२८ कार्तिक २०८३, शनिबार

भरतपुर महानगर पूर्वजनप्रतिनिधि मञ्च गठन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १६ साउन । भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो ।

महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणि सुवेदी, कोषाध्यक्षमा विजय भुजेल, सहसचिवमा पवित्रा केसी र सदस्यमा नरिनारायण पौडेल, नरेन्द्रकुमार कन्दङ्वा, दामोदर न्यौपाने, कान्छा मल्ल, चक्र रुचाल र धनकुमारी विक रहेका छन् ।

विसं २०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले महानगरपालिकाको विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्यले मञ्च गठन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले अहिलेका जनप्रतिनिधिलाई आफ्नो कार्यकालको अनुभव बाँड्नका लागि पनि मञ्चले सहयोग पुर्याउने बताए ।

“मञ्च गठनपछि महानगरपालिकासँग छुटेको सम्बन्ध फेरि जोडिनेछ”, सचिव पदमपाणि सुवेदीले भने, “हाम्रो सक्रियता फेरि बढ्नेछ ।” उनले यो समितिलाई निरन्तरता दिइने भन्दै वर्तमान जनप्रतिनिधि पनि निवर्तमान भएपछि मञ्चमा आबद्ध भएर काम गर्ने बताए । भरतपुरका सबै वडाको समानुपातिक विकासका लागि महानगरपालिका र वर्तमान जनप्रतिनिधिसँग छलफलसमेत गरिने सुवेदीले बताए । पूर्वजनप्रतिनिधिको मञ्च सबै वैचारिक एकताको मञ्चसमेत भएको उनको भनाइ छ ।

महानगरपालिका भएपछिको पहिलो कार्यकाल सफल रहेको मञ्चका सहसंयोजक चन्द्रमित्र पण्डितले बताए । उनले आफूहरूको कार्यकालमा महानगरका एक सय ३४ कार्यविधि बनाएको जनाउँदै त्यही कार्यविधिअनुसार अहिले वडा सञ्चालन भइरहेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीको समेत उपस्थिति थियो ।