१३ कार्तिक २०८३, शुक्रबार

रसुवाको स्याफ्रुबेँसी–खाम्जिङ जोड्‌ने अस्थायी काठेपुल सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएको छ ।

स्थानीयबासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयबासीको संयुक्त अगुवाई तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो ।

काठेपुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाङटाङ आवतजावत गर्ने स्थानीयबासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो । पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै संकलन गरिएको थियो ।