
काठमाडौं, १५ साउन । प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ ।
दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।
यसैगरी, आजको बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बपेत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ कोउपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने छन् ।
आजकै बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
तर आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन प्रकरणको विषयलाई लिएर संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभा दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । यसअघि १० साउनमा बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना सुन तस्करी सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरेका थिए ।
प्रमुख सचेतक गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सभामुखले रूलिङ गर्नुपर्ने र समिति गठनको सुनिश्चितता नभएसम्म संसद चल्न नसक्ने बताएका थिए । एमालेको अवरोधपछि सभामुख घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।











प्रतिक्रिया