
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुमतिबेगर सचिवालयको औपचारिक बैठक राखे पार्टीमा फुटको घोषणा हुने चेतावनी आफूलाई दिएको प्रचण्डले दाबी गरेका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको उनीपक्षधर सचिवालय सदस्यहरुको छलफलमा ब्रिफिङ गर्दै उनले यस्तो दाबी गरेका हुन् । ओलीसँग असन्तुष्ट रहँदै आएका नेकपाका कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्यले शुक्रबार धम्बाराहीमा समूहगत छलफल गरेका छन् ।
सोही छलफलमा ओली र आफूबीच भएको कुराकानीबारे ब्रिफिङ गर्दै प्रचण्डले सो दाबी गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको बिन्दु हुने छ भनेर प्रधानमन्त्री ओलीले मलाई भन्नुभएको छ’, दाहालको भनाई उद्धृत गर्दै प्रवक्त श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा छलफल हुँदा सचिवालय बैठक बोलाउन प्रस्ताव गरिए पनि ओलीले नमानेको र आज प्रचण्डले कार्यकारीको भूमिकामा बैठक बोलाएका थिए ।
तर, सो बैठकमा केपी ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल अनुपस्थित भए । उनीहरु अनुपस्थित भएकै कारण सो बैठक समूहगत छलफलमा सीमित भएको थियो ।
सो छलफलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया