गर्ने पार्टी भएको हुनाले यसको ईमान्दारी कार्यान्वयन र यसको सफलतासँग नेपाली कांग्रेस जोडिएको छ । म लगायत नेपाली कांग्रेसको नेतृत्व जसरी क्रियाशील हुनुपर्ने हो, जति चनाखो र सुदृढ भएर संगठनात्मक हिसाबले जानुपर्ने हो अन्यथा मान्नु हुँदैन, आ–आफ्नो हिसाबले मसहितको नेतृत्व चुकेका छौँ ।

नेपाली कांग्रेसको विधानले नयाँ आएको छ । तर, संघीय स्वरुपअनुसार प्रदेश कार्यसमिति त बन्न सकेन नि ? किन होला । सभापतिले विधान मिचेका कारण हो ?

मेरो जिल्ला मुस्ताङको कुरा गर्ने हो भने एउटा जिल्लामा प्रदेश निर्वाचन क्षेत्र दुई वटा छन् । प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको कार्यसमिति गठन भइसकेको छ । गण्डकी प्रदेशस्तरको गठन हुन बाँकी छ । हिमाली जिल्लाहरूमा अहिले हिउँ र वर्षातको कारणले मान्छेहरू गाउँमा छैनन् । नेपाली कांग्रेसको विगत केही महिनादेखि चलिरहेको बहसलाई आधार मानेर भन्ने हो भने यसमा मुख्य कारण सभापति शेरबहादुर देउवा, त्यसपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहित हामी सम्पूर्ण नेपाली कांग्रेसजनहरू जसलाई हामीले ३५–४० वर्ष कांग्रेसको राजनीतिमा जीवन विताइसक्यौँ, हाम्रो पनि आफ्नो भूमिका र जिम्मेवारी रहन्छ ।

कांग्रेसको विधानले महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र विभागहरू गठन गरिसक्नुपर्छ भन्छ । छ महिनाभित्र फरक मत राख्नेहरूको कारणले निर्वाचित सभापतिले विभाग गठन गर्न कठिनाइ भएको थियो भने हिँजो जसरी गर्नुभएको थियो, बहुमतको आधारमा गर्नुभएको भए सायद मैले बहुमतलाई मैले मान्नुपर्ने हुन्थ्यो । गम्भीर प्रश्न कहाँ रह्यो भने चार वर्ष कुरी सकेपछि अब एकप्रकारले हामी अन्तरिमकालमा छौँ । फागुन महिनादेखि जिल्लादेखि सम्पूर्ण युनिटहरू भनेको म्याद थपिएको अवस्था हो । चुनाव गर्ने अवस्थाहरू हामीसँग थियो । स्थानीय चुनाव भइसकेको थियो । संघीय चुनाव भइसकेको थियो । हामीलाई शंका गर्नु स्वभाविक हुन्छ । हामीले ढिलाइ गर्‍यौँ ।

चनाखो हुन सकेनौँ । त्यस कारण चार वर्षपछि विभागहरू बढाएर यसरी गर्न आवश्यक्ता पर्‍यो थियो र ? भन्ने प्रश्न चाहिँ असहमत राख्ने पक्षले ल्याएर आएको छ यसलाई पनि अन्यथा लिनु हुँदैन । सभापतिजीले राम्रो मनसायका साथ गर्ने कुरामा निर्वाचित सभापतिको हात काटेर संगठन बलियो हुन्छ भन्ने कुरा मैले मान्दैन । छ महिनादेखि वर्षदिनसम्म केही पनि नहुने । चार वर्षपछि आएर एकाएक यो गठन गर्ने र वार्ता चलेकै अवस्थामा असहमत पक्ष र संस्थापन पक्षको वीचमा वार्ता चलिरहेको थियो । मेरो बुझाइ सहि हो भने करिव एउटा टुंगो लाग्ने अवस्थामा अपर्झट निर्णय गरियो भन्ने असहमत पक्षको भनाइ छ । त्यो हो भने दुर्भाग्यपूर्ण कुरा हो । अब २–४ दिन पर्खेर के नै बिग्रन्थ्यो र ? जे हुनु भइसक्यो ।

अब यसलाई विषयवस्तु बनाएर अगाडि बढ्दा हामी कहिँ पनि पुग्न सक्दैनौँ । सबैको चिन्ता महाधिवेशन होस् भन्ने छ । महाधिवेशन सम्पन्न गर्न र नेपाली कांग्रेसभित्र स्वच्छ र स्वतः स्फुर्त प्रतिस्पर्धा कांग्रेसहरूका वीचमा, कांग्रेसको विचार राख्नेहरूको वीचमा कसरी गराउन सकिन्छ ? भन्ने कुरा हो । विधानका निलम्बन भएका धाराहरू छन् यसलाई क्लियर बनाउने । महाधिवेशनको मितिलाई असन्तुष्ट समूहले भनेअनुसार गर्न सकिन्छ अथवा सभापतिले ल्याएअनुसार मान्न सकिन्छ । सभापतिले भनेको कुरालाई सकारात्मक रुपमा लिने ।

असहमत पक्षको जायज कुरा मागलाई सम्बोधन गरियो भने मिल्छ । यो ठूलो कुरा होइन । विमतीहरू हुन्छन् । तर, वार्ता चल्दा चल्दै एक पक्षीय निर्णय भयो भन्ने छ । त्यो नेपाली कांग्रेसको संस्कारभित्र पर्दैन । समय र परिस्थितिअनसार बहुदलीय आधारमा पनि निर्णय भएका छन् । अस्ती वार्ता करिव सकारात्मक रुपमा अगाडि बढेका बेला केही दिन कुरिदिएको भ झन् राम्रो हुन्थ्यो कि ? भन्ने कुरा हो । म त पार्टीलाई एक ढिल्लका बनाएर लैजानुपर्छ । बैचारिक, सांगठनिक र नेतृत्वको हिसाबले भन्ने राजनीतिक विद्यार्थी भएको हुनाले मलाई वीपी कोइरालाको पालादेखि नेपाली कांग्रेसमा देखेकाले यसलाई सच्याउनुपर्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीमा हाबी हुनुभयो । निरंकुश हुनुभयो भन्ने तपाईको बुझाई हो ?

होइन । सभापति हाबी नभएर को हाबी हुन त ? पार्टी संगठनमा जब निर्वाचित सभापति हाबी हुँदैन भने को हाबी हुने ? प्रतिस्पर्धा हुन्छ । मेरो मुस्ताङमा पनि हुन्छ । म ४२ वर्ष भयो कांग्रेसमा लागेको । सभापतिले जुन पद्धति अपनाएर निर्णय गर्नुभयो त्यो गलत हो ।

नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने । पार्टीको विधानअनुसार बहुमतका आधारमा निर्णय गर्दा त्यो गर्न पाइँदैन भन्न खोज्नु भएको हो ?

दुबै पक्षले वार्ता टोली किन गठन गरेको ? जब वार्ता समितिमा सभापतिको तर्फबाट विमलेन्द्र निधि र वरिष्ठ नेताको तर्फबाट प्रकाशमान सिंहले वार्ता गरेका थिए । वार्ता भएर वार्ताबाट सहमति नभए पनि यो दुबैको उपस्थितिमा, शेरबहादुर र रामचन्द्रजीको उपस्थितिमा असहमत हुनेले नोटअफ डिसेन्ट लेखे हुन्थ्यो । म धेरै पर्खिन सक्दैन । हामी बहुमतबाट निर्णय गर्छौं । साथीहरूले आफ्नो असहमतको नोटअफ डिसेन्ट लेख्न सभापतिजीले भन्दा के बिग्रन्थ्यो ।

मैले आपत्ति जनाएको कहाँनेर हो भने यदि वार्ता सकारात्मक ढंगले पछिल्ला दिनहरूमा आइरहेको स्थितिमा वार्ताको निचोढमा आउन दुबै एउटा वरिष्ठ नेता र जो भनिएको छ पक्ष विपक्ष, शेरबहादुरकै वीचमा, दुबै वार्ता टोलीले अब हामीले नसक्ने भयौँ, सभापति र वरिष्ठ नेताले जे गरे गर्नुस् भनेको अवस्थामा एउटा कुरा भयो । वार्ता समिति गठन गर्ने अनि वार्ता समितिले प्रतिवेदन बुझाउनु पर्ने कि नपर्ने ?

केन्द्रमा ६०–४० को भागबण्डा खोजेर झगडा गरेको कुरा गाउँका कार्यकर्तालाई मन परेको छैन भन्छन् नि ?

६०–४० को भागबण्डा कसलाई मन परेको छ र ? मलाई मन पर्दैन । ६०–४० को भागबण्डा गलत कुरा हो । केही साथीहरूका लागि संक्रमणकालीन अवस्थामा राखिएको अवस्था थियो । शेरबहादुर देउवाले नेपाली कांग्रेस फुटाएर लैजानुभयो र कांग्रे प्रजातान्त्रिक भएर पार्टी गठन गर्नुभयो २–४ वर्ष त्यो अस्तीत्वमा रह्यो । पछि पार्टी एकीकरण गर्दा संक्रमणकालीन अवस्था, जब शेरबहादुर देउवाजीले नेतृत्व गर्नुभएको नेपाली कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेस एकीकरण हुँदा महाधिवेशन नहुने समयसम्म ६०–४० को प्रावधान राखियो ।

महाधिवेशन भयो । सुशील कोइराला निर्वाचित हुनुभयो । यो प्रावधान त्यतिखेर समाप्त हुनुपर्ने हो । त्यहिँ समाप्त गरिएन । दुर्भाग्य त त्यही नै छ । त्यो एउटा संस्कारको रुपमा बानी बसाल्दै आए । आज मैले गलत संस्कार राखे भने भोलिका दिनमा तपाईले पनि त्यही प्रस्ताव राख्नु हुन्छ । त्यो शुरुवात हिजो पार्टीको एकीकरणको महाधिवेशनपछि पनि तत्कालनी शेरबहादुर दाईले नेतृत्व गर्नुभएको समूहले ६०–४० को भाग खोज्नुभयो । १२औँ महाधिवेशनपछि त्यो समाप्त भएर जानुपर्ने थियो । समाप्त हुन सकेन ।

१३औँ महाधिवेशनबाट शेरबहादुरजीले सभापति जित्नुभएको तत्कालीन अवस्थामा संस्थापन पक्षमा रहेका कार्यकर्ता र महाविधेशन प्रतिनिधिले भोट हालेर उहाँले जित्नु भएको हो । उहाँले के प्रतिवद्धता गर्नुभएको थियो भने म यो ६०–४० को व्यवस्था मेटाएर जान्छु, सबैलाई बराबरी देख्छु, बिगतका तिक्तता मेटाउनुपर्छ भनेपछि यता हिजोका संस्थापन पक्ष अर्थात रामचन्द्र–कोइराला पक्षहरूको पनि असंख्य मान्छेहरूले भोट हालिदिएकै कारण उहाँले जित्नुभयो । तत्कालै उहाँले मेटाउनु पर्ने थियो । उहाँले मेटाउने प्रयास किन गर्न सक्नुभएन ? त्यसै बेला मैले ६०–४० को कुरा गर्नु हुँदैन भनेको थिएँ ।

रामचन्द्र–कोइरालालाई भेट्दा मैले बारम्बार भन्ने कुरा यही नै हो । तपाईहरू बस्नुस् कुन कांग्रेसको क्षमता र कुन कांग्रेसको योगदान तपाईहरूलाई कण्ठै छ । एउटा प्रस्ताव बनाउनुस् । योगदान, क्षमताको आधारमा छ भने शेरबहादुरको ८० प्रतिशत भएर के भो ? रामचन्द्रको पछि लाग्ने ८० प्रतिशत भएर के भयो ? निष्पक्षताले २–३ जना नेता बसेर सहमति गर्नुस् भनेर हामीले सुझाव दिएकै हो । हाम्रो सुझाव नमान्ने । साच्चै भन्ने हो भने ६०–४० गाउँघरमा मन पराएका छैनन् । हामीले पनि मन पराएका छैनौँ । व्यक्तिगत रुपमा म त्यो पक्षको होइन ।

तपाई मन्त्री, सांसद भइसकेको नेता । यो कम्युनिस्ट सरकारले गरेका कामहरू राम्रा छन् ? ठीक छन् ?

यो सरकारले गरेका काम राम्रा भएको भए सबैले साथ दिने थिए । कसैले साथ दिएका छैनन् । संसदमा दुईतिहाइ, बाहिर यत्तिको कमजोर सरकार भएको तपाईले पहिला कहिले देख्नुभयो ? यो सरकार किन कमजोर भयो त ? राम्रा काम नगरेकै कारण कमजोर भयो ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले राम्रो काम गरेको छु भन्नु हुन्छ । सरकारको राम्रो कामको समाचार लेख्न पत्रकारका हातखुट्टा काम्ने गरेको भन्नुभएको छ । तपाई राजनीतिक पूर्वाग्रही भएर हेर्नु हुँदो रहेछ ?

जब पत्रकारलाई म स्वयंले पनि मैले भनेको कुरा सहि हो, मैले गरेको कुरालाई तैँले किन राम्रो भनेर लेखिनस् मैले भन्न खोजे, मेरो आग्रह र दवावमा परेर हात काम्न थाल्यो भने, स्वतन्त्र न्यायपालिका प्रभावमा पर्न खोज्यो भने, यो संविधान रहन्छ भनेर कसैले कल्पना नगरे हुन्छ ।

यो कम्युनिस्ट सरकारले राम्रो काम गरेको छैन भन्ने तपाईको भनाइ छ ?

राम्रो काम गर्ने प्रयास प्रधानमन्त्रीजीले गर्नुभएको होला । आफ्नो प्रधानमन्त्रीलाई धेरै अविश्वास नगरौँ । म पार्टीमा मिलेन भनेर हरेक कुरामा आरोप लगाउने पर्छ भन्ने कुरा स्कुलअफ थर्टमा म छैन । तर, जनतालाई उहाँले चुनावका बेला जे भन्नुभएको थियो, विशेष गरी उहाँले राजनीतिक स्टन्ट गरेर आम नेपालीमा राष्ट्रवादको नारा, यद्यपि राष्ट्रवादको आफ्नो आफ्नो नारा छन् मेरा राष्ट्रवाद भनेको विशेष गरेर छिमेकीहरूसँग राम्रो सम्बन्ध राखेर नेपालीहरूको हित गर्नुलाई राष्ट्रवाद भन्छौँ । उहाँले प्रयास गरेन भन्नुपर्दा पनि यो सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको सत्य कुरा हो । जनताको आवश्यक्ता पूरा गर्न सकेन । यो कुरा त अहिलेको स्थानीय तहको निर्वाचनले पनि संकेत गरेको छ ।

अमेरिकाले नेपाललाई सहयोग दिने भनेको छ । त्यसलाई लिने र नलिनेमा भन्नेमा मतभेद देखिएको छ । नेपाली कांग्रेसले त्यो सहयोग लिनुपर्छ भनेको छ । त्यो सहयोग लिनुपर्छ कि पर्दै ?

त्यसमा आ–आफ्नो ब्याख्या होला । कसैले चीनको सहयोग लियो भने अराष्ट्रिय भन्ला । नेपालमा मैले एउटा यस्तो मानसिकता देख्छु भारत, अमेरिका, युरोपियन युनियन वा स्वतन्त्र महत्व भएका देशहरूबाट लिने र उनीहरूसँग सहकार्य गरे सहयोग लिने चाहिँ देशको दलाल । उत्तरमा चीनबाट लिने चाहिँ राष्ट्रवादी । दक्षिणमा भारतबाट प्रजातन्त्रवादी भन्ने सोँचाइ नै गलत छ । त्यो सहयोगको विधेयक अध्ययन गर्न बाँकी छ । म ऋणभन्दा अनुदान लिनुपर्छ भन्ने मान्छे हो । ऋणले बोझ बनाउँछ । चीन, भारत वा नेपालको कुनै पनि मित्रराष्ट्रले होस् विना स्वार्थ दिन्छन् भने लिनुपर्छ । ऋणभन्दा अनुदान लिनुपर्छ । यही विषयलाई लिएर मिडियावाजी भएको छ त्यो रोम्रो होइन । अरु मुलुकले पनि हामीलाई सहयोग गर्न हिच्किचाउँछन् । एमसीसीमा भएको भएको बहस ठीक कुरा होइन ।

नेपालको सुरक्षा वा नेपालको सार्वभौमलाई आँच आउने गरेर कुनै प्रावधान छैन भने ऋण लिनुभन्दा अनुदान लिन ठीक । अमेरिका र चीनको के रिलेशन छ ?

अमेरिका र भारतको के सम्बन्ध छ ? भन्नुभन्दा पनि नेपाललाई के गर्दा फाइदा हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । पञ्चशीलको आधारमा असंलग्न परराष्ट्रनीति हाम्रो कुटनीतिक चातुर्यता र क्षमता देखाएर सबैको सहयोग लिएर गर्ने हो । मिलेनियम च्यालेञ्ज सहयोग (एसीसी) अहिले आएको छ । त्यसमा ईण्डोप्यासिफिक जोडेर हेरेको छ । बिमस्टेक छ । चाइना फोरम पनि छ ।

गत निर्वाचनपछि नेपालमा चीनले राजनीतिक हस्तक्षेप गरेको भन्छन् । चीनले हस्तक्षेप गर्न थालेको हो ?

त्यसमा आ–आफ्नो विश्लेषण हुन सक्छ । दुबै देश भारत र चीनसँग बराबरीको सम्बन्ध राख्नुपर्छ । एउटा विषयमा मेरो गम्भीर चासो छ । प्रधानमन्त्री केपी ओली र चीनको विदेश मन्त्रीको समउपस्थितिमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वीचमा जुन सम्झौता (एमओयु) भयो त्यो नेपाल र चीनको मैत्री सम्बन्ध अर्थात वीपी कोइरालासँग सन् १९६१ मा गरेको सम्बन्धको बुँदाको उल्लंघन भयो भन्ने मेरो भनाइ छ । सबै नेपाली चीनको मित्र हुनुपर्छ । चीनका सबै जनता नेपालीको मित्र हुनुपर्छ ।

सबै नेपाली भारतको मित्र हुनुपर्छ । सबै भारतीय नेपालको मित्र हुनुपर्छ । विश्व नेपालक मित्र हुन् । नेपाल विश्वको मित्र हुनुपर्छ भन्ने मान्यता राख्छु । चीनको कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को त्यो पनि सरकारको प्रमुखहरूको एउटा विदेश मन्त्री एउटा नेपालको प्रधानमन्त्रीको रोहबरमा भएको एमओयु कहिँ नेपालको राजनीतिक हस्तक्षेप भएको त होइन ? भन्ने कुरामा मलाई पनि जिज्ञासा छ । चीनका साथीहरूसँग मेरो भेट हुँदा यो कुरा भन्छु ।

पछिल्ला दिनहरू चीनलाई नेपाली भू–भाग चिनियाँ सुरक्षासँग सम्वेदनशील छ भने म पनि पटक पटक राजनीतिक नेतृत्वमा बसेको मान्छे हुँ । कहाँनेर चीनको सुरक्षामा चिनियाँ पक्षलाई नेपालबाट कमी भयो त ? चीनले यो विषयमा नेपाललाई प्रष्ट रुपमा भन्नुपर्छ । नेपाल चीनको सुरक्षासँग यदि नेपालबाट सम्बेदनशीलता भयो भने हामी चनाखो पनि हुनुपर्छ । तर, चीनले पनि के बुझ्नुपर्छ भने नेपालको संविधान र चीनको संविधान फरक हो । नेपालको संविधानले संघ संस्थाहरू खोल्न छुट गरेको छ । स्वतन्त्रता दिएको छ ।

त्यस अर्थ चीनमा चीन सरकारबाट नियन्त्रित गैह्रसरकारी संस्था होलान् । यहाँ नागरिकबाट सञ्चालन हुने गैह्रसरकारी संस्थाहरू पनि छन् । ती गैह्रसरकारी संस्थाहरू चीनको गतिविधि र सुरक्षासँग आँच आउने गरेको छ भने नेपाललाई भन्दा हुन्छ । नेपाल सरकारले त्यसलाई नियन्त्रण गर्न सक्षम छ । त्यस कारण अहिले जनु कुरा सुनुवाईमा आएको छ चीनले बढी नेपालको आन्तरिक राजनीतिक, भौगोलिक परिस्थितिलाई आवश्यक्ताभन्दा धेरै चासो दियो भने चीनको लागि हितकर हुँदैन । भारतले पनि आवश्यक्ताभन्दा धेरै चासो राख्यो भने पनि हितकर हुँदैन । उहाँहरूले नेपाललाई स्थिरता गर्नलाई नेपालमा राजनीतिक प्रणाली कस्तो हुन्छ भन्ने कुरा अमेरिका, भारत र चीनले बिर्सनुपर्छ ।

नेपाल के सहयोग गर्दा नेपालीले सुःख र विकास हुन्छ त्यसतर्फ जानुपर्छ । मैले सुनेको नेपालमा चीन विरोधी गतिविधि बढ्यो त्यस कारणले चीनको चासो बढेको भन्ने सुन्छ । त्यस आधारमा चीनले आफ्नो भूमिकालाई विस्तार गर्न खोजेको हो भने अथवा भारतले गर्न खोजेको हो भने अर्कोले त्यसलाई हस्तक्षेप गर्न नेपाल प्रवेश गर्न खोज्छ । चीनले विस्तार गर्न खोजे अरु कोही आउला । नेपालमा स्थिरता खोज्ने, नेपालमा राजनीतिक हस्तक्षेप गर्न खोजियो भने नेपालमा अस्थिरताको कारक त्यही हुन्छ । कुनैपनि मुलुकले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्नु हुँदैन । पञ्चशीलको आधारमा सम्बन्ध राख्नुपर्छ ।

नेपालमा चीन हाबी भयो । चीनका कारण भारत नेपालबाट पछाडि हट्यो भन्न खोज्नुभएको हो ?

त्यो कुरा होइन । मैले कदापि त्यो भन्न खोजेको होइन । तपाईले गलत अर्थ नलगाइदिनुस् । मैले भन्न खोजेको तपाईले जे प्रश्न राख्नुभयो यदि चीन अस्वभाविक रुपमा चासो लिएर प्रवेश गरेको हो भने त्यसले चीनको हित गर्दैन । त्यस्तै भारतले अस्वभाविक चासो राखेर नेपालमा हस्तक्षेप गर्न खोज्यो भने अरु कसैले वा नेपाली नै प्रतिरोध गर्छ नि । नेपालको भाग्य निर्धारण गर्न नेपालीहरू नै सक्षम छन् ।

आजको अवस्थामा नेपालीले विशेष गरेर दुइटा छिमेकीको सहयोग लिन बढी जरुरी हुन्छ । सांस्कृतिक, धार्मिक, भाषिक, भौगोलिकलगायत हरेक हिसाबले भारत धेरै नजिक छ । चीन हामीसँग जोडिएको सीमाना हो । यो धरातलमा उभिएर विश्वव्यापी भूमण्डलीकरण सञ्चारको माध्यम, सामाजिक सञ्जालले सम्पूर्ण ब्रम्हाण्डमा एउटै परिवार हो भनेको अवस्थामा अलग भएर बस्ने प्रयास नेपालले गर्नु हुँदैन । नेपाललाई त्यसरी दुबै छिमेकी मुलुकले हेर्नु हुँदैन ।

नेकपाका नेताहरूका अनुसार चीनलाई प्रभाव पार्न अमेरिकनहरू नेपालमा आएर बसेर गतिविधि गर्न चाहन्छन् भन्छन् । तपाईलाई त्यस्तो लाग्छ ?

कम्युनिस्ट विचारधाराले चीनको कम्युनिस्ट पार्टी र नेपालको कम्युनिस्ट पार्टी एउटै हो, एउटै भएर जानुपर्छ, सहकार्य गरेर नेपालमा कम्युनिस्ट शासन लाद्नुपर्छ भन्ने हिसाबले भनेको हो भने मलाई केही भन्नु छैन । होइन भने म प्रजातन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ । सधैँ चीन नेपालको असल मित्र हो भन्ने मान्छे पनि हुँ । नेपाललाई अमेरिकाले सहयोग गर्न खोज्दा रोक्ने हो भने अर्को कुरा पनि त आउन सक्छ नि ।

बीआरआईमा साथ दिनुपर्छ भन्ने तर अमेरिकाले दिएको सहयोग राष्ट्रघाती भन्ने नेकपाका नेताहरूको भनाइ दोहोरो चरित्र हो ?

नेकपाको कुरा नेकपालाई सोध्नुस् । बीआरआई म मन्त्री भएको मन्त्रिपरिषदबाट अनुमोदित भएको हो । म समेतको क्याबिनेटबाट भएको निर्णय हो । हामीले चीनको प्रभाव बढाउन खोजेको भनेर कहिल्यै भनेनौँ । यो नेपाललाई आवश्यक्ता छ भनेर क्याबिनेटबाट निर्णय भयो । हामीले कहिल्यै पनि चीनलाई दोष दिएनौँ । अब मिलेनियम च्यालेञ्ज भन्नुस् वा भारतीय फण्ड भनौँ अर्को छिमेकी भारत हो ।

भारतको कुनै साधु मुक्तिनाथ वा दामोदर कुण्ड साधु भ्रमण गयो जासुस गर्न गयो भन्ने । अथवा चीनको एउटा प्रविधि, यहाँ विभिन्न ठेक्कापट्टा लिएको छ । चीनको इन्जिनियर तराई गएर ठेक्कापट्टामा संलग्न भएको वा परामर्श गर्न गयो भने भारतविरुद्ध जासुस गर्न गएको भनेर त्यो परिभाषा गर्ने हो भने त नेपाल अन्तर्राष्ट्रिय क्रिडास्थल हुन्छ ।

नेपाली कांग्रेसको सम्बन्ध भारत र चीनसँग कस्तो सम्बन्ध छ ?

मैले बुझेको कांग्रेस हो भने दुबै देशसँग हाम्रो विश्वस्नीय, गतिशील, एकआपसमा हस्तक्षेप नगर्ने नीतिमा चलेको हुनुपर्ने हो । नेताको मनभित्र पस्न सकिदैन । नेपाली कांग्रेस राणाकालदेखि सत्तामा हुँदा होस् वा सत्ताभन्दा बाहिर हुँदा होस् या सरकार वा संघर्षमा हुँदा होस् नेपाली कांग्रेसले के गर्छ र नेपाली कांग्रेसले के निर्णय गर्छ भनेर विश्वले हेरेको हुन्छ । नेकपाको झण्डै दुईतिहाइको सरकार छ । जनताले कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन सकेको छैन भनेको छ । त्यसको अर्थ सत्तामा नेकपा छ ।

प्राविधिक रुपमा एउटा लहर आयो । राष्ट्रिय मूलधार त कांग्रेसले के गर्छ भन्ने हो नि । भारत र चीनसँग नेपाली कांग्रेसको सम्बन्ध विश्वसनीय राखेर अगाडि बढ्ने हो । भारतसँग धेरै कारणले नेपालको भरपर्नुपर्ने आवश्यक्ता र बाध्यता छ । यो यथार्तता हो । यसको अर्थ चीन महत्वपूर्ण छैन भनेको होइन । चीन अत्यन्त महत्वपूर्ण छिमेकी हो । चीन विश्वको उदयीमान राष्ट्र हो । चीनलाई विश्वास गर्न सकिएन भने नेपालले विकास गर्न सक्दैन । सत्ताका लागि चीन वा भारत कार्ड खेल्नु हुँदैन ।

नेपाली कांग्रेसले पार्टीको तर्फबाट औपचारिक रुपमा भारत र चीनमा आफ्नो प्रतिनिधि पठाएर किन सम्बाद नगरेको होला ?

कहिले काहिँ दाल वा चामल पुगेन भने छिमेकीसँग माग्ने गरिन्छ । छिमेकीमा औपचारिका हुँदैन । चीन र भारतसँग औपचारिक भ्रमणभन्दा अनौपचारिक भ्रमण र सम्वाद भएको हुन्छ । चीनले सभापति शेरबहादुर देउवालाई बोलाएको भन्ने सुनेको छु । भारतमा तीर्था वा उपचार गर्न जाने परम्परा छ । भारत गएका बेला कुराकानी भएको छ । औपचारिकभन्दा पनि अनौपचारिक कुराले महत्व राख्छ । सम्बाद भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित