१३ कार्तिक २०८३, शुक्रबार

वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ ।

वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसो समेत बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

विभागले वर्षाका कारण जोखिमयुक्त स्थान र सडक आसपास पहिरो जान सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।