शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाल प्रहरीका ‘कर्ण–युधिष्ठिर’ !

प्रहरीका दुई एआईजीको सहकार्यले बन्द गरेका अस्वभाविक प्वालहरू

दैनिक नेपाल २०७७ असार १८ गते १०:४१

-विश्लेषण

महाभारत युद्ध सुरु हुनुअघि श्रीकृष्णले कर्णलाई पाण्डवसँग मिल्न प्रस्ताव गर्छन् र इन्द्रप्रस्थको राजाको प्राधिकार पाउने लोभ देखाउँछन् । कुन्तीले पनि सोही प्रस्ताव गर्छिन् । सूर्यपुत्र कर्णको निष्ठा डगमगाउँदैन, दानवीर कर्णले बरु उल्टो बचन दिन्छन्,‘जसरी पनि कुन्तीका ५ छोरा रहन्छन् । कि म मर्छु कि अर्जुन ।’

कर्णको अर्को पनि बचन हुन्छ,‘इन्द्रप्रस्थको राजा युधिष्ठिर भइसकेका कारण उनको सत्तामा जेठो दाई भएर बस्नु धर्मले दिँदैन ।’ धर्मयुद्ध भनिएको महाभारतमा कर्णको निधनपछि युधिष्ठिरले पत्ता पाउँछन्, उनी जेठा दाई हुन् । विलापमा उनले भन्छन्,‘राजमुकुटको हकदार त उनी नै थिए ।’

अक्सर योद्धा र धनुविद्याका कारण धर्मग्रन्थमा ‘कर्ण–अर्जुन’को नाम जोडिएर आउने भए पनि त्यागका लागि भने ‘कर्ण–युधिष्ठिर’को नाम अगाडि आउँछ, व्यवाहारत: ।

नेतृत्वको त्याग त्यति सहज हुँदैन । खासगरी नेतृत्वका लागि नै अहिले सत्तारुढ पार्टीमा देखिएको विवाद एकातिर बहसको केन्द्रमा छ ।

यहिबीचमा आउने बुधबार नेपाल प्रहरीको नेतृत्वमा पुग्ने दुई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)का धारणा र व्यवाहार भने ‘कर्ण–युधिष्ठिर’को कसीमा राखेर हेर्न सकिने विवरणले प्रष्ट पार्छ । उनीहरू दुवैले बुधबार मात्रै ‘जो भए पनि फरक पर्दैन, विगतमा देखिएका प्रहरी नेतृत्वको विवादको जस्तो कसी हामी बन्दैनौं’ भनेको विवरण आएको थियो ।

नेपाल प्रहरीको यो पुस्तालाई नै छिचोलेर नेतृत्व लिनेगरीका अस्वभाविक प्वालबाट छिर्ने रणनीति र राजनीतिक दबाबका खेल भएको चर्चा थियो । तर यी दुई एआईजी र यीनका ब्याचमेट डिआईजीहरूको भद्र सहमतिका कारण ति प्रयत्नहरूमा धावा बोलिसकेको सुरक्षा मामिला जानकार र विश्लेषकहरूको स्वभाविक अनुमान छ । अझ, प्रहरी महानिरिक्षक (आईजी)का दाबेदार एआईजीहरू शैलेश थापा क्षत्री र हरि पालको भनाईले यसलाई पुष्टिको विन्दुमा राखेको छ ।

स्वभावैले पनि यी दुई जना एक युधिष्ठिर र अर्का कर्ण जस्ता छन् । यहि चर्चा पनि छ । क्षत्री शालिन, सैद्धान्तिक र विचारणीय पुस्ताका मानक हुन् भने पाल संगठनात्मक संरचनाको नेतृत्व र आक्रामक शैलीमा प्रस्तुत हुन सक्ने हिम्मतका साधक मान्छन्, प्रहरी कर्मचारी

आईजी ठाकुरप्रसाद ज्ञवालीको २४ असारमा कार्यकाल सकिँदैछ । कोरोनाको कहरबीच आफ्नो नेतृत्वको समय गुजारेर घर फर्किन लागेका उनीसँगैको बुधबारको कार्यक्रममा देखा परेका क्षत्री र पालको मित्रताको ‘मिसाल’ अलग रहेको बताइन्छ ।

विनोद ढकाल

‘आईजीका लागि हुने चरम स्पर्धाका लागि यतिबेला दाबेदार विभिन्न राजनीतिक दलका नेताको दैलोमा पुगेका हुन्छन् । तर, यी ब्याचमेट एकै सवारीसाधनबाट साथसाथ कार्यक्रममा देखिन्छन्, साउती मारेको भेटिन्छन्’, जानकारहरू भन्छन्,‘त्यागका लागि एकअर्कामा समर्पणको भाव पनि देखिन्छ । यो त आजका दिनमा नेपाल प्रहरीका लागि निक्कै ठूलो उदाहरण हो ।’

पदको गरिमा त्यागमा हुन्छ भन्ने भनाईका पयार्य जस्ता देखिन थालेको धेरैले चर्चा गरेका छन् ।

प्रहरीमा एक आईजी र तीन एआईजी हुन्छन् । २४ असारपछि शैलेश थापा क्षत्री वा हरि पाल मध्ये एक जना जो आईजीमा नियुक्त अथवा पदोन्नती गरिए पनि कसैले बैमनश्यता नराख्ने विवरण सतहमा आएका छन् । त्यसो हुँदा खाली रहेको दुई एआईजी पदका लागि उनकै ब्याच मेटहरू डिआईजी प्रद्युम्न कार्की र निरज शाही अनिवार्य बढुवा हुनेछन्, बेतुकका राजनीतिक रङलाई घोल्ने प्रयत्न भएन भने ।

यस्तो अवस्थामा नेपाल प्रहरीमा रहेको अस्वस्थ्य र अस्वभाविक प्रतिस्पर्धाका प्वालहरू कम्तिमा आगामी दुई बर्षका लागि बन्द हुने पक्कापक्की छ ।

‘यसो भयो भने आउने पुस्ताले पनि नेपाल प्रहरीको नेतृत्वका लागि गलत मनसाय र अति महत्वकांक्षा नराख्दा राम्रो हुन्छ भन्ने नजिर पनि स्थापित हुनेछ’, एक पूर्व प्रहरी अधिकारी भन्छन्,‘प्रहरीको नेतृत्व लिने क्रममा देखिएका अनेकथरी बिडम्बनाको चर्चा एक तहमा सेलाउँछ, यो उदाहरणीय काम हुनेछ ।’

स्वभावैले पनि यी दुई जना एक युधिष्ठिर र अर्का कर्ण जस्ता छन् । यहि चर्चा पनि छ । क्षत्री शालिन, सैद्धान्तिक र विचारणीय पुस्ताका मानक हुन् भने पाल संगठनात्मक संरचनाको नेतृत्व र आक्रामक शैलीमा प्रस्तुत हुन सक्ने हिम्मतका साधक मान्छन्, प्रहरी कर्मचारी ।

नेपाल प्रहरीको नेतृत्वका सन्दर्भमा हिजो देखिएको असन्तुष्टि, अदालती प्रक्रिया र राजनीतिक हस्तक्षेपका कुनै विन्दुमा पनि उभिन नहुने लयमा दुई एआईजी लागेका छन् । कुनै दबाब र प्रभावले उनीहरूको यो गतिलाई नरोके, नेपाल प्रहरीको अबको आईजीको पदोन्नती या नियुक्ति उदाहरणीय हुनसक्ने अड्कल काट्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित