काठमाडौँ, १९ साउन । दलितमैत्री संविधान जारी गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन गर्दा प्रहरीसँग भएको झडपमा एक दर्जन सभासद्को हातखुट्टा भाँचिएको छ ।
विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते भएका हुन् ।
दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । जसमा कांग्रेस, एमाले र माओवादीका एक दर्जन सभाषद् पनि घाइते भए । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते भएका हुन् ।

उनीहरु अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेका छन् । नेकपा एमालेका नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गरे ।

उनले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरुमाथि भएको प्रहरी दमनको निन्दा गरे । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरुले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताइन् । रासस












प्रतिक्रिया