शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पैसा र शरीरबाहिर कोरोनाभाइरस कति समय जीवित रहन्छ ?

दैनिक नेपाल २०७७ असोज १५ गते ९:३२

काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गर्दा केही व्यक्तिहरूले आफ्नो सुरक्षाका लागि विभिन्न उपाय अवलम्बन गरेको भए पनि पैसाबाट भाइरस सरेको दाबी गरेका छन्। के तपाईँ हामीले चलाउने नोट र सिक्काबाट पनि कोरोनाभाइरस सर्छ त?

विज्ञहरूले दैनिक प्रयोगमा आउने वस्तुको माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने भन्दै जनस्वास्थ्यसम्बन्धी पर्याप्त सावधानी अपनाउन सुझाव दिँदै आएका छन्।

श्वासप्रश्वाससम्बन्धी अन्य रोगमा जस्तै कोभिड-१९ मा पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्किने साना बिन्दुबाट सर्न सक्ने उनीहरूको भनाइ छ।

ती बिन्दुहरू अन्य मानिस अथवा लुगा वा वरपरका सतहमा अड्किन र केही साना कण हावामै तैरिन पनि सक्छन्।

त्यसबाहेक सङ्क्रमित व्यक्तिले प्रयोग गरेका कतिपय सामान निश्चित समयभित्र चलाउँदा पनि सङ्क्रमण सर्न सक्ने चिकित्सकहरूको भनाइ छ।

तीमध्ये हाम्रो दैनिक प्रयोगमा आउने कागजको नोट अथवा सिक्का अपवाद हुन नसक्ने उनीहरूको ठम्याइ छ।

हुन त कागजको नोट अथवा सिक्कामा कोरोनाभाइरस कति समयसम्म जीवित रहनसक्छ भन्नेबारे नेपालमा छुट्टै अध्ययन भएको छैन।

अन्तर्राष्ट्रिय स्तरमा गरिएका अध्ययनबाट कागजको नोट र सिक्का लगायतका वस्तुमा कोरोनाभाइरसको ‘जीवनकाल’ बारे धेरै कुरा स्पष्ट भइसकेको जनस्वास्थ्यविद्‌हरू बताउँछन्।

भाइरोलजिस्ट डा. लुना भट्ट शर्माका अनुसार कागजको नोटमा चार दिनसम्म र सिक्का अथवा धातुमा सात दिनसम्म कोरोनाभाइरस बाँच्न सक्ने देखिएको छ।

“कागजको नोटमा चार दिनसम्म, सिक्का अथवा धातुमा र सर्जिकल मास्कको बाहिरी सतहमा सात दिनसम्म कोरोनाभाइरस जीवित रहन सक्ने अध्ययनले देखाएका छन्।”

केही महिनाअघि प्रतिष्ठित जर्नल ल्यान्सिटमा पनि विभिन्न वस्तुमा कोरोनाभाइरस जीवित रहन सक्ने समयबारे अनुसन्धानको नतिजा प्रकाशित भएको थियो।

यद्यपि ती वस्तुमा कोरोनाभाइरसको जीवनकाल तापक्रम र आर्द्रताजस्ता विभिन्न कुरामा निर्भर हुने उल्लेख गरिएको छ।

नेपालमा नोट र सिक्काले भाइरस बोक्न सक्ने विषयमा अध्ययन नभए पनि ब्याक्टेरिया र ढुसी सार्न सक्ने विषयमा अध्ययन भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानकी वरिष्ठ वैज्ञानिक टिष्टा प्रसाईँले सन् २००८ मा पोलिमर नोट र सिक्कामा ब्याक्टेरिया हुने सक्ने वा नसक्नेबारे अध्ययन गरेकी थिइन्। बीबीसी नेपाली सेवा

प्रतिक्रिया
सम्बन्धित