
काठमाडौं, ३ साउन । बनारसमा नेपाली युवामाथि दुर्व्यवहार गर्ने एक जनालाई वाराणसी प्रहरीले पक्राउ गरेको छ ।
त्यहाँस्थित प्रहरीले दुव्र्यवहार र दुर्व्यवहारको भिडियो निर्माण गर्ने प्रमुख व्यक्ति रहेको भन्दै स्थानीय सन्तोष पाण्डेलाई शुक्रबार पक्राउ गरेको बताएको छ । भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि चाँडै पक्रिने बताएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर त्यहाँ नेपालीमाथि दुर्व्यवहार भएको थियो ।
त्यहाँस्थित विश्व हिन्दु सेनाका मानिसहरूले बनारसको ललिताघाटस्थित नेपाली मन्दिरमा प्रधानमन्त्री ओलीको विरोधमा पोस्टर समेत टाँसेको थियो । प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीमाथि जे पनि हुन सक्ने चेतावनी उक्त संगठनले दिएको थियो ।
चेतावनीलगत्तै नेपाली युवामाथि त्यहाँका केही व्यक्ति मिलेर दुर्व्यवहार भएको थियो । उनीहरूले नेपाली युवकको शीर मुण्डन गरेर जय श्रीराम लेख्नुका साथै जबरजस्ती आफ्नो संगठन र भारतको समर्थन गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्न लगाएका थिए ।
घटनालगत्तै भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेर दोषीलाई कारबाही गर्न अनुरोध गरेका थिए ।
गत सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई नेपालमा जन्मिएको बताएका थिए ।













प्रतिक्रिया