काठमाडौं, १८ पुस । सरकारले सोमबार (आज) बस्ने व्यवस्थापिका–संसद् बैठकमा जसरी पनि संविधान संशोधन विधेयक टेबुल गर्ने रणनीति अघि बढाएको छ । सरकारको तयारीअनुसार नै संसद् सचिवालयले संविधान संशोधन विधेयक टेबुल गर्नेसहित ६ बुँदे कार्यसूची तयार पारेको छ ।
संसद् बैठक आज (सोमबार) दिउँसो १ बजे बोलाइएको छ । बैठकमा संविधान संशोधन विधेयकसँगै निर्वाचनसम्बन्धी दुईवटा विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । जसमा स्थानीय तह निर्वाचन र निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
यसअघि नै तय भएको सो कार्यसूची विपक्षी अवरोधका कारण टेबुल र छलफल हुन सकेको छैन । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति जुटाएपछि प्रतिपक्षी दलको अवरोधकै बीच बैठकमा विधेयक टेबुलको कार्यसूची तय गरएको छ । सरकारले मोर्चासँग सहमति गरेलगत्तै संसद् सचिवालयले सो कार्यसूची बनाएको हो ।
सरकारले संविधान संशोधन विधेयकलाई जबर्जस्ती टेबुल गर्ने योजना बनाएको भन्दै प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दल भने छलफलमा व्यस्त भएका छन् । प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी नौ दलले संसद् बैठकमा कसरी प्रस्तुत हुने भनेर आइतबार छलफल गरेका छन् । एमालेले सोमबार १२ बजे संसद्मा प्रस्तुत हुने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाएको छ । एमालेसहितका नौ विपक्षी दलसँग आइतबार भएको छलफलमा संविधान संशोधन विधेयकलाई असफल पार्ने सहमति बनेको छ । जबर्जस्ती टेबुल गर्न खोजे के गर्ने भन्नेमा सहकार्यमा रहेका अन्य दलसँग एमालेले सुझाव लिइरहेको छ । जबर्जस्ती टेबुलको प्रयास भए कडा प्रतिवाद गर्नेमा साना दल सहमत भएका छन् । तर, त्यसको विधि र प्रक्रिया भने टुंगो लागेको छैन ।
साना दलको सुझावलाई मध्यनजर गर्दैै संसदीय दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । संसदीय दलको बैठकले गरेको निर्णयपछि संसद्मा विपक्षीको भूमिका के हुने भन्ने ठोस निर्णय हुनेछ । एमालेले सबै सांसदलाई संसद्मा उपस्थित हुन यसअघि नै ह्वीप जारी गरिसकेको छ । संविधान संशोधन विधेयक गत १४ पुसमा संसद्मा दर्ता भएपछि त्यसपछिका संसद्का बैठक अवरुद्ध छन् । विधेयक पास या फेल जे भए पनि संसद्मा प्रवेश गरे मोर्चाले चुनावमा भाग लिने सरकारलाई आश्वासन दिएको छ । मोर्चासँगको सो सहमतिकै आधारमा सरकारले प्रमुख प्रतिपक्षलाई समेत पेलेरै विधेयक टेबुलको तयारी गरेको हो ।
यता, सभामुख ओनसरी घर्ती मगरले पनि सोमबारसम्म राजनीतिक दलबीच गतिरोध अन्त्य गर्ने विषयमा सहमति नभए संसद् खुलाउन आफ्नो तर्फबाट भूमिका खेल्ने बताएकी छन् । सोमबारको बैठकलाई पटकपटक राखेर भए पनि निकास खोज्ने प्रयासमा लाग्ने उनको तयारी छ । सभामुखले राजनीतिक दलहरूसँग दुईपटकसम्म छलफल गरेर सहमतिको प्रयास गरेकी छन् । तर, सहमतिमा ल्याउन सकेकी छैनन् । उनले सोमबारसम्म सहमतिमा दलहरू नपुगे आफूले अर्को भूमिकामा प्रस्तुत हुनेसम्मको चेतावनी दिएकी छन् । स्रोतका अनुसार अबको संसद् बैठक निर्धारित समयमा बस्ने र कार्यसूचीबमोजिमको प्रक्रिया अघि बढाइने तयारी छ ।
संसद् अवरुद्ध भए बैठक यसअघिझैं स्थगित हुनेछ । प्रमुख प्रतिपक्षी दललाई पेलेर संविधान संशोधन विधेयक टेबुल गर्नु अप्रजातान्त्रिक हुने भन्दै सभामुखले जबर्जस्ती संसद्को कारबाही अगाडि बढाउने सम्भावना भने नदेखिएको संसद् सचिवालय स्रोतको दाबी छ । यद्यपि, उनलाई जसरी पनि प्रक्रिया अघि बढाउन र विपक्षीलाई पेल्ने रणनीति अख्तियार गर्न सत्तारूढ दल कांग्रेस र माओवादीले ठूलै दबाब दिइरहेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले अब योजनाअनुसार नै जाने भन्दै सभामुखलाई जसरी पनि विधेयक टेबुल गराएर छलफलमा लैजान भनेका छन् । प्रधानमन्त्रीको दबाबअनुसार सभामुख चलेमा भने सोमबारकै बैठकमा पेलेरै विधेयक टेबुल हुने सम्भावना रहेको पनि स्रोतले बतायो ।
सभामुखले सहमतिको प्रयासका लागि बैठक स्थगित गरेर छलफल गर्न भने सक्नेछिन् । सहमतिका लागि भूमिका खेल्ने र सहमति नभए बैठक स्थगित गर्नुबाहेक सभामुखसँग अर्को विकल्प नभएको स्रोतको भनाइ छ । संविधान संशोधन विधेयकलाई संसद्मा टेबुल गर्न राजनीतिक दलबीच नाटकीय सहमति नभए सोमबारको बैठक पनि प्रभावित हुने सम्भावना छ । तर, जसरी पनि टेबुल गर्ने सत्तारुढको जिद्दी र टेबुल हुनै नदिने प्रतिपक्षी अडान कायम रहेमा संसद्मा ठूलै टसल हुने सम्भावनासमेत रहेको स्रोतको भनाइ छ ।














प्रतिक्रिया