
काठमाडौँ, २१ कार्तिक । पुराना वामपन्थी नेता तथा शैक्षिक व्यक्तित्व सूर्यबहादुर मास्केको निधन भएको छ । मंगलबार राति १२ः२९ बजे चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको निधन भएको हो ।
८३ वर्षे मास्के लामो समयदेखि सुगर, प्रेसर, प्रोस्टेटलगायत रोगबाट पीडित थिए । मास्के नारायणगढस्थित चितवनकै ठूलो पुस्तक पसल मास्के पुस्तक भण्डारका सञ्चालक हुन् । उनी चितवनकै पहिलो पुस्तक पसल दिलमाया पुस्तक भण्डारका संस्थापक पनि हुन् ।
वि. सं. १९९२ सालमा भोजपुर जिल्लामा जन्मिएका मास्केले चितवनमा विभिन्न विद्यालय स्थापनामा योगदान गरेका छन् । बाबु दिलबहादुर त्यतिबेला भोजपुरमा डिठ्ठा थिए । सोही क्रममा सात दाजुभाइमध्ये काइला सन्तानको रुपमा उनको जन्म भएको हो ।
उनका दुई छोरा र एक छोरी छन् । कान्छो छोरा मनोज अमेरिकाबाट शुक्रबार फर्कने र दाहसंस्कार शनिबार मात्रै गरिने जानकारी जेठो छोरा सरोजले जानकारी दिए । स्वर्गीय मास्केका श्रीमती इन्दिरा कायस्थ, दुई छोरा र एक छोरी छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा उनको ठूलो योगदान छ । गोरखामा कम्युनिस्ट आन्दोलनको बीउ रोप्ने श्रेय उनलाई नै जान्छ । जागिरे जीवनकालमा शिक्षा सुपरभाइजर बनेका मास्केको चितवनमा अधिकांश प्राथमिक विद्यालय खोल्नमा ठूलो भूमिका छ ।












प्रतिक्रिया