शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘माओवादी’-‘लोकतन्त्रवादी’ वर्ण सङ्कर गठबन्धनको बलमिचाइँ कहिलेसम्म ?

निर्मल भट्टराई २०७९ असोज ७ गते १२:४८

– निर्मल भट्टराई

आम निर्वाचन नजिंकिदै जाँदा आफू हार्ने भयले सत्ता गठबन्धन तिल्मिलाउन थालेको छ ।

विजातीय विचार बोकेका पार्टी मिलाएर बनाएको गठबन्धनसँग देश हाँक्ने कुनै योजना, भिजन र कार्यक्रम छैन, बरू लोकतान्त्रिक संस्थामाथि निरन्तर प्रहार गर्नमै सत्ता गठबन्धन व्यस्त बनेको छ । नागरिकता विधेयकको निहुँमा देशको सर्वोच्च सम्मानित संस्था राष्ट्रपतिमाथि चौतर्फी प्रहार गरेको छ भने महा अभियोग प्रमाणित हुन नसकेका प्रधानन्याधीशलाई सरकारी निवासमै नजरबन्दमा राखेको छ । यो सत्ता गठबन्धन र यसका सहयोगी संस्था र व्यक्तिले गठबन्धनको पक्षमा स्यालको हुँय्या सुरू गरेका छन् ।

निर्मल भट्टराई

नेपाली कांग्रेसले आफूलाई मात्र लोकतन्त्रको मसिहा ठान्नु र गठबन्धनका अरू दलहरू नेपाली कांग्रेसका भातृ सङ्गठनजस्तो हुनु आजको विडम्वना हो । अझैसम्म आफूलाई माओवादी बताउने र सामाजिक आर्थिक रूपान्तरणलाई गाँजरको बाँसुरी बनाइरहेका प्रचण्ड नेपाली कांग्रेसभन्दा धेरै गुणा दक्षिणपन्थी भएर निस्कनु, बर्षौंसम्म एमालेको प्रमुख नेता भएर नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा गरेका माधव नेपाल आज आफ्नो गौरवशाली इतिहालाई तिलाञ्जली दिएर ‘समाजवादी’कमण्डलु बोकेर देउवासँग केही सीटको भिक्षा माग्दै हिड्नु, मधेश आन्दोलनका मसिहा उपेन्द्र यादव आफ्नो अस्तित्व बचाउन कांग्रेसकै काखमा लुटपुटिनु , महान क्रान्तिकारी विचारक मोहनविक्रम सिंह आफ्नी श्रीमतिको सांसद पद जोगाउन देउवाको दौराको फेर नछोड्नु आश्चर्यजनक मात्र होइन, खेदजनक पनि छ । देश र जनता भन्न नछोड्ने, सिध्दान्त र विचार भट्याउने तर व्यवहारमा परिवारभन्दा माथि उठ्न नसक्ने !

हुन पनि दिनदिनै देशभर बढिरहेको एमालेको लोकपृयता देखेर नेपाली कांग्रेस विक्षिप्त छ । आफ्ना सयौं प्रभावशाली नेता र हजारौं कार्यकर्ता एमालेमा समाहित भएको र अरू धेरै समाहित हुने लाइनमा देखेर प्रचण्डको नींद हराएको छ । आफूसँग केही स्याचुरेटेड नेता बाँकी भएको तर जमिन पुरै खाली गरेर सबै नेता आफ्नो मूल घर फर्किएको अवस्था देखेर माधव नेपालको आवाज मलिन भएको छ । कुनैबेला सिङ्गो मधेश आफ्नो पेवा ठान्ने उपेन्द्र यादव सबैजसो आफ्नो जमिन एमाले कित्तामा गएकोमा हैरान छन् । ‘सिध्दान्तवादी’ मोहनविक्रमको प्रभावक्षेत्र प्युठान र बाग्लुङ जनताको बहुदलीय जनवादी सिध्दान्तले कब्जा गरेकोमा आक्रान्त छन् । त्यही भएर पाँच दल एमालेविरोधी मोर्चामा सामेल छन् ।

हिजोका उग्र माओवादीहरू, जबजवादीहरू, ‘निख्खर मार्क्सवादी’हरू, मधेशवादीहरू नेपाली कांग्रेसको पूँजीवादी-लोकतन्त्रवादी बाँसुरी विना हिच्किटाहट बजाउन थालेका छन् । र भन्दैछन्-हाम्रो माउ पार्टी नेपाली कांग्रेस हो र उसले जे भन्यो, त्यही लोकतन्त्र हो । एमालेको पक्षमा रहेका बहुमत जनता सबै अलोकतान्त्रिक हुन्, प्रतिगमनकारी हुन् ! एमालेले गरेका युगीन महत्वका काम, प्रचलनमा ल्याएको नेपालको विस्तारित नक्सा केही होइन।

गठबन्धनको गाँठो जतिसुकै कसे पनि एमालेको लोकपृयताले त्यसलाई फिक्का पारिदिएको छ । राष्ट्राध्यक्षलाई देशको अहित गर्ने नागरिकता विधेयक प्रमाणीकरण गराउन बल मिच्याँईं गर्ने, प्रमाणीकरण नगरेपछि आफ्नो पक्षमा परमादेश जारी गराउन अदालत दौडने, न्यायालयलाई राजनीतीकरण र भ्रष्टीकरण गर्ने, सुरक्षा निकायमा वरियता मिचेर आफ्ना मानिसको पदोन्नति गर्ने, एमालेको गन्ध आउने व्यक्ति र संस्थालाई सबै मिलेर लखेट्ने सत्ता गठबन्धनको हर्कतले एमालेलाई झनझन लोकपृय बनाउँदै लगेको छ ।

जनताले एमाले सरकारको पालामा भएका लोकतन्त्र र सङ्घीयतालाई सबल बनाउने गतिविधिहरू, त्यसले ल्याएको विकासको लहर र स्वाधीन अर्थतन्त्र निर्माण गर्ने सतत् प्रयासलाई झल्झली सम्झिरहेका छन् । ओली सरकारले प्रचलनमा ल्याएको विस्तारित नक्सा हृदयमा सजाएका छन् ।

वर्तमान माओवादी-‘लोकतन्त्रवादी’ वर्ण सङ्कर गठबन्धनको चुनावमा जाने अजेण्डा केही छैन । आफ्नो अजेण्डा केही नभएपछि ऊ एमालेविरोधी गाली पुराण बोकेर जनतामा जाने छ । मत खरिद,धाँधली, बुँथ कब्जा,बलमिचाईं र सरकारी स्रोत र साधनको दुरुपयोगजस्ता ‘लोकतन्त्रवादी’ तरिका अबलम्बन गरेर एमालेसँग प्रतिस्पर्धा गर्नेछ ।

गठबन्धन सरकारले जतिसुकै बल मिचाईं गरे पनि देशभक्त, प्रगतिशील र सच्चा लोकतन्त्रवादी जनताले दुई महिनाभन्दा बढी सहनु पर्ने छैन ।

प्रतिक्रिया
सम्बन्धित