काठमाडौं, ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको अलग अलग भेटवार्तामा देउवा र दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाले राष्ट्रपतिसँगको भेटवार्तामा अहिलेकै राजनीतिक विषयमा परामर्श भएको जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पार्नुभएको जनाउनु भएको छ । अध्यक्ष दाहालले भेटपछि पत्रकारसँग कुरागर्दै राष्ट्रपति विद्यादेवी भण्डरीलाई विवादमा पर्ने कार्य नगर्न सुझाव दिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि टु्ङ्गो लाग्ने दिन आज उनीहरूबीच भेटघाट भएको हो ।
नेपालको संविधानको संक्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पदमुक्त हुने प्रावधान स्पष्ट भए पनि नयाँ सरकार गठनको व्यवस्थाका बारेमा भने प्रमुख दलबीच बहस जारी छ ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) ले गत असार २९ गते प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।












प्रतिक्रिया