बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रचण्डलाई नयाँघरको भर, कार्यकर्तालाई मूलघरको भर

निर्मल भट्टराई २०७९ असोज ११ गते १९:२०

– निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको आफ्नो निर्वाचन क्षेत्रमा नयाँ एक तले घर बनाएर आफ्नै भनिएको घरमा माला र खादामा सरेका छन् ।

प्रथम संविधानसभादेखि निरन्तर निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्ड यो पटक उही निर्वाचन क्षेत्र दोहोर्याउँदै छन् । कहिले काठमाण्डौ, कहिले डोल्पा, कहिले सिराहाबाट चुनाव लडेका प्रचण्ड जीवनको उत्तरार्धमा आफू र आफ्नो परिवारको राजनीतिलाई चितवन केन्द्रित गर्न चाहन्छन् ।

निर्मल भट्टराई

तर प्रचण्ड चितवनका जनतासँग ढुक्क हुन सकेका छैनन् । किनभने अघिल्लो पटक एमालेको मतले जितेका प्रचण्ड रातारात कथामा ट्वीस्ट आएन भने यस पटक नेपाली कांग्रेसको मतबाट जित्ने कोशिस गर्नेछन् । त्यही क्षेत्रमा नयाँ घर बनाएर चितवनका जनताको मन जित्ने प्रयत्न गरेका छन् । चितवनका जनतासँग भावनात्मक सम्बन्ध गाँस्न खोजेका छन् ।

माओवादलाई औपचारिक रूपमा विसर्जन गरेर पक्का संसदीय खेलाडीमा रूपान्तरित प्रचण्ड एन केन प्रकारेण चुनाव जित्ने प्रयासमा छन् । अघिल्लो निर्वाचनमा चितवनका वामपन्थी मतदाताको मत बटुल्न उनले समाजको आमूल परिवर्तनको कुरा गरे, प्रगतिशीलताको विषय उठाए, एमाले अध्यक्ष ओलीको महानताको चर्चा गरे, मदन भण्डारी र उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको वैचारिक शक्तिको चर्चा गरे । तर आज उनलाई बोक्ने काँध फेरिएको हुनाले उनको चुनावी भाषण विल्कुल भिन्न हुनेछ ।

यसपालि उनले शेरबहादुर देउवाको महानताको बखान गर्नेछन्, बीपीको प्रजातान्त्रिक समाजवादको आवश्यकताको चर्चा गर्नेछन्, ‘माले, मसाले मण्डले एउटै हुन्’ भन्ने गिरिजाको क्रान्तिकारिताको बयान गर्नेछन्, नेपालको राजनीतिमा कम्फर्टेवल भारतको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नेछन्, वामपन्थीले चाहेको आमूल परिवर्तनभन्दा नेपाली कांग्रेसले भन्ने गरेको संसदीय लोकतन्त्र कैयौं गुणा महान हो भनेर बहस पैरबी गर्नेछन् । र, ओलीले प्रचलनमा ल्याएको नेपालको विस्तारित नक्साको उफ्री-उफ्री विरोध गर्नेछन् । चितवनको माढीमा ओलीले स्थापना गरेको अयोध्याको ‘नक्कलीपन’को चर्चा गर्नेछन् ।

केही समय अघिसम्म ‘यो चुनाव प्रधानमन्त्रीको लागि लास्ट इनिङ’ भनेका प्रचण्डको बोली चुनावकै मुखमा फेरिएको छ । प्रधानमन्त्री बन्ने आसय व्यक्त गर्नेवित्तिकै कांग्रेसी मतदाताले सांसद नै बन्न नदिने देखेपछि उनले ‘मलाई प्रधानमन्त्री बन्न अहिले पनि अफर छ, यता म प्रधानमन्त्रीको रेसमा छैन’ भनेका छन् । देशको सबभन्दा ठूलो पार्टी नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरिसकेको र दोस्रो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा पाँच वर्षे सरकार बनाउने निर्णय गरिसकेको सन्दर्भमा प्रचण्डलाई कसले प्रधानमन्त्रीको अफर गरेको हो, त्यो त प्रष्ट छैन, तर उनले ‘अङ्गुर अमिलो छ’ शैलीमा प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।

आफूले माओवादी जनयुध्द कालमा ‘गोडा फाट, सतर्क’ गराएका केही नेता-कार्यकर्ताबाहेक माओवादीका आम नेता-कार्यकर्ता र मतदातालाई प्रचण्डको यो रवैया पटक्कै मन परेको छैन । आमूल परिवर्तन, वैज्ञानिक समाजवादको आधार तयार गर्ने विषय, मार्क्सवाद, लेनिनवादका सार्वभौमिक सच्चाइ सबै त्यागेर नेपाली कांग्रेसका नेताको पछि पछि चमर हल्लाउँदै हिंडेको सच्चा माओवादी कसैलाई मन परेको छैन । हालै माओवादीमा भएको धन्कुटा विद्रोह, सर्लाही विद्रोह र दाङ विद्रोहले यसको प्रष्ट सङ्केत गरेका छन् ।

लामो समयको जनताको चाहनाबमोजिम बनेको एकीकृत कम्युनिष्ट आन्दोलन भाँडेर दक्षिणपन्थी शक्तिको सेवा गर्ने, आफ्नै पार्टीको सरकार ढालेर विजातीय गठबन्धन निर्माण गर्ने, भारतीय विस्तारवादको मुखले चर्को विरोध गर्ने तर भित्र-भित्र सत्ता साँठगाँठको लागि उसैसँग चोचोमाचो मिलाउने प्रचण्डको बहुरङ्गी तरिका माओवादी मतदातालाई समेत मन पर्ने विषय होइनन् ।

भन्न परोइन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) साविक नेकपाको निरन्तरता हो । अहिलेको एमालेमा माओवादी पृष्ठभूमिका नेता-कार्यकर्ताको लोभलाग्दो उपस्थिति, सकृयता र हस्तक्षेप छ । दिनहुँ माओवादी परित्याग गरेर आफ्नो मूल घर एमालेमा लामबध्द हुने कार्यकर्ता देख्दा लाग्छ, उनीहरूको ध्यान प्रचण्डको नयाँ घरमा होइन, आफ्नो मूल घरतिर छ ।

उनीहरूको ध्यान प्रचण्डले आफ्नो लागि कस्तो आलिसान महल बनाउँछन् भन्नेमा होइन, बरू ओली नेतृत्वको अब बन्ने बहुमतको सरकारले कहिले सबै नेपालीलाई गाँस, बास कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी गर्छ भन्नेमा छ ।

प्रतिक्रिया
सम्बन्धित