शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

माधव नेपालसँगै यसरी डुब्दैछ पूर्वएमाले नामी युवा नेताको राजनीतिक भविष्य

दैनिक नेपाल २०७७ माघ १० गते १३:०९

काठमाडौं, १० माघ। पदीय लाभका निम्ति पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीतिर ढल्किएका नेता माधवकुमार नेपालसँगै युवा नेताहरूको राजनीतिक भविष्य अन्यौलग्रस्त बनेको छ।

नेकपाको आधिकारिकताको विवाद नसल्टिँदै र एकता प्रक्रिया पनि पूरा नभएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोध र कडा आलोचनामा नेता नेपालसँगै उत्रिएका युवा नेताको भविष्य डुब्ने खतरा देखिएको हो।

यसरी राजनीतिक जीवन नै अचानोमा राख्नेमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायत रहेका छन्। ‘एमालेका जुझारु नेताले दलबारेको न्यायीक निरुपण नभई यसरी मैदानमा प्रचण्ड पक्षमा उभिनुलाई गतिलो मान्न सकिँदैन, भोलीका अवस्थामा राजनीतिमा कसरी उदय होला?’, नेताहरू भन्छन्।

प्रतिनिधि सभा विघटनको मुद्दासँगै सर्वोच्च अदालतमा अहिले नेपाल कम्युनिस्ट पार्टीको आधिकारीकताको मुद्दाको फैसलाले नै कसको भविष्य कस्तो भन्ने निर्धारण हुने निश्चितप्रायः छ।

निर्वाचन आयोगसमेतलाई विपक्षी बनाई ऋषिराम कट्टेलले नेकपाको आधिकारिकता आफ्नो भएको भन्दै दर्ता गरेको मुद्दामा कट्टेलका पक्षमा फैसला भए ओलीसँग एमाले रहनेछ भने प्रचण्डसँग माओवादी केन्द्र हुने बताइन्छ। ‘के त्यसबेला माधव नेपालसहितका युवा नेताले हामी माओवादी हौं, महान् जनयुद्ध भन्न सक्लान्?’, एक नेताको प्रश्न छ।

अहिले पनि प्रचण्ड खेमाले पदाधिकारीमा पेल्न थालीसकेको छ। सोही कारण कसलाई महासचिव बनाउने भन्ने विषयको टुंगो लाग्न सकेको छैन।

‘झन् अर्को अवस्था आए राजनीतिक नैतिकताका विषयलाई युवा नेताले कसरी व्याख्या गर्लान्?’, ति नेताको प्रश्न छ,‘अहिले हतार गरेर प्रचण्ड क्याम्पमा दौडिहाल्ने अवस्था थिएन।’

नेकपा विभाजनको औपचारिक घोषणा बाँकी रहँदा नेता बामदेव गौतम तटस्थ बसेका छन्। उनले पार्टी एकीकरणको पक्षमा नै रहेको बताउँदै आएका थिए।

‘बामदेव पक्षकै भनेर चिनिने नेताहरू एकताको पक्षमा भन्दै तटस्थ बस्नुपर्ने थियो, यसले राजनीतिक जिम्मेवारीता र दबाब कायम गर्न सक्ने थियो’, उनी भन्छन्,‘प्रतिनिधि सभा विघटन गलत हो भने पनि प्रचण्डले गरेको राजनीतिक चलखेल पनि ठिक होइन भन्ने हुनुपर्ने थियो। मन्त्री पदबाटै राजीनामा गरे पनि यसले ओली र प्रचण्ड दुवैलाई दबाबमा राख्न ठूलो मद्दत गर्ने थियो।’

प्रतिक्रिया
सम्बन्धित