बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

एनआरएनएको अन्तर्राष्ट्रिय अधिवेशन आजदेखि, महासचिवमा गौरीराजको सशक्त उम्मेदवारी

दैनिक नेपाल २०८० असोज ३० गते ८:१९

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवम् ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि कत्तिक ३ गतेसम्म काठमाडौँमा सुरू हुँदैछ ।

सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्जेछन् भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने गरिने सङ्घले जनाएको छ ।

एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवम् नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।

यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार २२७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

अध्यक्षमा चार प्रतिस्पर्धी

एनआरएनएको अध्यक्ष पदका लागि चार आकांक्षीले प्रतिस्पर्धा गर्दै छन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका छन् ।

महासचिवमा गौरीराजको सशक्त उम्मेदवारी

यस्तै, महासचिवमा गौरीराज जोशीले सशक्त उम्मेदवारी मनोनयन दर्ता गराएका छ । वर्तमान कार्यसमितिमा महासचिवकै जिम्मेवारीमा रहेका जोशीले पुन: दोश्रो कार्यकालका लागि सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सन् २००५ देखि गैरआवासीय नेपाली अभियानमा जोडिएका जोशीले आफूले पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँदै एनआरएन अभियानलाई अझ सुदृढ, संगठित तथा शशक्त बनाउन पुन: महासचिवमै रहेर काम गर्ने इच्छा रहेकाले सोही पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

‘एनआरएन अभियानमा जोडिएदेखिनै संस्थाले दिएको जिम्मेवारी निर्वाहमा मैले गरेका प्रयत्न यहाँहरु सबैले प्रष्ट देखिरहनुभएको छ,’ जोशीले भने, ‘संस्थाप्रति केही गरौँ भन्ने हुटहुटीलाई अझ सशक्तरुपमा अघि बढाउन र एनआरएनएलाई विश्वभर रहेका सबै नेपालीको साझा र दीगो संस्था बनाउने संकल्प पूरा गर्न पुन: महासचिवमै दोहोरिने निर्णय गरेको छु, विगतमा जस्तै यहाँहरु सबैको साथ, सहयोग र समर्थन पाउनेमा आशावादी छु ।’

एनआरएनए अभियानमा चर्चित जोशीले आगामी कार्यकालमा थप ५० भन्दा बढि देशमा एनआरएनएको सञ्जाल बिस्तार गर्ने र प्रविधीमैत्री एनआरएनए बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसेका छन् । उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य पनि हुन् ।

यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक, आईसीसी सचिव हुँदै हाल महासचिवको जिम्मेवारीमा छन् ।

महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो ।

संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करिब एक खर्ब लगानी नेपाल भित्रिएको सङ्घको अनुमान छ । आर्थिक लगानीसँँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संस्थाले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित