काठमाडौं, २० पुस । सर्वोच्च अदालतको फैसलासँगै संविधान संशोधन विधेयक नरोकिने संकेत पाएपछि सत्तारूढ कांग्रेस र माओवादी केन्द्र प्रस्ताव पारित गर्न आवश्यक पर्ने दुई तिहाइ जुटाउन सक्रिय भएका छन् ।
सीमांकन हेरफेरसहितको संविधान संशोधन प्रस्ताव मंगलबारै संसदमा पेस गर्ने सत्ता घटकको तयारी भए पनि त्यसैलाई देखाउँदै संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले केही दिन समय मागेकाले सत्ता घटक अबको ६ दिनसम्म दुई तिहाइ मत सुरक्षित गर्ने रणनीतिमा लागेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘संशोधन प्रस्ताव पारित गराउन मधेसी मोर्चा र प्रतिपक्षी एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ’, सञ्चारमन्त्री तथा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीले भने, ‘सकेसम्म पारित नै गराउँछौं । सफल हुन नसके पनि अहिलेको गतिरोधले अब निकास पाउँछ ।’
माओवादी केन्द्र स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं र अरू उच्च नेताहरू अन्य दलसँग विधेयक पारित गराउन संवादमा सहभागी हुनेछन् ।
सर्वोच्चको फैसलासँगै संसद् अवरोध फुकाउने ठहरमा पुगेको एमालेले पुस २२ को जनप्रदर्शनसम्म सभामुख ओनसरी घर्तीसँग समय मागेको थियो ।
त्यसपछि पुस २४ गते बस्ने संसद् बैठकमा एमालेले प्रस्तावको विपक्षमा आफूलाई उभ्याउने रणनीति मंगलबारको स्थायी समिति बैठकबाट लिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भने संविधान संशोधन प्रस्ताव संसद्बाट पारित नै गराउने दाबी गरेका छन् । एक तिहाइभन्दा बढी सांसद प्रमुख प्रतिपक्ष एमालेको पक्षमा भइरहेका बेला देउवा भने संशोधन विधेयक पारित हुनेमा ढुक्क देखिएका छन् ।














प्रतिक्रिया