शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अर्थतन्त्र संकट उन्मुख महँगी अझै बढ्ने

दैनिक नेपाल २०७९ मंसिर १७ गते ७:०४

काठमाडौं, १७ मंसिर । अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र जटिलतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ। बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ। बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ । राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले मुद्रास्फीति बढ्ने अनुमान गरिएको जानकारी दिए । ‘जनताले मूल्यवृद्धिलाई कसरी अनुभव गरेका छन् भनेर सर्भे गरिएको हो,’ श्रेष्ठले भने, ‘त्यसकै आधारमा प्रतिवेदन तयार गरिएको छ ।’ चालु आवको पहिलो तीन महिना असोजसम्म मुद्रास्फीति बोर्डर लाइन क्रस गरेर ८.५० प्रतिशत पुगेको छ। यो सरकारले लिएको लक्ष्यभन्दा माथि हो भने पोहोरको तुलनामा करिब दोब्बर हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.२४ थियो ।

रुस–युक्रेन युद्धले विश्वबजारमा पनि महँगी बढेको छ। त्यसको असर नेपालमा पनि देखिएको छ । अहिले युरोपमा मुद्रास्फीति १०/११ प्रतिशतमा पुगेको श्रेष्ठले बताए । ‘विश्वबजारमा मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘बजार सन्तुलन कायम गर्न चनाखो हुनुपर्ने अवस्था छ ।’ नेपालमा करिब पाँच वर्षअघि मुद्रास्फीति १०/१२ प्रतिशतसम्म पुगेको थियो । २०४६ सालमा मुद्रास्फीति २१ प्रतिशतसम्म पुगेको श्रेष्ठले बताए । ‘धेरै चिन्ता गर्नुपर्ने अवस्था पनि छैन,’ श्रेष्ठले भने, ‘सबैलाई ब्यालेन्स मिलाएर लैजानुपर्छ ।’

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएकाले आन्तरिक पक्षमा पनि सुधार हुने अपेक्षा गरिएको उनले बताए । ‘बाह्य पक्षमा सुधार आउँदा आन्तरिक सन्तुलनमा केही समस्या छ,’ श्रेष्ठले भने, ‘मूल्यवृद्धि पुसपछि कम हुने अपेक्षा गरेका छौं ।’ पछिल्लो एक महिनामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । गत महिना ६८ रूपैयाँ किलोमा बिक्री भएको मसिना चामलको मूल्य अहिले बढेर किलोको करिब ८० रूपैयाँ पुगेको छ । बजारमा चामल, खानेतेल, दाल, आँटालगायत वस्तुको मूल्य बढेको छ । १७ सय रूपैयाँ पर्ने २५ किलो चामलको मूल्य २ हजारभन्दा माथि पुगेको छ । भटमास तेलको मूल्य लिटरमै २० देखि ३० रूपैयाँसम्म बढेको छ । भटमास तेलको मूल्य बढेर २५० देखि ६० रूपैयाँसम्म पुगेको व्यापारी बताउँछन् । निर्वाचनका कारण पनि मूल्य बढेको हो । बजारमा पैसाको प्रवाह बढेपछि वस्तुको माग वृद्धि हुँदा मूल्य पनि वृद्धि भएको छ ।

मूल्यवृद्धिसँगै अर्थतन्त्रको आन्तरिक पक्षमा विभिन्न समस्या रहेको निजी क्षेत्रको गुनासो छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा धेरै समस्या नभएको बताउँदै आए पनि निजी क्षेत्रको छाता संस्थाले अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले अध्ययन गरेर बजार चक्र नै प्रभावित भएको बताएका छन् । ती संस्थाले उत्पादन र बिक्रीको बजार चक्र नै प्रभावित भएको दाबी गरेका छन् । एकातर्फ विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले केही वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आयात घटेको छ भने अर्कोतर्फ बजारमा तरलता अभाव, महँगो ब्याज, वस्तुको मागमा कमी हुँदा उद्योगले उत्पादन कटौती गरेका छन् । उत्पादन र बिक्रीको चक्र भत्किँदा राजस्व, रोजगारी, मूल्यवृद्धिलगायत क्षेत्रमा असर पर्छ ।

मागमा गिरावट भएपछि उत्पादकले उत्पादन घटाएका छन् । सामानको मूल्य बढ्दा खरिद गर्ने क्षमतामा ह्रास आएको छ । उत्पादन गरेको वस्तु बिक्री नभएपछि उद्योगले उत्पादन कटौती गरेका हुन् । यसले माग र आपूर्तिको चक्र नै प्रभावित भएको हो । आयातमा कडाइ, बैंकको ब्याजवृद्धि, उपभोगमा आएको परिवर्तनले बजार चक्र नै प्रभावित भएको उद्योगी–व्यवसायी बताउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित