९ कार्तिक २०८३, सोमबार

बालुवाटारको सरकारी जग्गा जस्तै काण्ड गर्ने वडाध्यक्ष खरेल फरार, दश जना पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, १० वैशाख । झापा जिल्लाको बिर्तामोडका स्व.टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी बस्नेतकै नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

गौराहद– ७ का वडाध्यक्ष बलराम खरेल पनि संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गर्न पुर्जी जारी गरेपछि वडाध्यक्ष खरेल फरार भएका छन् । वडाध्यक्ष खरेल कीर्ते काण्डबाट बच्न पावर लगाउन सक्रिय हरेको आरोप लागेको छ ।

वडाध्यक्ष खरेलले मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घरबाटो सिफारिस, तिरो तिरेको रसिद बनाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

वडाध्यक्ष खरेलले कीर्ते कागजात तयार गर्न सहयोग गरेको, अधिकृत वारेशनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरूसंगै काठमाडौं जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहरूलाई भाग्न÷भगाउने कार्यमा संलग्न भएको दाबी प्रहरीको छ ।

खरेलसहितका ६ जना फरार भएपनि १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगलसिंह राजवंशी, भद्रपुर नगरपालिका–७ ठेगाना भएका ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका–५ ठेगाना भएका ५० वर्षीय लीलाधर राजवंशी, गौरीगंज गाउँपालिका–१ बस्ने भोजपुर तिवारीभञ्ज्याङ्ग–२ घर भएका ३७ वर्षीय बलराम विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका–८ ठेगाना भएका ४२ वर्षीय भुपदेव कटुवाललाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ ठेगाना भएका ५३ वर्षीय लेखनाथ खनाल, विर्तामोड नगरपालिका–४ ठेगाना भएका ३४ वर्षीय गोविन्द वान्तवा, कोटीहोम सुरुङ्गा बस्ने बिर्तामोड नगरपालिका–१० ठेगाना भएका ७१ वर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड नगरपालिका–४ ठेगाना भएकी ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी नगरपालिका–४ ठेगाना भएका ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

‘बिर्तामोड नगरपालिका–१ स्थित स्व। टुंगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३।७५ धुर क्षेत्रफल रहेको जग्गालाई ठगी गर्ने उदेश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी मृत्यु भइसकेका टुंगबहादुर बस्नेतको नक्कली नागरिकता बनाई २०७७ असोज २८ गते जिल्ला अदालत काठमाडौंबाट झापा बिर्तामोड नगरपालिका–२ बस्ने चैतुवारी बाह्रदशी गाउँपालिका–३ घर भएका मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएका थिए’, प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

वारेशनामामार्फत बिर्तामोड नगरपालिका–४ बस्ने रञ्जु राईको नाममा २०७७ माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परे थियो ।

जाहेरीपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोही घटनामा संलग्न हाल फरार अन्य ६ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

उनीहरू उपर ठगी, सरकारी छाप दस्तखत कीर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।