शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

छाउ हुँदा छात्रा विद्यालय जानथाले, शैक्षिक गुणस्तरमा सुधार

दैनिक नेपाल २०७६ फागुन १३ गते १९:५०

बाजुरा, १३ फागुन । बुढीनन्दा नगरपालिका–४ मा रहेको भावना आधारभुत विद्यालयमा अध्ययनरत कुरुकी रमिता रोकाया र विमा रोकाया परीक्षाको समयमा महिनाबारी भईन् ।

२०७४ सालको वार्षिक परीक्षा चलिरहेको थियो । महिनाबारी हुँदा विद्यालय जानु हुदैनन् भन्ने अन्धविश्वास थियो । त्यसैकारण कक्षा ७ मा पढ्ने दुवै जना परीक्षा छुटाउन तयार भए तर विद्यालय गएनन् ।

विद्यालय नजिकै देवीदेउताको मन्दिर छ । महिनाबारी हुँदा पाँच दिनसम्म जानु हुदैनन् भन्ने अन्धविश्वास समाजकै डरले तीनीहरु मान्न बाध्य थिए ।

उता उनीहरुका लागि मात्र अर्को प्रश्न पत्र बनाएर पछि परीक्षा लिन विद्यालयलाई सम्भव थिएन् । शिक्षकहरुले पनि विद्यालयमा नै आएर परीक्षा दिन लगाउने आँट गरेनन्, बरु घरमै प्रश्न पत्र पुर्याएर शिक्षकको निगरानीमा परीक्षा दिन लगाए ।

कुरु क्षेत्रका लागि यो प्रतिनिधि मुलक एक उदारण मात्र हो । विद्यालय परिसर मै भगवती माइ, कैलाश, मष्टा देउताका मन्दिर छन् । देउताकै डरले उनीहरु महिनाबारी भएको पाँच दिन विद्यालय नआउने गरेको भावना आधारभुत विद्यालयका निमित्त प्रधानाध्यापक दिनानाथ चौधरीले बताए ।

छात्रा मात्र नभइ विद्यालय पढाउने शिक्षिका देखि विव्यस सदस्य बनेका महिला सदस्य सबैको हकमा बाध्यता एउटै थियो । महिनाबारी हुन थालेका छात्राले महिनाको ४ र वर्षको ६० दिन अनिवार्य विद्यालय बाहिर बस्नु पर्ने बाध्यता थियो । तर हाल विरामी र घरको अनिवार्य काम बाहेकका अरु लिन नियमित विद्यालय आउने गरेको शिक्षकको भनाई छ ।

बुढीनन्दा नगरपालिका ४ कुरु क्षेत्रका देवलडाँडा मावि, भावना र बुढीनन्दा आधारभुत विद्यालयको एउटै समस्या हो ।

महिनाबारी हुँदा छात्राहरु विद्यालय नआउने गरेको देवलडाँडा माविका प्रअ प्रल्हाद श्रेष्ठ पनि स्वीकार गर्छन् । केही समय भयो, नियमित आउँछन्, अघिल्लो शैक्षिक सत्रसम्म कोही पनि आउदैनन् थिए, श्रेष्ठले भने ।

छात्राहरु नै विद्यालयमा बढी हुने, तीनीहरु नै नआउने गर्दा पठन पाठन पनि अवरुद्ध हुने गथ्र्यो भने शैक्षिक उपलब्धीमा पनि न्यून हुन्थ्यो तर यो शैक्षिक सत्रदेखि केही सुधार भएको श्रेष्ठको भनाई छ । देवडाँडा माविको शैक्षिक उपलब्धी दर हालसम्म पनि ४० देखि ४५ प्रतिशत मात्र छ ।

३० देखि ३५ सम्म मुस्कीलले थियो, छात्रा नियमित आउने थालेपछि सुधार भएको हो, केटाहरुले मात्र नियमित कक्षा लिएर हुदैनन्, शिक्षीका पनि नआउने दैनिक जसो पढाइ नै प्रभावित हुने गरेको बाध्यता श्रेष्ठले सुनाउने गरेका छन् । श्रेष्ठका अनुसार अझै कुरुको घोडाकोट क्षेत्रका ३५ बढी छात्राहरु नियमित विद्यालय आउने गरेका छैनन् ।

बाटोमा दोगाडे खोला पर्ने र पर्वतबाट आएको पवित्र पानी महिनाबारी भएको महिलाले नाघ्न नहुने अन्धविश्वासले नआएको बुझीएको छ । तर यो शैक्षिक सत्र देखि भने कुनै समस्या नभएको वडा अध्यक्ष राजन रोकायाको भनाई छ ।

कुरु क्षेत्रलाई देवभूमिका रुपमा चिनिन्छ । जिल्लाका ६९ वटा वडा मध्ये बुढीनन्दा नगरपालिका ४ कुरु क्षेत्रमा १२ कोटी देउता बस्ने गरेको धार्मीक मान्यता छ । हिँड्ने बाटा समेत अगल हुने र सिंगो बस्तीमा समेत छाउहुँदा बस्न नपाइने धार्मीक अन्धविश्वास रही आएको क्षेत्र हो ।

राज्यले ल्याएको कानुन र दबाब मुलक कानुनले सबै प्रकारका विभेद र अन्धविश्वास हटाउने अभियानपछि अवस्था सुधार हुदै गएको छ ।

वर्षमा ६० दिन बढी छात्राहरु गयल हुनु पर्ने वस्था थियो, अब त्यो हटेको र शैक्षिक गुणस्तर सुधार हुदै गएकोमा खुशी लागेको रोकायाको भनाई छ ।

विद्यालयमा पढाइ र शैक्षिक उपलब्धी मात्र सुधार भएको छैन्, महिलाको स्वास्थ्य र सुरक्षामा पनि सुधार हुदै गएको भावना आधारभुत विद्यालयका शिक्षिका बेलकुमारी रोकायाले बताएकी छन् ।

पीसविन, र वडा कार्यालयले सयुक्त रुपमा अभियान चलाए, गोठ भत्काएपछि बल्ल नियमित विद्यालय आउने र गोठ छोडेर घर भित्र बस्न थालेको रोकायाको भनाई छ ।

छाउ हुँदा विद्यालय नगएको स्मरण करिष्मा रोकाया छ । जनप्रकाश मावि कोल्टी कक्षा १२ मा पढ्ने रोकायाले केही समय यता मात्र हामी महिनाबारी भएको समयमा विद्यालय आउने गरेका छौं, त्यो पनि पीसविनका सरहरु, वडा कार्यालयको दबाबमा नत्र कोही पनि विद्यालय आउने गरेका थिएनन्, भावना आधारभुत विद्यालयमा कक्षा शिक्षण गर्दै आएकी करिष्माले थपिन् ।

गाउँमा लामो समयदेखि छाउ कुप्रथा विरुद्ध अभियान सञ्चालन भइरहे । स्थानीयले कुरा सुनेपनि त्यसलाई बेवास्ता गरिरहे । जब गोठ भत्काउन र राज्यले दिने सुविधा रोक्ने लगाएका दबाब मुलक अभियान पछि बाध्य भएर विद्यालय जाने र घरमा बस्ने गरेको पीसविन स्थानीय अधिकार परियोजनाका कार्यक्रम संयोजक पदम कठायतले बताएका छन् ।

गाली गरेको, गाउँ प्रवेशमा रोक लगाउने धम्की दिने गरेको स्मरण गर्दै कठायतले गाउँमा हाल कुनै गोठ नभएको र कुनैपनि छात्रा छाउ हुँदा विद्यालय बाहिर नरहेको बताउँछन् ।

वडामा २ हजारको संख्यामा जनसंख्या बसोबास छ । तीन वटा सामुदायिक विद्यालय छन् । देउताको मन्दिर बनाएर, मुर्ति चढाएरै भएपनि छाउ हुँदा घरमा बस्ने र विद्यालय नियमित जाने गरेको पीरुकला बोगटीले बताएकी छन् ।

कुरु क्षेत्रमा मात्र ४० बढी गोठहरु भत्काईएका छन् । यसको सकारात्मक प्रभाव जिल्ला व्यापी परेको छ ।

प्रतिक्रिया
सम्बन्धित