२८ आश्विन २०८३, बुधबार

रोजगारीका नाममा मानव तस्करी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ । विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुर्‍याएका छन् ।

छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ । मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै आर्थिक लाभ लिएको हुनुपर्छ । यसमा जाने र लैजाने मान्छेबीच सुरुवातमा आपसी सहमति भएर प्रक्रिया अगाडि बढ्छ  । यो कार्य वैधानिक हुँदैन । तैपनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ । गाउँगाउँमा स्थानीय एजेन्टहरू परिवारका सदस्य, आफन्त र छिमेकीलाई विदेश पठाउन मानव तस्करका रूपमा सक्रिय हुन्छन् । ‘विदेशमा पैसा धेरै कमाइन्छ, दुःख धेरै गर्नुपर्दैन, विदेश जान नागरिकता भए अन्य कागजात बनाउन एक दिन पनि लाग्दैन, पहिला विदेश जाने मन हुनुपर्छ’ भन्दै गाउँगाउँमा तस्कर तथा एजेन्टहरू पुग्छन्।

यस्ता घटनाहरूलाई देश वा गन्तव्य देशमा गैरकानुनी मानिन्छ भने त्यो मानव तस्करी हो । नेपालभित्रै पनि मानव तस्कर भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ बताउँछन् ।

उनका अनुसार नेपाल–भारतबीच खुला सिमाना छ । नेपालबाट भारतमा पुर्‍याई रोजगारी दिलाइदिने विश्वासमा पारेर बेचबिखन गर्ने, यौनधन्दामा लगाउने गरेको पाइन्छ । ‘बेचबिखन तथा मानव तस्करीमा पारेर लगिने गन्तव्य देश अहिलेसम्म आएका उजुरी तथा अनुसन्धानले भारतलगायत खाडी मुलुक हुन्,’ उनले भने, ‘आप्रवासी श्रमिकका रूपमा कोही अमेरिका कोही युरोपेली देशमा जाने नाममा पनि मानव ओसारपसार भएको स्थिति छ तर तथ्यका आधारमा भारत तथा खाडीका देशमा बढी देखिएको छ ।’ उनले थपे, ‘विदेश जान खोज्नेलाई सुरुमा दललाले विभिन्न भ्रम र प्रलोभनमा पार्छन् । उनीहरूलाई आफूहरू पीडित भइन्छ भन्ने आभास हुँदैन । धेरै युवा घुम्न तथा काम गर्न, रमाइलो गर्ने भन्ने हिसाबमा विदेश गइरहेका हुन्छन् । उनीहरूलाई आफू बेचबिखन तथा तस्करीमा परेको महसुस नै हुँदैन ।’

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा रूकुम र दाङका धेरै घरपरिवारका सदस्य ठगीमा परेका छन् । ती जिल्लामा ‘एक घर एक अमेरिका’ भन्ने होडबाजी नै चलेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार अवैधानिक रूपमा भए पनि अमेरिका जान चाहने धेरै छन् । यसका लागि उनीहरूले ऋण लिन्छन् । अवैध रूपमा विदेश जाँदा समस्यामा परिन्छ भन्ने हेक्का उनीहरूले राख्दैनन् । ‘मध्यपश्चिम अर्थात् रूकुम, दाङ, म्याग्दी र पर्वतमा झन् धेरै मानव तस्करी र बेचबिखन हुने गरेको छ । २०७२ सालमा आएको भूकम्पपछि मानव तस्करी बढेको अनुभव भएको छ,’ एसएसपी श्रेष्ठले भने, ‘मानव तस्करीको सञ्जाल गाउँदेखि विभिन्न देशसम्म फैलिएको छ । ठुला तस्करले विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन् ।’

भारत हुँदै खाडीका देश, मलेसिया, युरोपेली मुलुक, अफ्रिकाका साथै अमेरिका, अस्ट्रेलिया, क्यानडासम्म ठुलो मात्रामा नेपाली नागरिकको बिक्री भइरहेको उनले बताए  ।

उनले रोजगारी र अध्ययनका नाममा नीतिगत रूपमा नै मानव बेचबिखन भइरहेको दाबी गरे । जसमा सबैभन्दा धेरै महिला खाडीका देश, मलेसिया र अफ्रिकी देशमा र शिक्षित युवायुवती विकसित देशमा अध्ययन र रोजगारीका नाममा तस्करीको सिकार भइरहेका छन् । उनका अनुसार जतिबेला उनीहरूलाई आपत्विपत्मा पर्छन्, त्यतिबेला मात्र बेचिएको थाहा हुन्छ । त्यस्ता धेरै व्यक्ति खाडी देशबाट उद्धार गरिएका छन् । यसरी पीडितहरूको उद्धारका लागि सम्बन्धित निकायमा उजुरी पर्नुपर्ने उनले बताए। कतिले त गाउँसमाजमा थाहा पाउने डरले उजुरी दिँदैनन् । त्यस्तै कष्टकर जिन्दगी बिताइरहेका हुन्छन् ।

‘बेचबिखन र तस्करीमा परेको कुरा सार्वजनिक हुँदा परिवारजन र समाजले हेर्ने दृष्टिकोण फरक हुने हुँदा प्रायः पीडितहरूले उजुरी नै दिँदैनन्,’ एसएसपी श्रेष्ठले भने, ‘यो कानुनविपरीतको काम हो, बदमासीलाई छोड्नुहुँदैन, उजुरी दिनुपर्छ, तपाईंहरू पीडित हुनुभएको छ, बरु नाम गोप्य राखौँला, डराउनुपर्दैन भन्दै पीडितलाई विभिन्न सरसल्लाह दिने गरिएको छ ।’

त्यस्ता पीडितहरूले सम्बन्धित निकायमा उजुरी लिइहाले पनि भनेको समयमा प्रहरीले खोजेको बेला, अदालतले खोजेको बेला उपस्थित हुँदैनन् । त्यो अवस्थामा उनीहरूलाई उद्धार गर्न झन् धेरै गाह्रो हुने गरेको ब्युरोले जानकारी गराएको छ । तर ब्युरोले गन्तव्य देशमा रहेको नेपाली नियोग र गैरआवासीय नेपाली संघसँग समन्वय गरेर उद्धार र अनुसन्धानको काम गरेको केही पीडितहरूले बताएका छन् ।

विभिन्न प्रलोभन र लालचमा देशभित्रै पनि मानव तस्करी र बेचबिखन भइरहेको छ । पछिल्लो समय त बलि दिन पनि स्वदेश तथा विदेशमा मानव ओसारपसार भएको देखिन्छ । ब्युरोले केही समयपहिले मात्रै बलि दिन भारत पुर्‍याएका बालबालिकाको उद्धारसमेत गरेको एसएसपी श्रेष्ठले बताए  ।

नेपालमा वैदेशिक रोजगारी, शिक्षालगायत बहानामा बेचबिखन भइरहेको छ। सो कार्यका लागि मानव तस्करको बिगबिगी छ। गरिबी र बेरोजगारीको चपेटामा परेका महिला, गरिब परिवारका बालबालिका र कतिपय पुरुष पनि बेचबिखनमा पर्छन् ।

रोजगारीका नाममा महिला मात्र होइन, पुरुषसमेत मानव बेचबिखन र तस्करीमा परिरहेका छन् । पुरुषले मानव बेचबिखनमा परेको अवस्थामा समाजमा इज्जत जाने डरले आफ्नो पहिचान लुकाउने गरेका छन् ।

ब्युरोका अनुसार अमेरिका युरोपमा परिवारलगायत आफ्नो जीवन एकदमै सुखमय हुन्छ भनेर गएका व्यक्तिहरू पनि बेचबिखनमा परेको देखिन्छ । पहिलेदेखि नै मानव तस्करी र बेचबिखनमा महिला तथा बालबालिका पीडित हुँदै आएको थियो  । हाल आएर अवैधानिक रूपमा अमेरिका र युरोप पठाउने भन्दै दैनिक रूपमा पुरुष पनि मानव तस्करीमा पर्ने गरेका छन् ।

‘ब्युरोको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको हुन्छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएको छ, छैन, कामदार जान लागेको देशबारे जानकार छ, छैन, उनीहरू विदेश घुम्न मात्र जान लागेको हो कि काम गर्न जान लागेको हो भनी चाल र पोसाकबाटै सहजै थाहा हुने,’ एसइसपी श्रेष्ठले भने ।

अवैधानिक रूपमा विदेश पुगेका नेपालीहरू विभिन्न माध्यमद्वारा अप्ठेरोमा परेको खबरसहित उद्धारको अपिल गर्दै सूचना आउने गरेको छ,’ उनले भने, ‘हाम्रो हेडक्वार्टर हुँदै, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै उद्धारका गर्ने गरेको छौं  । साथै प्रत्यक्ष रूपमा गन्तव्य देशमा रहेको नेपाली दूतावास, एनआरएनएसँग पनि उद्धारका लागि सहकार्य गर्छौं ।’

 त्यस्तै कतिपय अवस्थामा उद्धार गरेर ल्याइएका व्यक्तिहरूलाई परामर्श दिँदै संघसस्था तथा परिवारसँगको समन्वयमा रोगअनुसारको उपचार गराउने गरेको ब्युरोले बताएको छ ।

मानव बेचबिखन तथा तस्करीबाट जोगिन आफू जाने देशबारे विश्वस्त हुनुपर्ने अन्य आधिकारीहरूले जानकारी गराए । भिजिट भिसामा विदेश जाने हो भने घुम्ने अनि फर्कने । पैसा कमाउन विदेश जाने हो भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर वैधानिक रूपमा खोलिएका म्यानपावरसँग सम्पर्क गरी विदेश जान सकिने विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए । विभागका सूचना अधिकारी उप्रेतीका अनुसार सरकारले तोकेका प्रक्रिया पूरा गरी विदेश गए त्यस्तो अवस्थामा समस्या पर्‍यो भने सरकारसँग अभिलेख हुन्छ। सोही कारण उद्धार कार्यमा सहजता पनि हुन्छ ।

तर मानव तस्करीमा फसेर बिदेसिने क्रम बढ्दै गएको उनको भनाइ छ। प्रायः तस्करहरूले गाउँसमाजमा छिरेर विदेशका ठुल्ठुला भवनहरू, गाडीबंगला देखाउँदै बालबालिका, महिला र पुरुषहरूलाई तस्करी गर्दै विदेश पुर्‍याउने गरेका पीडितहरूको भनाइ छ । तस्करको जालोमा परी बिदेसिने सपना देखेकाहरूले लाखौंलाख रकम एजेन्टलाई बुझाउने गरेका हुन्छन् । पीडितहरूलाई विदेश जाने सपना देखाउने गाउँकै नातागोता पर्ने काका, मामा, दाइ तथा साथीभाइबाट परिचालित भएका हुन्छन् । त्यस्तै विदेशमा घरेलु कामदारका लागि भन्दै महिलाहरूलाई उत्कृष्ट तलब बताउँदै विभिन्न देश पुर्‍याउने गरिएको छ । यही कारण उनीहरू यौन शोषण र हिंसामा परेका हुन्छन् ।

मानव बेचबिखन र तस्करीले गर्दा महिनौंदेखि वर्षौंवर्ष विदेशमा बन्धक भएर बस्नुपरेका घटना धेरै छन् । विदेशमा नेपाली महिलाको शारीरिक बनावट हेरेर लाखौंलाखमा मोलमोलाइ हुने धेरै केस भएको प्रहरी एसएसपी श्रेष्ठले बताए । कति त घरमालिकबाट यौन दुर्व्यवहार, कुटपिट, कानुनविपरीत मानव अंग झिक्ने घटना सयौं छन् भने पारिवारिक अवस्था नाजुक भएपछि अवैधानिक रूपमा बिदेसिएका महिलाहरू आफू बाध्य भएर उक्त कार्यमा संलग्न पनि हुने गरेको पीडितहरू बताउँछन्।

युरोप अमेरिका पठाउने भन्दै हुने गरेको मानव तस्करीमा पनि धेरै मानिस सहभागी छन्, धेरैको पैसा फसेको छ, कतिपय व्यक्तिहरू हराएका छन् भने कतिको ज्यानै गएको छ। घरेलु काममा लागि जानै प्रतिबन्ध लगाइएका खाडीलगायत मुलुकमा पनि भिजिट भिसामा लगेर त्यहाँ घरेलु कामदारमा लगाउने मात्र नभएर यौनशोषण, श्रमशोषणमा पारिएका घटना प्रशस्त देखिएको बताइन्छ।

वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार व्यक्तिलाई बेच्नु, यौन शोषणमा पार्नु, कानुन विपरीत मानव अंग झिक्नु तथा प्रत्यारोपण गराउनुलाई मानव बेचबिखन भनिएको छ । तर मानव तस्कर हुन केही मात्रामा पीडितको पनि संलग्नता रहेको हुन्छ । ‘मानव बेचबिखन तथा ओसारपसारको सम्बन्धमा कुनै पनि व्यक्ति, चाहे महिला, पुरुष तथा बालबालिका कसैलाई बेच्न, दास बनाउन अथवा यौन शोषणमा पार्न लगिएको अवस्थामा मानव बेचबिखन हुन्छ,’ उनले भने, ‘यो कसैलाई विश्वासमा पारेर, कसैलाई भ्रममा पारेर, कसैलाई लोभमा पारेर पनि बेच्न लगिने अवस्था हुन्छ । कसैलाई चाहिँ जबर्जस्तीमा पारेर लगेको पनि देखिन्छ ।’

गोलेले मानव बेचबिखन र तस्करी जुनसुकै आवरणमा भए पनि रोक्न जरुरी रहेको बताए । विभिन्न कारणले हुने मानव बेचबिखन तथा ओसारपसार एक सामाजिक अपराध भएकाले यसलाई नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ द्वारा नियन्त्रणको प्रयास भएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले असोज १२ गतेसम्म भिजिट भिसा अन्य कारणले विदेश हिँडेका ६ हजार ४६६ जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काएको छ । सोधपुछ गर्दा मानव बेचबिखन तथा तस्करीमा पर्ने जोखिम देखिएपछि उनीहरूलाई विमानस्थलबाटै फर्काइएको ब्युरोले जनाएको छ ।

उक्त तथ्यांक ब्युरोले पीडितलाई फर्काइएको तथा उजुरी पर्न आएको मात्र हो । तर विभिन्न बहानामा एजेन्टहरूले घरेलु कामका लागि नेपाली महिलालाई धेरै देशमा पुर्‍याइरहेका छन् । यो प्रत्यक्ष देखिएको तथ्यांक हो । अप्रत्यक्ष तथ्यांक योभन्दा माथि हुन सक्छ । त्यसको केही लेखाजोखा छैन । आजको नागरिक दैनिकमा खबर छ ।