बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा हासिल भएका उपलब्धीहरू

अमिक शेरचन २०७९ पुष १९ गते १५:१७

अमिक शेरचन, लुम्बिनी प्रदेश प्रमुख

प्रदेश सभाका माननीय सभामुख,
प्रदेश सभाका माननीय सदस्यहरू,

प्रदेश सरकार स्थापना भई प्रदेश सभाको दोस्रो निर्वाचनबाट निर्वाचित हुनुहुने सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई निर्वाचन पछिको पहिलो प्रदेश सभाको अधिवेशनको यो शुभ–अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु र यो ऐतिहासिक गरिमामय सभालाई सम्बोधन गर्न पाउँदा मैले आफूलाई गौरवान्वित तथा हर्षित भएको महसुस गरेको छु ।

यो देशको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपान्तरणका लागि आफ्नो जीउज्यानको समेत परवाह नगरी जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात/अज्ञात महान् शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै, परिवर्तनका विभिन्न आन्दोलनका घाईते योद्धा, अपाङ्ग, बेपत्ता नागरिक र तिनका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

भर्खरै सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने तथा सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी, मतदाता, पर्यवेक्षक र संलग्न सबै निकायलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सफल भएकोमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु । यस निर्वाचनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थायी, मजबुत, समुन्नत र जनप्रिय भएको प्रमाणित गरेको छ ।

नेपालको संविधानको मूल भावना अनुरूप दीगो शान्ति, सुशासन, विकास र समृद्धिमार्फत् समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने संवैधानिक मार्गदर्शन अनुरूप नयाँ संरचनाको रूपमा स्थापित प्रदेश सरकारले पहिलो पाँच वर्षे कार्यकाल पुरा गरिसकेको छ । यस अवधिमा आवश्यक नीति तथा कानुनको निर्माण, संस्थागत तथा संरचनागत प्रबन्ध, जनशक्ति व्यवस्थापन, विकास व्यवस्थापन, सेवा प्रवाह एवं सुशासन प्रवर्द्धन लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न प्रदेश सरकार सक्षम भएको छ । ‘समृद्ध लुम्बिनी: आत्मनिर्भर प्रदेश’को दीर्घकालीन लक्ष्य प्राप्तिका लागि प्रथम आवधिक योजनामार्फत् योजनाबद्ध विकास गर्ने दिशामा लुम्बिनी प्रदेश सरकार अगाडि बढिरहेको छ ।

सभामुख महोदय,
प्रदेश सभाको प्रथम कार्यकालमा यस सभामार्फत् प्रदेशको नामाकरण लुम्बिनी प्रदेश र राजधानी राप्ती उपत्यका (देउखुरी) मा तोकी लुम्बिनी प्रदेश सरकारको काम कारवाही तोकिएको राजधानीबाट प्रारम्भ गरिसकिएको छ । साथै प्रदेश सभाको नयाँ भवनको निर्माण भई प्रदेश सभाका काम कारवाही पनि राजधानी राप्ती उपत्यकाबाट प्रारम्भ भएको व्यहोरा माननीय सदस्यज्यूहरूलाई विदितै छ ।

संघीय निजामती सेवा ऐन नआउँदा प्रदेश निजामती सेवा ऐन पारित गरी कार्यान्वयन गर्न जटिलता थपिने छँदै छ भने अर्कोतर्फ जनशक्ति व्यवस्थापनको समस्या बढ्दै गइरहेको छ । यस प्रदेश सभाले प्रदेश र स्थानीय तहको जनशक्ति व्यवस्थापनका लागि अति महत्वपूर्ण कार्य प्रदेश निजामती सेवा सम्बन्धी कानून र स्थानीय सेवा सम्बन्धी कानून निर्माणमा सफलता हासिल गर्ने विश्वास लिएको छु ।

प्रदेश सरकारले प्रादेशिक गौरवका आयोजनाका रूपमा राजधानी विकास र व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण, प्रदेश विश्वविद्यालयको स्थापना र सञ्चालन साथै पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्नेसम्मको सडक आयोजनालाई कार्यान्वयन गरी अघि बढिरहेको छ । यीं गौरवका आयोजनाहरूको कार्यान्वयनले लुम्बिनी प्रदेशको पहिचान, विकास र समृद्धिको यात्रालाई थप गति पैदा गर्ने विश्वास प्रदेश सरकारको रहेको छ ।

सभामुख महोदय,
अब म प्रदेश सरकारले पाँच वर्षमा गरेका महत्वपूर्ण उपलब्धिहरू सदन समक्ष पेश गर्न चाहन्छु,

प्रदेश सभाको पहिलो कार्यकालमा ७२ ओटा विधेयक यस सभाबाट पारित भई ऐनका रूपमा प्रमाणीकरण भइसकेका छन् भने प्रदेश सरकारले ३० ओटा नियमावली पारित गरी कार्यान्वयन गरिरहेको व्यहोरा यस सदन समक्ष राख्न चाहन्छु ।

प्रदेश सरकार स्थापना भएको पाँच वर्षमा ७४९ कि.मी सडक कालोपत्रे, ९८८ कि.मी. सडक ग्राभेल, ४३५ कि.मी. नयाँ ट्रयाक खोल्ने कार्य, ७४ ओटा सडक पुल र २३ ओटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

३,२९८ हेक्टर क्षेत्रफलमा सिंचाइ विस्तार, ६०८ ओटा स्यालो ट्युबवेल तथा १८०५ ओटा सिंचाई कुलो निर्माण गरिएको छ । १२२ कि.मी लम्बाइमा नदी नियन्त्रणको कार्य गरिएको छ भने २,११५ हेक्टर जमिन नदी नियन्त्रणबाट उकास भएको छ । साथै १४,६०० हेक्टर खेतीयोग्य जमिन नदी नियन्त्रण/तटबन्धबाट संरक्षण गरिएको छ ।

१४७ ओटा लिफ्ट खानेपानी आयोजना र १,२३१ ओटा खानेपानी आर सि सि ट्याङ्की निर्माण भएका छन् । १,७१७ कि.मी. ट्रान्समिसन पाइपलाइन जडान भएको छ भने ४,८७२ कि.मी. डिस्ट्रिव्युसन पाइपलाइन जडान भएको छ ।

यस अवधिमा ७,१६१ जना कमैया, मुस्लिम र दलित छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ भने ३,८२७ जना विज्ञान विषय अध्ययनरत् छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

जनयुद्धका घाइते तथा अपाङ्गहरूको उपचारको व्यवस्था प्रदेश सरकारले मिलाएको छ । साथै मुटु, मृगौला र क्यान्सर रोगको उपचारका लागि विपन्न नागरिक उपचारमा थप सहयोग रु २ लाखसम्म उपचार सहायता उपलब्ध गराउने कार्यबाट ६०० भन्दा बढी लाभान्वित भएका छन् ।

प्रदेश सरकारले यातायात सेवालाई नागरिकको घरदैलोमा पुर्‍याउन थप चार ओटा सेवा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ भने प्रदेशका चार स्थानमा सवारी यात्रु तथा चालकका लागि रिफ्रेश सेन्टरको निर्माण गरिएको छ ।

कृषि सेवालाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने ध्येयले १०९ ओटा कृषि स्मार्ट गाउँको निर्माण गरिएको छ । १९ ओटा शित भण्डार, १९ ओटा खाद्यान्न भण्डारण गृह र १० ओटा बिउ भण्डारण गृह निर्माण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण रोजगार कार्यक्रममार्फत् ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने सृजनात्मक कार्य अगाडि बढाइएको छ भने मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममार्फत १०९ ओटै स्थानीय तहका विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधारका लागि विशेष अनुदानका रूपमा स्थानीयतहमार्फत कार्यान्वयन भइरहेको छ ।

प्रदेश सरकारले संघीय प्रणालीमा तीन तहको अन्तरसम्बन्धलाई विशेष महत्व दिएको छ । पाँच वर्षमा ६ (छ) पटक प्रदेश समन्वय परिषद्को बैठक बसी स्थानीय तह र प्रदेश सरकारको समन्वय, सहयोग र अन्तरसम्बन्धलाई मजबुत गर्ने कार्यमा निरन्तर प्रयत्नशील रहेको छ ।

प्रदेश सरकारले गौरवकै आयोजना रूपमा अघि सारेको लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना भई सञ्चालनको तयारीमा रहेको छ ।

सभामुख महोदय,
भर्खरै अस्थायी मुकाम बुटवलबाट प्रदेश सरकारका मन्त्रालय वा अन्तर्गतका निकायहरू राजधानी राप्ती उपत्यका (देउखुरी)मा स्थापना भई कार्य सञ्चालनमा आएको सम्बन्धमा तत्काल भएका भौतिक संरचनाको प्रयोग र नयाँ संरचनाको निर्माणमा प्रदेश सरकार अहोरात्र खटिरहेको छ ।

साविकमा राप्ती प्राविधिक शिक्षालय रहेको परिसरभित्र लुम्बिनी प्रदेश सभा र सचिवालय अनि प्रदेश सरकारका मन्त्रालयहरू रहने गरी प्रदेश सरकारले कार्य अगाडि बढाएको छ । प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारका मन्त्रालयका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० ओटा भवन निर्माणको कार्य प्रारम्भ भइसकेको छ । जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गर्न आयोजना समिति गठन भई १४ (चौध) वटै वडामा किल्ला तोक्ने कार्य समेत सम्पन्न भइसकेको छ ।

गुरुयोजना बमोजिम नदी सभ्यतामा आधारित मुलुककै नमुना राजधानीको रूपमा विकास र निर्माण गर्ने कार्य अबको प्रदेश सरकारको नयाँ अभिभाराको रूपमा रहेको छ । यसको लागि स्रोत व्यवस्थापन गर्न संघीय सरकारको सहयोग र समन्वयमा दातृ निकायको अनुदान तथा स्वदेशी र विदेशी लगानी भित्र्याउन निरन्तर पहल गर्नुपर्ने देखिएको छ । अबको प्रदेश सभाले यस कार्यका लागि प्रदेश सरकारलाई सहयोग गर्ने विश्वास लिएको छु ।

यस अवधिमा प्रदेश सरकारले बढाएका योजनाहरूको कार्यान्वयन गर्दै नयाँ चुनौति र समस्या हल गर्न नयाँ योजना र कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको देख्दछु ।

सभामुख महोदय,
संविधानले प्रदान गरेका एकल तथा साझा अधिकारको उपयोग र प्रयोगका लागि संघीय सरकार र स्थानीय तहहरूसँग समन्वय, सहकार्य र पारस्परिक सम्बन्धको विकास गर्नुपर्ने तथ्य प्रदेश सरकार स्थापनाका पाँच वर्षका अनुभवले हामीलाई दिएको सन्दर्भमा बलियो प्रदेश सरकारमार्फत नागरिकका विकास र समृध्दिका आकाङ्क्षा पूरा गर्न सक्ने सरकारका रूपमा प्रदेशले आफूलाई अब्बल र अद्वितीय प्रमाणित गर्नुपर्ने भएको छ । प्रदेश संरचना प्रति उठ्ने गरेका प्रश्नहरूको सैद्धान्तिक, कानुनी, प्रशासनिक तथा व्यावहारिक हल नदिंदा यसले उत्पन्न गर्ने परिणामले मुलुकलाई अगाडि लान सक्दैन । त्यसैले प्रदेशमा रहेका प्रदेश सभा, प्रदेश सरकार वा अन्तर्गत निकायमा रहने निर्वाचित तथा मनोनित पदाधिकारी र कर्मचारीहरू जिम्मेवार भएर आ–आफ्नो भूमिका निर्वाह गर्न सदैव सकारात्मक भई प्रयत्नशील हुनैपर्छ ।

पहिलो पाँच वर्षमा संविधान कार्यान्वयनको जग बस्नुपर्ने, प्रदेश र स्थानीय तहहरू सबल भई शासन प्रणालीमा गुणात्मक सुधार भएको हुनुपर्ने र प्रदेश सरकार स्थानीय तहको नजिकको सरकार भएर स्थापित हुनुपर्नेमा त्यसो हुन सकिरहेको देखिंदैन । प्रदेश प्रहरीको स्थापना र सञ्चालन मूल कार्य हुनुपर्ने, कर्मचारी समायोजन र पदपूर्ति हुनुपर्ने, योजना र बजेटमा अन्तरनिर्भरता कम गर्दै आत्मनिर्भर उन्मुख हुनुपर्ने, राजस्वका अधिकार क्रमश: प्रदेश सरकारको सक्षमताको आधारमा हस्तान्तरण हुनुपर्ने जस्ता संघीयता कार्यान्वयनका मूल सवालहरू ज्यूँकात्यूँ नै रहनुले हाम्रो अग्रगमनमा बाधा परिरहेको भन्ने कुरालाई पुष्टि गर्छ । त्यसैले अबको प्रदेश सभा जो जनताको सभा हो यसले संवैधानिक भावना अनुरूप संघीयता कार्यान्वयनका लागि आफ्नो भूमिका निर्वाह गर्न अब्बल रहोस्, म शुभकामना व्यक्त गर्न चाहन्छु ।

संघीय सरकारले शासन प्रशासन सञ्चालन गर्ने, प्रदेश सरकारले विकास निर्माण र सामाजिक सेवा विस्तारमा भूमिका निर्वाह गर्ने र स्थानीय तहले नागरिकका दैनिक जीवनका समस्याहरूको हल गर्दै सरल, सहज र विश्वसनीय सेवा प्रवाह गर्ने ठाडो सम्बन्ध र सँगसँगै शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, वातावरण र विपद् जस्ता विषयमा तीन तहका सरकारले सँगसँगै काम गर्ने क्षितिजीय सम्बन्धलाई चलायमान बनाई नेपालको संघीयतालाई नागरिकको सुख र समृद्धिको मार्गको रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको सन्दर्भमा यस लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकाल सफल हुने विश्वास लिएको छु ।

अन्त्यमा, लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा माननीय सदस्यका रूपमा निर्वाचित भई यस प्रदेशको विकास, समृद्धि र सुशासनको अभियानमा संलग्न सदस्यज्यूहरू, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत पदाधिकारीहरू, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, बुद्धिजीवी, विकास साझेदार संस्थाहरू, निजी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, पत्रकार जगत, सुरक्षाकर्मी लगायत सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु र दोस्रो कार्यकालका लागि निर्वाचित माननीय प्रदेश सभाका सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आपसी समझदारी, सहअस्तित्व र वस्तुगत आधारमा भावनात्मक सम्बन्धलाई विश्वासको तराजुमा राख्न सफल बन्नुहोस् । धन्यवाद ।

(लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा प्रदेश सभाको निर्वाचनपछिको पहिलो प्रदेश सभाको बैठकलाई सोमबार गरेको सम्बोधनको पूर्णपाठ)

प्रतिक्रिया
सम्बन्धित