
काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेको बहुमत सचिवालय सदस्यले पार्टी बैठकको माग गर्दै लिखित पत्र बुझाएका छन् ।
कार्यकारी अध्यक्षसहित अन्य चार जना सचिवालय सदस्यहरुले शनिबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई भेटी उक्त पत्र बुझाएका हुन् । तर, ओलीले त्यसबारे कुनै प्रतिक्रिया व्यक्त नगरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
‘हामीले बैठकका लागि सहमति दिन लिखित आग्रह गर्यौं, तर उहाँले आज कुनै निष्कर्ष दिनु भएन’, श्रेष्ठले पत्रकारहरुसँग भने । ओलीलाई भेट्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव कुमार नेपाल तथा नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बालुवाटार पुगेका थिए ।
उनीहरुले ओलीलाई बुझाएको अनुरोधपत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल हुनुपर्छ भन्ने उल्लेख छ ।
प्रधानमन्त्रीले छलफलपछि आवश्यक निर्णय गर्ने अपेक्षासहित उनीहरु बालुवाटारबाट आज खाली हात फर्केका छन् ।
पार्टी र सरकार सञ्चालनलाई लिएर केही महिनायता पार्टीका दुई अध्यक्षबीच विवाद हुँदै आएको छ । पार्टीमा जारी अन्तरविरोधका बारेमा यसअघि पार्टीका दुबै अध्यक्षबीच बिहीबार छलफल भएको थियो ।
तर, सो छलफलमा अध्यक्ष ओलीले पार्टी फुटाउन प्रचण्डलाई प्रस्ताव गरेको समाचार बाहिरिएको थियो । यसले पार्टीभित्र थप शंसय पैदा गरिदिएको छ ।
यो पनि पढ्नुहोस्–

- ४ जना सचिवालय सदस्यसहित प्रचण्ड पुगे बालुवाटार
- दाहालले शनिबार बिहानै गरे गुटगत बैठक र भेला
- नेपाल, खनाल र गौतमको भूमिकालाई लिएर कार्यकर्ताहरू चिन्तित
- प्रचण्डले औपचारिक बैठक राखे पार्टीमा फुटको घोषणा हुने केपी ओलीको चेतावनी !
- पार्टी बैठक तत्काल बोलाइनुपर्ने धुम्बाराही छलफलको निष्कर्ष
- प्रचण्डले बोलाए सचिवालय बैठक
- प्रचण्डले किन गुटकाे भेला गरिरहेका छन् ?















प्रतिक्रिया