शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इन्टरपोलको म्यागेजिनमा यसकारण अटाइए आईजी खनाल

दैनिक नेपाल २०७६ पुष २६ गते ११:३२

काठमाडौं, २६ पुस । अपराधसम्बन्धी विश्वका प्रहरीको सहकार्य गर्ने संयुक्त संगठन (इन्टरपोल)को २०१९ अक्टोबरको  प्रकाशनमा नेपाल प्रहरी र संगठन प्रमुख प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल अटाइएका छन् ।

मानब बेचबिखन, सुन तस्करी, हत्या, बन्यजन्तु तस्करीलगायतका १० ठूला अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा नेपाल प्रहरीले उत्कृष्ट काम गरेको उल्लेख गर्दै प्रकाशनमा नेपाल प्रहरीको प्रशंशा गरिएको छ ।

झन्डै एक सय ८० मुलुक सदस्य रहेको इन्टरपोलको प्रकाशनमा नेपाल प्रहरीबारे व्याख्या गरी लेखिएको यो पहिलो आलेख हो ।

इन्टरपोल प्रहरी प्रमुख न्युजलेटर दी इन्टरपोल ग्लोबको अक्टोबरको संस्करणमा आईजी खनालको नेतृत्वमा काम भएको उल्लेख गर्दै नेपालका अति खोजीमा रहेको कुनो शीर्षकमा आलेख प्रकाशन भएको हो ।

नेपालमा सुन तस्करी, हत्या, अपहरण जस्ता अपराधमा संलग्न रहेका बेणु श्रेष्ठको नियन्त्रणका लागि इन्टरपोल सदस्य संयुक्त अरब इमिरेट्स र नेपाल प्रहरीको संयुक्त खोजीको चर्चा गरिएको छ ।

सन् १९६७ देखि इन्टरपोलमा रेडकर्नर नोटिसमा ८७ र डिफ्युजन नोटिसमा ७२ अभियुक्तलाई नेपालले राखेको थियो । जसमा २१ जना समातिएको उल्लेख छ । तुलनात्मक हिसाबमा आईजी खनालको कार्यकालमा अन्यको भन्दा दोब्बर १० जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।

सन् २०१८ भित्र मात्र खनालले अपराध गरी फरार रहेकाको पक्राउका लागि इन्टरपोलमा १७ वटा रेड कर्नर नोटिस जारी गरेको पनि विवरणमा उल्लेख छ ।

नेपालमा हुने कहालीलाग्दो मानव बेचविखनको जालो तोड्नका लागि संगठनात्मक रुपमा नै प्रहरीमा आईजी खनालले आफ्नो कार्यकालमा संरचना नै खडा गरिदिए । मानव बेचविखनविरुद्धको अनुसन्धानका लागि व्युरो नै गठन गरेपछि उल्लेखनीय काम भएको पनि विवरणमा जनाइएको छ ।

इन्टरपोलमार्फत थाइल्यान्डको बैंककबाट मानव बेचविखनका अभियुक्त पर्शुराम गुरुङलाई पक्राउ गरी नेपाल झिकाइएको थियो । यीलगायतका भएका कतिपय सफल काम र प्रभावका विषयमा इन्टरपोलको म्यागेजिनमा प्रकाशित भएका छन् ।

गरेका कामका आधारमा नै नेपाल प्रहरीको प्रभावकारीता दुनियाँलाई देखाउनका लागि इन्टरपोलले आईजी खनाललाई स्थान दिएको प्रस्ट नै छ ।

प्रतिक्रिया
सम्बन्धित