
काठमाडौं, २ साउन । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपालका प्रधानमन्त्रीको बिरोध र बनारसस्थित नेपालीमाथि भएको दुव्र्यवहारबारे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेको बताएका छन् ।
आचार्यले मुख्यमन्त्री योगीलाई घटनाबारे जानकारी गराएपछि उनले घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने बचन दिएको राजदूत आचार्यको भनाइ छ । घटनामा संलग्नहरूलाई कारबाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाइसकेको मुख्यमन्त्री योगीले राजदूतलाई बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम र रामको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको बिरोध गर्दै त्यहाँस्थित विश्व हिन्दु सेनाका मानिसहरूले बनारसको ललिताघाटस्थित नेपाली मन्दिरमा प्रधानमन्त्री ओलीको विरोधमा पोस्टर टाँसेको थियो । उक्त संगठनले प्रधानमन्त्रीले ओलीले दिएको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीमाथि जे पनि हुन सक्ने चेतावनी दिएको छ ।
उनीहरूले नेपालीमाथि दुव्र्यवहार समेत सुरू गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र समेत रहेको वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुव्र्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । उक्त भिडियो विभिन्न सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।
ती युवकको शीरमा उक्त संगठनका कार्यकर्ताहरूले ‘जय श्रीराम’ लेखेका छन् । उनीहरूले नेपाली युवकलाई जबरजस्ती आफ्नो संगठन र भारतको समर्थन गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्न लगाएका छन् ।
भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले नेपाली युवामाथि भएको घटनाका बारेमा पनि कुरा गरेको बताएका छन् ।
ललिताघाटस्थित उक्त ‘पशुपतिनाथ मन्दिर’ राजा रणबहादुर शाहले बनारस प्रवासमा रहँदा नेपाली कालीगढबाट निर्माण गरेका थिए ।
गत सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई नेपालमा जन्मिएको बताएका थिए । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति विभिन्न तहबाट नकारात्मक टिप्पणी हुन थालेपछि परराष्ट्र मन्त्रायलले मंगलबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भनाइ कसैको पनि भावनामा चोट पुर्याउनका लागि नभएको स्पष्ट पारिसकेको छ ।













प्रतिक्रिया