काठमाडौं, १८ साउन । हिन्दूराष्ट्रका पक्षमा सडक आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा–नेपाल)ले साउन अन्तिम साता संविधानसभा घेराउको कार्यक्रम सार्वजनिक गरेको छ ।
हिन्दूराष्ट्र घोषणाको माग गर्दै आएको राप्रपा नेपालको सोमबार बेलुका काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले साउन २९ गते संविधानसभा घेराउ गर्ने निर्णय गरेको हो ।
राप्रपा नेपालका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संविधानमा हिन्दूराष्ट्र घोषणका लागि दवाव दिने उदेश्यका साथ साउन २९ गते संविधानसभा घेराउ गर्ने निर्णय गरिएको छ ।
उनले मुलुकलाई हिन्दूराष्ट्र बनाउनका लागि सशक्त आन्दोलन गरिने उल्लेख गरे ।
त्यसै गरी राप्रपा नेपालले साउन २९ गते राजधानी उपत्यका बाहिरको हकमा जनदवाव र जनप्रदन गर्ने निर्णय गरेको श्रेष्ठले बताए । ‘दलका नेताहरूले आफ्नो स्वार्थअनुसारको संविधान ल्याउँदैछन्’, श्रेष्ठले भने, ‘हिन्दूराष्ट्रका लागि दवाव दिने उदेश्यले साउन २९ गते संविधानसभा भवन घेराउ गर्ने र उपत्यका बाहिरका जिल्लाहरूमा जनप्रदर्शन र जनदवावका कार्यक्रम प्रदर्शन गर्ने निर्णय भएको छ ।’
राप्रपा नेपालले हिन्दूराज्य घोषणा गर्न दवाव दिनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले हिन्दूराज्य घोषणा नभए सशक्त आन्दोलन गर्ने यसअघि चेतावनी दिइसकेको छ ।
राप्रपा नेपालले साउन २९ गतेको आन्दोलनलाई सशक्त बनाउन आफ्न सबै जनवर्गीय संगठनहरूलाई परिचालन गर्ने निर्णय गरेको छ ।
उसले आफ्ना सबै संगठनहरूलाई कार्यसम्पादन समितिको निर्णयअनुसार परिचानल हुन निर्देशनसमेत दिएको नेता श्रेष्ठले बताए ।












प्रतिक्रिया