मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

ऋणको भारले थिचिँदै नेपाली, प्रतिव्यक्ति ८१ हजारको भारी

दैनिक नेपाल २०८० माघ ९ गते ७:२१

काठमाडौं, ९ माघ । सार्वजनिक ऋणको भार तीव्र गतिमा वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै ८५ अर्ब १३ करोड रुपियाँले सार्वजनिक ऋण वृद्धि भई २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार सरकारको ऋण हरेक वर्ष बढ्दै जाँदा पछिल्लो पाँच वर्षमा दोब्बरभन्दा बढीले सार्वजनिक ऋण वृद्धि भएको छ, आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

आर्थिक २०७५/७६ सम्म १० खर्ब ४८ अर्ब १५ करोड रुपियाँ मात्रै सार्वजनिक ऋण रहेको थियो । २०७८ को जनगणनाका आधारमा प्रतिव्यक्ति ऋणको भार ८१ हजार ७ सय ५९ रुपियाँ पुगेको छ ।

चालू आर्थिक वर्षमा मात्रै प्रतिव्यक्ति ऋणको भार करिब ३ हजार रुपियाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति ऋण ७८ हजार ८ सय ४० रुपियाँ थियो ।

सरकारले लिएको सार्वजनिक ऋणमध्ये आन्तरिकतर्फ ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख र वाह्यतर्फ ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपियाँ छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा ४४ दशमलव ३१ प्रतिशत सार्वजनिक ऋण रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार हाल नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपियाँ रहेको छ ।

सरकारले चालू आर्थिक वर्षमा १ खर्ब १६ अर्ब ५८ करोड ५ लाख रुपियाँ सार्वजनिक ऋण व्यवस्थापनका निम्ति खर्च गरेको छ । जसमध्ये आन्तरिक ऋणको साँवा ५९ अर्ब ३७ करोड १६ लाख र ब्याज ३४ अर्ब १९ करोड ४८ लाख गरी ९३ अर्ब ५६ करोड ६४ लाख रुपियाँ भुक्तानी गरेको छ ।

त्यस्तै, बाह्यतर्फ साँवा १८ अर्ब ७ करोड ९८ लाख र ब्याज ४ अर्ब ९३ करोड ४३ लाख गरी २३ अर्ब १ करोड ४१ लाख रुपियाँ भुक्तानी गरेको छ ।

सोही अवधिमा सरकारले १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक र ३४ अर्ब २७ करोड ४९ लाख वाह्य गरी कुल १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपियाँ ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सरकारले ऋणको साँवा ब्याज भुक्तानीका निम्ति वित्तीय व्यवस्थापन शीर्षकमा चालू आर्थिक वर्षमा ३ खर्ब ७४ अर्ब ५ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

सरकारी तथ्यांकलाई हेर्दा विकास निर्माणका निम्ति गरेको खर्चभन्दा ऋण व्यवस्थापनमा गरेको खर्च उच्च छ । चालू आर्थिक वर्षको छ महिनामा विकास निर्माणका निम्ति गरिने पुँजीगत खर्च जम्मा ५३ अर्ब अर्थात् १८ प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको छ । पुँजीगत खर्च न्यून भए पनि सार्वजनिक ऋण बढ्दै जाँदा सरकारले ऋण लिएर साधारण खर्च धान्दै आएको देखिन्छ ।

माघ महिनाको पहिलो सातासम्म सरकारले ५ खर्ब २५ अर्ब १५ करोड २९ लाख रुपियाँ आम्दानी गर्दा ५ खर्ब ९३ अर्ब ७९ करोड ५२ लाख रुपियाँ खर्च गरेको छ । अर्थात् छ महिनामा सरकारलाई ६८ करोड रुपियाँको हाराहारीमा बजेट घाटा रहेको स्थिति छ ।

प्रतिक्रिया
सम्बन्धित