९ कार्तिक २०८३, सोमबार

‘कबड्डी ५’ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–निरोज थकाली

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको भूगोल, प्रकृति, संस्कृति र जीवनशैलीले यसलाई नेपालकै विशिष्ट जिल्लामध्ये एक बनाएको छ । यहाँको हिमाली सौन्दर्य, रैथाने उत्पादन, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जनजीवनले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । पछिल्लो समय नेपाली चलचित्रका माध्यमबाट पनि मुस्ताङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा पाउँदै आएको छ ।

मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका ऐतिहासिक थाक सात सय क्षेत्रका रूपमा परिचित छ । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली वनजङ्गल र थकाली समुदायको मौलिक संस्कृति यसको प्रमुख विशेषता हुन् । कुनै समय नेपाल र तिब्बतबीचको व्यापारबाट समृद्ध बनेको थकाली समुदायले आफ्नो परम्परा, संस्कृति र सामाजिक मूल्यमान्यतालाई पुस्तान्तरण गर्दै आएको छ ।

थकाली सेवा समिति केन्द्रका अध्यक्ष शान्ति तुलाचनका अनुसार केन्द्रदेखि क्षेत्र, गाउँ र व्यक्तिसम्मका सांस्कृतिक मूल्य, मान्यता तथा परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास भइरहेको छ ।

यही सामाजिक र सांस्कृतिक परिवेशलाई कथाको आधार बनाउँदै निर्देशक रामबाबु गुरुङले निर्माण गरेको ‘कबड्डी’ चलचित्र शृङ्खलाले नेपाली दर्शकमाझ लोकप्रियता हासिल गरेको छ । थकाली समुदायको सामाजिक परिवेश र स्थानीय संस्कृतिलाई पर्दामा प्रस्तुत गर्दै चलचित्र पाँचौँ शृङ्खलासम्म आइपुग्नु नेपाली चलचित्र क्षेत्रका लागि पनि महत्त्वपूर्ण उपलब्धि हो ।

नेपाली चलचित्रले बजेट, प्रविधि र भव्यताका हिसाबले बलिउड तथा हलिउडसँग प्रतिस्पर्धा गर्न चुनौती सामना गरिरहेको अवस्थामा आफ्नै भूगोल, संस्कृति र समाजभित्रका कथालाई पर्दामा उतारेर दर्शकको मन जित्न सकिने सम्भावना ‘कबड्डी’ले देखाएको छ ।

तर, ‘कबड्डी ५’सम्म आइपुग्दा मुस्ताङका जनताले के पाए भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।

चलचित्रले मुस्ताङको प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली र सांस्कृतिक पहिचानलाई व्यापक दर्शकमाझ पुर्‍याउन सहयोग गरेको छ । यसले मुस्ताङप्रति दर्शकको चासो बढाउनुका साथै पर्यटन प्रवद्र्धनको सम्भावना समेत विस्तार गर्न सक्छ । चलचित्र हेरेपछि त्यसमा देखिएका स्थान अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेमा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन र अन्य व्यवसायले लाभ लिन सक्नेछन् ।

त्यसैगरी, स्थानीय कलाकार तथा कामदारलाई छायाङ्कनमा अवसर दिने, स्थानीय उत्पादनको प्रयोग बढाउने र मौलिक संस्कृतिको सम्मानजनक प्रस्तुति गर्ने हो भने चलचित्रले स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्छ ।

यद्यपि, प्रचारप्रसार हुनु र त्यसको प्रत्यक्ष लाभ स्थानीय जनताले पाउनु फरक विषय हुन् । चलचित्रले मुस्ताङको नाम देशविदेशमा चिनाए पनि त्यसबाट सिर्जना हुने रोजगारी, व्यावसायिक अवसर र आर्थिक लाभ स्थानीय समुदायसम्म कति पुगे भन्ने विषयमा मूल्याङ्कन आवश्यक छ ।

स्थानीय जनताको सहभागिताबिना पर्यटन प्रवद्र्धनको लाभ सीमित व्यवसाय वा बाह्य पक्षमा केन्द्रित हुने सम्भावना रहन्छ । त्यसैले चलचित्रसँग जोडिएका पर्यटन गतिविधिमा स्थानीयलाई प्राथमिकता दिने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र संस्कृति संरक्षणमा समुदायको भूमिका सुनिश्चित गर्ने विषयमा ध्यान दिन आवश्यक देखिन्छ ।

मुस्ताङको पहिचान केवल हिमाल, प्राकृतिक दृश्य र चलचित्रमा देखिने आकर्षक स्थानमा मात्र सीमित छैन । यहाँको भाषा, संस्कृति, परम्परा, रैथाने उत्पादन र स्थानीय जनताको जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण सम्पदा हुन् । यी पक्षको संरक्षण र प्रवद्र्धनसँगै आर्थिक अवसर सिर्जना गर्न सकिएमा चलचित्रले जिल्लाको दीर्घकालीन विकासमा योगदान पुर्‍याउन सक्छ ।

‘कबड्डी ५’ मुस्ताङका लागि एउटा चलचित्र मात्र नभई आफ्नै भूगोल र संस्कृतिप्रति गर्व गर्ने अवसर पनि हो । तर चलचित्रको सफलता स्थानीय जनताको जीवनमा कति सकारात्मक परिवर्तन ल्याउन सक्यो भन्ने आधारमा पनि हेरिनुपर्छ ।

मुस्ताङको नाम पर्दामा चम्किनु उपलब्धि हो, तर त्यसको उज्यालो स्थानीय जनताको जीवनसम्म पुग्नु अझ महत्त्वपूर्ण उपलब्धि हो ।