शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सर्वदलीय बैठकः के भयो छलफल र निर्णय ?

दैनिक नेपाल २०७८ वैशाख ४ गते १५:२९

काठमाडौँ, ४ वैशाख । सरकारको आयोजनामा सर्वदलीय बैठकमा मुख्य तीन एजेण्डामा छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल भएको परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले जनाएका छन् ।

त्यस्तै, पछिल्लो राजनीतिक गतिविधिका बारेमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

सर्वदलीय बैठकमा सभामुखले एमसीसीलाई अड्काएर राखेको भन्दै प्रधानमन्त्रीले निकास दिन आग्रह गरेका थिए । काँग्रेस नेताहरुले पनि त्यसको निर्णयार्थ संसदमा पेश गर्नुपर्ने बताएको छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताए ।

एमसीसीलाई स्वीकृत अस्वीकृत जे गरेपनि अड्काएर राख्न नहुने मन्त्री ज्ञवालीले पनि बताए ।

त्यस्तै, बैठकमा कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए । ‘कोरोना महामारीबारे सबै दल एकमत रहनु भएको छ । यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस्, आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भएपनि कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भनेर उहाँहरुले भन्नु भएको छ’, ज्ञवालीले भने ।

यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ ।

बैठकमा सहभागी दलहरुले निर्वाचन आयोगले तोकेको समयमा निर्वाचनमा भाग लिन सकिने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको विषयमा स्पष्ट रहेको धारणा राखेका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्र, एमालेकै माधव(झलनाथ समूह तथा जसपाबाट केही अध्यक्षहरुको अनुपस्थिति रहेको थियो ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए भने आधिकारिक रुपमा नबोलाइएको भनिएपनि जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै नेमकिपा र जनमोर्चाको प्रतिनिधि पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित