काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आगामी मंसिर ४ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय महाधिवेशनमा विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन् भने अन्य प्रतिनिधिहरू सक्रिय सदस्यहरूबाट छनोट गरिनेछन् । विभिन्न तहका अधिवेशनहरू सम्पन्न भइसकेपछि अब सक्रिय सदस्यहरूबाट प्रतिनिधि छनोटको प्रक्रियालाई अगाडि बढाइएको पार्टीले जनाएको छ ।
गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।
यस्तै, प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूबाट जम्मा ९ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ । जसमध्ये महिला ३ जना, उत्पीडित १ जना, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुनेगरी २ जना र र अन्य निर्धारित मापदण्डअनुसारका प्रतिनिधिहरू चयन हुनेछन् । साथै, सबै प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरूमा ४० वर्षमुनिका युवाहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने नियम बनाइएको छ ।
हिमाल, पहाड र तराईमा प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम निर्धारित संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूबाट मंसिर ४ देखि १० गतेभित्र प्रतिनिधि छनोट गरिनेछ ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते राजधानी काठमाडाैंमा हुँदैछ ।











प्रतिक्रिया